प्याब्सकः पुराना सिद्धान्तको भरमा विद्यालय चल्दैन

भक्तपुर, २२ भदौ । नुवागी मिडियाले आयोजना गरेको ‘रिफ्रेसमेन्ट तथा मोटिभेसनल’ कार्यक्रममा निजी तथा आवासीय विद्यालय संगठन, काठमाडौं (प्याब्सक) का अध्यक्ष बालकुमार गुरुङले गुणस्तरीय शिक्षणका लागि हरेक दिन नयाँ नयाँ शिक्षणका पद्धति विकास गरी तिनको प्रयोग नगरी नहुने बताए ।

अभिभावक, विद्यार्थी र समयको बढ्दो मागको सम्बोधन पुराना र स्थापित सिद्धान्तहरूले मात्र नहुने भन्दै विशेषगरी निजी शिक्षालयहरूले यस कुरालाई विशेष महत्त्व दिने गरेको पाइएको उनले बताए । त्यस्तो अवस्थामा विद्यालय संचालकहरूका लागि उत्प्रेरणा जगाउने कार्यक्रम अति आवश्यक रहने भन्दै नुवागीले आयोजना गरेको कार्यक्रमको लागि उनले आभार व्यक्त गरे ।

भक्तपुरको चुनदेवीस्थित भक्तपुर गेष्ट हाउसमा आयोजना गरिएको उक्त कार्यक्रममा इन्स्पायर एजुकेशनका प्रशिक्षक इन्द्रकुमार प्रसाईँले प्रगतिशील विद्यालयका विविध पक्षहरूबारे चर्चा गरेका थिए । प्रत्येक प्रिन्सिपलले बालबालिकाको भविष्य निर्माण सँगसँगै अभिभावकलाई सही अभिभावकीय शिक्षा दिने ‘जिम्मेवार व्यक्ति हौँ’ भनी आफैप्रति गर्ब गर्न उनले उत्प्रेरित गरे ।

पुस्तक पढाउने मात्र नभइ सिंगो जीवन पढाउने विद्यालयको आवश्यकता भएको सन्दर्भ झिक्दै उत्प्रेरक प्रसाईँले प्रिन्सिपलको जिम्मेवारी सहज र सिर्जनात्मक ढंगले निर्वाह गर्न आवश्यक बुँदाहरूसमेत प्रस्तुत गरे ।

प्याब्सक सदस्य विद्यालयका २५ जना प्रिन्सिपलहरूको सहभागीता रहेको सो कार्यक्रममा विविध शैक्षिक कृयाकलाप र विषयहरूको सकारात्मक र सन्तुलित समाचार सम्प्रेषनमा नुवागीको महत्त्वपूर्ण भूमिकाबारे चर्चा गर्दै शिक्षा क्षेत्रको विकासका लागि थप छलफलका कार्यक्रमहरू आवश्यक रहेकोमा सबैको समर्थन रह्यो ।

७ वर्षदेखि निरन्तर प्रकाशनमा रहेको नुवागी मासिक पत्रिका र विगत २ वर्षदेखि संचालनमा आएको अनलाइन ‘नुवागी डटकम’ले विशेषत देशको शिक्षा क्षेत्रका अव्यवस्थाहरूको उजागर गर्दैे सकारात्मक गतिविधिहरूलाई विशेष प्राथमिकताकासाथ प्रचार प्रसार गर्ने आयोजक नुवागीका सम्पादक मैयाँ त्वानाबासु ‘मतिना’ले बताइन् ।

:878 Views

Leave a Reply