‘अब अंग्रेजी होइन नेपाली पढाउनुपर्छ’ःमन्त्री दुलाल

ललितपुर, २१ मंसीर । ललितपुर महानगरको सामुदायीक विद्यालयमध्येकै अव्वल विद्यालय श्री श्रमिक शान्ति मावि, च्यासलको ६४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार भव्य रुपमा मनाइएको छ ।

प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा विद्यालय हातामा नवनिर्मित इन्जिनियरिंग भवनको पनि उद्घाटन गरियो ।

कार्यक्रमलाई सम्वोधन गर्दै सामाजिक विकास मन्त्री दुलालले अव विद्यार्थीलाई अंग्रेजी भाषा नभई नेपाली भाषा पढाएर नेपाली भाषाको संरक्षण गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

‘अंग्रेजी जान्यो भन्दैमा सवैथोक नहुने उल्लेख गर्दै मन्त्री दुलालले नीजि विद्यालयमा पढेका विद्यार्थीहरु सरकारी कार्यालयमा जागीर खान अयोग्य सावित हुँदैछन, न उनीहरुलाई नेपालीमा टिप्पणी लेख्न आउँछ, न प्रतिवेदन नै’ भन्नुभयो ।

प्राथमिक तह मातृभाषामा, त्यसपछि नेपाली त्यसपछि मात्रै अंग्रेजी भाषालाई जोड दिनुपर्ने बताउँदै उहाँले अवका दिनमा सामुदायीक विद्यालय अभिभावकको पहिलो छनौट हुनुपर्छ भन्नुभयो । यसका लागि सरकार मुलुकभरीका सामुदायीक विद्यालयको गुणस्तर अभिवृद्धि गर्न कृयाशिल रहेको पनि बताउनुभयो ।

ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले महानगरभित्र सञ्चालित सामुदायीक विद्यालयको विकासको लागि आर्थिक तथा प्राविधिक सहयोगको साथै उत्कृष्ट विद्यालयलाई महानगरले पुरस्कृत गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुकृष्ण व्यञ्जनकारको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सानुलाल व्यञ्जनकारले विद्यालयको प्रगती विवरण प्रस्तुत गर्नुभयो भने प्रदेश सभा सदस्य ज्ञानेन्द्र शाक्य, विद्यालयका सहायक प्रधानाध्यापक पवनविक्रम कार्की, व्यवस्थापन समितिका पूर्व अध्यक्ष हरिकृष्ण व्यञ्जनकार र छात्रा लक्ष्मी खातीले असल नागरिक उत्पादन गर्न श्रमिक शान्ति माविले पुरयाउँदै आएको शैक्षिक योगदानबारे चर्चा गर्नुभयो ।

कार्यक्रममा गतवर्षको माद्यमिक शिक्षा परीक्षा एसईईदेखि कक्षा १२ सम्म सर्वाेत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीहरु मोनिका तामांग, लक्ष्मी खाती र मनिषा विकलाई मन्त्री दुलालले नगद तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

उहाँले सो विद्यालयका पुर्व शिक्षक तथा हाल ग्लोबल कलेज अफ म्यानेजमेण्टका प्रिन्सिपल डा.गंगाधर दाहाललाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

कार्यक्रममा प्रदेश सभा सदस्य शाक्यले सो विद्यालयबाट गतवर्षको माद्यमिक शिक्षा परीक्षामा ए र बि प्लस ग्रेड हासिल गरेका विद्यार्थीलाई र ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले बि ग्रेड हासिल गरेका विद्यार्थीलाई पुरस्कार वितरण गर्नुभयो ।

यसैगरि च्यासः मंका खलःका अध्यक्ष श्याम व्यञ्जनकारले स्व.कुलवीर व्यञ्जनकार छात्रवृत्ति कोषबाट विद्यालय उत्कृष्ट विद्यार्थी मोनिका तामांग र समिर विक्रम राणालाई नगद पुरस्कार,स्व.आशगोविन्द स्मृति पुरस्कारकी संस्थापक एवम् सो विद्यालयकी पुर्व शिक्षिका ननिता थापा गुरुंगले माद्यमिक शिक्षा परीक्षामा अंग्रेजी र गणित विषयमा उत्कृष्ट अंक हासिल गरेका मोनिका तामांग, प्रतित्रा भण्डारी, प्रतिमा भण्डारी, मनिषा लामा र रोशन थापामगरलाई नगद पुरस्कार वितरण गर्नुभयो ।

कार्यक्रममा सानो कक्षादेखि १२ सम्मका विद्याथर््ीहरुले गिती नाटक, पोशाक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

:363 Views

Leave a Reply