बढ्दै चश्मा लगाउने विद्यार्थी, शिक्षकलाई आँखा परीक्षण सीप

भक्तपुर । कक्षाकोठाको अन्तिम बेञ्चमा बस्ने विद्यार्थीले ह्वाइट बोर्डको अक्षर देख्छ कि देख्दैन ? कि अक्षर धमिलो देख्छ ? यो विषयमा शिक्षकलाई थाहा हुनुपर्छ वा पर्दैन ?

त्यो कुरा शिक्षकलाई थाहा नहुँदा विद्यार्थीले नबुझ्ने मात्र नभएर गृहकार्य नगर्ने, अभिभावकलाई पिर्ने, विद्यालय नआउने गर्छन् । हेर्दा, सुन्दा सामान्य लागे पनि यो विषय निक्कै महत्वपूर्ण भएको भक्तपुरको च्याम्हासिँहस्थित सामुदायिक आँखा केन्द्रका प्रमुख धीरजकुमार अधिकारी बताउँछन् ।

विद्यार्थीको आँखाको अवस्था, दृष्टिको स्थितिबारेमा शिक्षकले थाहा पाउनुपर्ने उनको धारणा छ । यही अवस्था र स्थितिबारेमा शिक्षकलाई बताएर आँखाको अवस्थाबारेमा जानकार बनाउनदेखि लिएर आँखाको स्याहारका सामान्य उपचार समेत गर्न सक्ने बताउन सो केन्द्रले शिक्षकलाई तालिम दिएको छ ।

जिल्लाका सरकारी र निजी विद्यालय गरी ३० विद्यालयका ३० शिक्षकहरुलाई विद्यार्थीको आँखाको अवस्थाबारेमा बुझ्न सक्षम बनाउने हेतुले केन्द्रले तीनदिने आधारभूत आँखा स्याहार तथा उपचार तालिम दिइएको उनको भनाइ छ ।

‘यो तालिम पाएपछि शिक्षकले कुन विद्यार्थीको आँखाको शक्ति कति छ भन्ने पत्ता लगाउन सक्छन्, विद्यार्थीको दृष्टि परीक्षण गरी आँखा कुन अवस्थामा छ भन्ने थाहा पाउन सक्छ ।’ अधिकारीले भने ।

तिलगंगा आँखा प्रतिष्ठान, सिइङ इज बिलिभिङ र भक्तपुर नगरपालिकाको विगत ४ वर्षदेखि सहयोगबाट सो केन्द्रले जिल्लाका ३५० शिक्षकलाई आँखाको अवस्थाबारेमा जान्ने बुझ्ने बनाउन तालिम दिइसकेको उनको भनाइ छ ।

उनले पछिल्लो समयका विद्यार्थीमा चश्मा लगाउने प्रवृत्ति बढिरेको बताउँदै आँखासम्बन्धी विभिन्न रोगहरु प्नि देखिएको बताए । बढ्दो सूचना प्रविधिको प्रयोगले विद्यार्थीहरुको आँखालाई पनि प्रभाव पुर्याएको उनी बताउँछन् । ‘ धेरै विद्यार्थीहरुमा चश्मा लगाउनु पर्ने अवस्था आएको छ, विद्यार्थीहरु बढी मोबाइल, टिभी, कम्युटर, ल्यापटप, ट्याबमा झुम्मिन थालेका छन्, यसले उनीहरुको आँखामा असर गरिरहेको छ ।’

यतिमात्र नभएर विद्यार्थीहरुले खुला वातावरण, घुम्न पाउने अवसर नपा समस्याशउँदा पनि त्यसको असर आँखामा पुगेको उनको भनाइ छ । ‘अहिलेका अधिकांश विद्यार्थीले बाहिरी वातावरण कम मात्र देखेका छन्, स्कुल, गाडी, घर, कक्षामा ह्वाइटबोर्ड, कितावमा मात्र केन्द्ीत हुँदा पनि समस्या बढेको देखिन्छ ।’ उनले भने ।

सन् २०१२ बाट भक्तपुरमा केन्द्रले सेवा दिन थालेको थियो । त्यो बेलामा जम्माजम्मी ८ हजार ५ सय ३१ जनाले सो केन्द्रबाट सेवा लिएकोमा सन् २०१७ मा पुग्दा भने १८ हजार ८९ जनाले सेवा लिएको केन्द्रसँग तथ्यांक छ । आँखासम्बन्धी जनचेतना बढेको कारणले सेवा लिनेको संख्या नबढी विद्यार्थीको बानी व्यहोराले पनि त्यसमा प्रभाव परेको उनी बताउँछन् ।

शिक्षकहरुलाई दिइएको सो तालिमबाट विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने उनको धारणा छ । तालिममा भोजराज पौडेल, नीरज सुवाललगायतले सहजीकरण गरेका थिए ।

तालिमले आँखामा धूलो परेको खण्डमा कसरी निकाल्ने, आँखा माड्न नहुने र अल्छी आँखाको उपचार गर्ने तरिका सिकाइएको केन्द्रका आई हेल्थ वर्कर अञ्जु थापामगरले बताइन् ।

तालिम सोमबारबाट सुरु भएको थियो ।

:485 Views

Leave a Reply