एसइई नतिजामा त्रुटि गर्नेलाई कारबाही !

see-result-2074

भक्तपुर ११ असार । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा प्रकाशनमा गम्भीर त्रुटि देखिएको छ ।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले ‘डाटा अपलोड’ गर्ने बेलामा भएको त्रुटिका कारण समस्या आएको बताए । पनिकाको आफ्नै वेबसाइटमा समेत गलत नतिजा सार्वजनिक भएको थियो । नियन्त्रक रेग्मीले आइतबार बिहान गुनासो आएपछि अपलोड गर्दा भएको त्रुटिलाई इन्जिनियरले सच्याएको बताए । पछिल्लो नतिजा आधिकारिक भएको उनले बताए । यस वर्ष पनिकामा इन्जिनियर नयाँ भएका कारण पनि धेरै समस्या आएको स्रोतको भनाइ छ ।

यसैबीच राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले नतिजा प्रकाशनमा गल्ती गर्नेलाई कारबाही हुने बताएका छन् । राष्ट्रिय परीक्षा बोर्डले अधिकार प्रत्यायोजन गरेर परीक्षा नियन्त्रण कार्यालयले एसइईको परीक्षा सञ्चालन गरेको थियो । बोर्डका अध्यक्ष प्रा.डा. पौडेलले सिस्टममा त्रुटि भएको विषयमा जानकारी पाएको बताउँदै भने, ‘९० अंक ल्याउने विद्यार्थीको ग्रेड ए प्लस हुनुपर्नेमा सिस्टमले ए ग्रेड देखाएको रिपोर्टिङ भएको छ,  योबारे पहिले छानबिन गर्छौँ, त्यसपछि के गर्ने भन्ने निर्णय हुन्छ, व्यक्तिका कारण गल्ती भएको पाइएमा कारबाही हुन्छ ।’ उनले भने ।

पनिकाले शनिबार प्रकाशित गरेको नजितामा आइतबार हजारौँ विद्यार्थीको जिपिए बढेको छ । पनिकाले तोकेका वेबसाइट तथा एसएमएसबाट विद्यार्थीले शनिबार प्राप्त गरेको जिपिए आइतबार बढेको हो ।

जिपिए बढेपछि विद्यार्थी, अभिभावक रशिक्षक अन्योलमा परेका छन् । कुनै पनि विषयमा ९० अंक ल्याउने विद्यार्थीको ग्रेड सम्बन्धित विषयमा ए प्लस हुनुपर्नेमा पनिकाको सिस्टमले ए ग्रेड मात्रै देखायो । विषयगत रूपमा ए प्लस आउनुपर्नेमा ए मात्र आउनाले समग्र जिपिए घटेको थियो । आइतबार प्रायः विद्यार्थीको जिपिए बढेको छ । यस वर्ष साधारणधारतर्फ नियमित चार लाख ५१ हजार पाँच सय ३२ र एक्जाम्टेडतर्फ २५ हजार एक सय ३२ परीक्षामा सहभागी थिए । त्यसैगरी प्राविधिक धारतर्फ नियमितमा आठ हजार नौ सय ६ र एक्जाम्टेडतर्फ १० जना सहभागी थिए ।

:304 Views

Leave a Reply