निजीमा पढेकै कारण छात्रवृत्तिमा विभेद गर्न पाइन्छ ? : इसान

भक्तपुर, २७ साउन । संस्थागत विद्यालय संघ नेपाल (इसान) ले संस्थागत विद्यालयलाई पनि आवश्यक सहुलियत दिन माग गरेको छ ।

इसानको शनिबार सम्पन्न सातौं अधिवेशनले संस्थागत विद्यालय क्षेत्र पनि सेवा उद्योग भएकोले अरु सेवा उद्योगलाई झै संस्थागत विद्यालयलाई पनि आवश्यक सहुलियत दिनुपर्ने माग गरेको जनाएको छ ।

इसानले देशको शैक्षिक क्षेत्रमा निजी विद्यालयले पुर्याउँदै आइरहेको योगदानको कदर गर्न पनि माग गरेको छ ।

संविधानतः हरेक बालबालिका समान भएकोले राज्यले भेदभाव गर्न नहुने, संस्थागत विद्यालयमा अध्ययन गरेकै कारण राज्यबाट दिइने छात्रवृत्ति या सुविधाबाट वञ्चित गर्न नहुने, शिक्षा र स्वास्थ्य राज्यको दायित्व भएकोले सोही भावनाबमोजिम निःशुल्क तथा अनिवार्य शिक्षा र निःशुल्क स्वास्थ्यको बन्दोबस्त गर्नुपर्ने माग गरेको सम्मेलनबाट चुनिएका अध्यक्ष प्रेमजन थापाश्रेष्ठले बताए ।

उनले भने, ‘सम्मेलनबाट हामीले विभिन्न शैक्षिक मुद्धा उठाएका छौं, शिक्षाको क्षेत्रमा राज्यले गरिरहेको विभेद अन्त्य गर्नुपर्ने प्रस्ताव पारित गरेका छौं ।’ यसका साथै विद्यालयहरुको छाता संगठन भएकाले विद्यालय, विद्यार्थी, अभिभावकको हितका लागि संस्थागत रुपमै क्षमता अभिवृद्धिको काम पनि गर्ने योजनाहरु पारित भएको उनको भनाइ छ ।

संस्थागत विद्यालयका शिक्षक–कर्मचारीलाई पनि आवश्यक तालिम, पुनर्ताजगी कार्यक्रम सञ्चालन गरी शिक्षा क्षेत्रको समग्र विकासको ढोका खोल्न पनि इसानले माग गरेको छ ।

इसानले दिन प्रतिदिन बढ्दै गइरहेको महँगीको कारण शिक्षक, अभिभावक र विद्यार्थीको जीवन कष्टपूर्ण बन्दै गइरहेकोले महँगी तथा कालाबजारी नियन्त्रणमा आवश्यक तदारुकता देखाउन सरकारसमक्ष माग गरेको छ ।

शनिबार सम्पन्न इसानको सातौं राष्ट्रिय सम्मेलनले इसानका पूर्वअध्यक्ष प्रेमजन थापाकै अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा सनकमान महर्जन, महासचिवमा पुरुषोत्तम ग्वाछा, सचिवमा कृष्णराम त्वानाबासु र को७श उकेश कवां रहेका छन् ।

नयाँ कार्यसमितिका सदस्यहरुमा सुरेन्द्राज गोसाइँ, खगेन्द्र शाही, राजेन्द्य्र सुजखु, कृष्णराम दुवाल, कर्णबहादुर प्रजापति, बलराम प्रजापत, लक्ष्मीप्रसाद प्रजापति, सुन्दर सुवाल, गीता श्रेष्ठ, रामचन्द्र जाकिबञ्जार, प्रेमप्रसाद कर्माचार्य, रमेश सुवाल, लोकेन्द्र अर्याल र शैलेश डंगोल रहेका छन् ।

:2189 Views

Leave a Reply