मेयर /उपमेयरलाई भव्य कोठा, नगर शिक्षा शाखालाई भने…

हरिसुन्दर छुकां/बनेपा । काम विशेषले बनेपा नगरपालिका पुगेका एक विद्यालयका प्रधानाध्यापक नगरपालिकाको शिक्षा शाखामा बस्न समेत पाएनन् ।

आफूजस्तै विद्यालयको समस्या लिएर आएका प्रधानाध्यापकहरुबीच उनले आफूले ल्याएको फाराममा भएको एउटा सानो कुरा मिलाउन टिपेष्ट लाउन उनलाई सकस भयो । कहाँ ओछ्याएर टिपेष्ट लाउने ?

अनि उनले प्रश्न गरे शाखा प्रमुख शिवराज त्रिपाठीलाई, ‘सर एउटा टिपेष्ट लाउन पनि नमिल्ने ठाउँमा के बस्नुहुन्छ ?, कहाँ राखेर लगाउने ?’
उनको प्रश्नको जवाफमा नगर शिक्षा शाखा प्रमुख त्रिपाठीले हाँसेर टारे ।

त्यसरी सेवाग्राहीलाई अफ्ठ्यारो गरी शिक्षा शाखा चलेको आजमात्र हैन, जनप्रतिनीधि आएदेखि नै त्यो सास्ती सेवाग्राही र सेवाप्रदायकले पाउँदै आएका छन् । त्यो बारेमा निर्वाचित मेयर, लक्ष्मीनरसिँह बादे, उपमेयर रेखा सापकोटा(दाहाल) लाई पनि थाहा नभएको हैन, तर पनि नगर शिक्षा शाखा भने विगत १६ महिनादेखि त्यसरी नै चलिरहेको छ ।

बनेपा नगरपालिका कार्यालयको सबैभन्दा माथिल्लो तल्लाको एक कोठाको मुखमा नगर शिक्षा शाखा छ भने त्यही कोठामा अर्को शाखा ।
नगर शिक्षा शाखाको नाममा एउटा टेबल, कम्प्युटर, प्रिन्टर, कुर्सी र दराजबाहेक अरु केही छैन । त्यत्ति सम्हालेर नगर शिक्षा प्रमुख त्रिपाठीले सिंगो बनेपाको शिक्षा हाँकिरहेका छन् ।

शाखा प्रमुख त्रिपाठीले अफ्ठ्यारोका बाबजुद पनि काम गरिरहेको बताए । ‘साविकको जिल्ला शिक्षाले गरेको काम गर्नुपर्छ, तर ठाउँ छैन,’ उनले भने, ‘कहिलेकाहिँ त निक्कै अफ्ठ्यारो हुन्छ ।’ त्यस्तो बेलामा हलमा गएर काम गर्ने गरेको उनको भनाइ छ ।

नगरपालिकाका उपमेयर सापकोटाले भने स्थान अभावको कारण नगर शिक्षा शाखालाई त्यो अवस्थाबाट चलाउनुपरेको बताइन्।

‘स्थान अभाव छ, सबै जिम्मेवारी नगरपालिकामा आएको छ, ठाउँ दिन मुश्किल छ, त्यही भएर हामी अहिले भवन बनाउने क्रममा छौं, भवन बनेपछि भने राम्रो ठाउँ पाउँछ ।’ उप्रमुख सापकोटाले भनिन् ।

:456 Views

Leave a Reply