राहत शिक्षकको एउटै माग :‘हामीलाई पनि स्थायी गर !’

काठमाडौं । देशभरका राहत शिक्षकहरुले स्थायीको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिको आह्वानमा भएको सो प्रदर्शनमा हजारौं शिक्षकहरुको सहभागिता रहेको थियो । विगत १५ वर्षदेखि राज्यको सेवामा समर्पित शिक्षकहरुको भविष्य बर्बाद हुने भयो भन्दै प्रदर्शनीमा उत्रिएका हुन् ।

माइतीघर मण्डलमा भेला भएका उनीहरुले नयाँ बानेश्वरसम्मको जुलुससहित प्रदर्शन गरेका थिए । उनीहरुले आफूहरुमाथि सरकारले अन्याय गरेको भन्दै आक्रोशसमेत पोखेका थिए ।

‘यत्तिका वर्ष हामीले पढाइसक्यौं, अब संघीय शिक्षा ऐनको नाममान हामीलाई राज्यले नै हटाउने भएका छन्, हाम्रो कुनै मूल्यांकन भएन, हाम्रो मिहिनेतको वास्ता भएन, यसले हाम्रो भविष्य बर्वाद हुन्छ, त्यसैले हामी त्यो विरुद्ध आन्दोलनमा उत्रिएका हौं ।’ शिक्षक बलिन्द्र कुवँरले भने ।

असारबाट आन्दोलनमा रहेका राहत शिक्षकहरु यतिबेला अन्तिम लडाई भन्दै राजधानी आएको उनको भनाइ छ । देशभर करिब ४० हजार राहत शिक्षक छन् । तीमध्ये १५ हजारभन्दा बढी राहत शिक्षकहरु काठमाडौं आएका हुन् ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले राहत शिक्षकले आफ्नो ऊर्जाशील समय बिताएकाले राहत शिक्षको उचित व्यवस्थापन हुनु पर्ने माग गर्दै शिक्षकहरुले उठाएका मागहरु पूरा नगरिए अझ कडा आन्दोलनमा उत्रिने चेतावनी पनि दिए ।

राहत शिक्षकहरुले पटक–पटक राज्यलाई शिक्षा क्षेत्रको अस्त व्यस्तता र राहत शिक्षकहरूको व्यवस्थापनका लागि अनुरोध र ध्यानाकर्षण गर्दा पनि राज्य बेखबर र गैर जिम्मेवार भएको निष्कर्ष निकाल्दै आफ्नो भविष्य सुनिश्चितताको लागि उनीहरुले आज माइतीघर मण्डलामा बृहत प्रदर्शन गरेको उनको भनाइ छ । शैक्षिक अस्तव्यस्तता अन्त्य गर्न ४० हजार राहत शिक्षकको नीतिगत स्थायी व्यवस्थापन गर्न उनीहरुको माग छ ।

समितिका महासचिव कर्णबहादुर मगरले स्थायी गर्नुपर्ने माग गरी कसरी स्थायी गर्ने भन्ने प्रक्रियाको विषयमा छलफल गरिने बताए ।

यस अघि उनीहरुले साउन १३ देखि भदौ १७ गतेसम्म पहिलो चरणको कार्यक्रम र भदौ ८ गदेखि दोस्रो चरणको कार्यक्रम थालेका थिए ।

उनीहरुले आफूहरुको मागप्रति राज्य गम्भीर नभएको आरोप पनि लगाए । उनले वार्ताका लागि शिक्षा मन्त्रालयले आफूहरुलाई सोमबार बिहान बोलाएको पनि बताए ।

:1759 Views

Leave a Reply