काम नलाग्ने सामानलाई उपयोगी बनाए विद्यार्थीले

भक्तपुर, ११ माघ । कटुन्जेकी दिपतारा ढुङ्गेलले छोरीको स्कुलमा भएको प्रदर्शनी ‘बेस्ट फ्रम वेस्ट’ अवलोकन लगत्तै स्कुल प्रिन्सिपलसँग खुसी हुँदै भनिन्, ‘सर कति राम्रा राम्रा सामान, म पनि घरमा गएर यहाँ भएकामध्ये २ वटा सामान बनाउँछु । मैले ती सामानको फोटो पनि खिचेकी छु ।’

हरेक वर्ष भक्तपुरको एभरेस्ट स्कुलका विद्यार्थीहरूले काम नलाग्ने, फ्याँक्नु पर्ने सामानबाट सजावट गर्न मिल्ने, कति त प्रयोग नै गर्न मिल्ने वस्तुहरू बनाएर प्रदर्शनी गर्दै आएका छन्।

दिपताराले प्राय सबै प्रदर्शनीहरू अवलोकन गरेकी छन्।

तर उनलाई यस वर्ष विद्यार्थीले बनाएका सामानहरू पहिलेको तुलनामा अझ उपयोगी र आकर्षक लागेको प्रतिकृया दिइन्।

कतिपय विद्यार्थीहरूले युट्युबको सहायताबाट पनि नयाँ नयाँ सामानहरू बनाउन सिकेको जानकारी पाएकी उनलाई  त्यहाँमध्येबाट रिङबेल र कपडाको फुल एकदम मनपरेको छ।

‘किनेको तयारी वस्तुभन्दा पनि यस्तो सामान राम्रो । काम नलाग्ने सामानको प्रयोगबाट मेहेनतका साथ बनाएको सामान देखेर मन लोभियो। प्लाष्टिकको गिलासको पनि सदुपयोग गर्न मिल्ने। बुद्धि लगायो भने जे पनि प्रयोगमा ल्याउन सकिने रहेछ ।’ उनले थपिन्।

प्रदर्शनीमा कक्षा १ देखि कक्षा ९ सम्मका करिब १ हजार विद्यार्थीले काम नलाग्ने सामानको संकलनबाट विविध उपयोगी सामान बनाएर स्कुलको प्राङ्गणमा प्रदर्शन गरेका थिए ।

विद्यार्थीहरूलाई हिउँदे बिदाको समयमा सो कार्य गृहकार्यको रुपमा दिइएको विद्यालयले जनाएको छ।

भक्तपुर नागपोखरीबाट आफ्नो सन्तान र अरु विद्यार्थीले बनाएका बेस्ट फ्रम वेस्ट हेर्न पुगेकी संगीता श्रेष्ठले विद्यालयले दिएको सो गृहकार्य गर्न आफ्नो छोराले निकै मेहेनत गरेको र अधिकांश समय त्यही परियोजनामा व्यस्त रहँदा टिभी र मोबाइल चलाउन समय कम मात्र पाएको बताइन्।

त्यसले आफूजस्ता अभिभावकहरूलाई विदाका बेला आफ्नो सन्तानलाई सम्हाल्न सहज भएको अनुभव नुवागीसँग साटिन्।

उनलाई पनि सो प्रदर्शनीमा राखिएका अधिकांश वस्तुहरू मन पर्यो। सबैभन्दा बढी कागजको फुलदानीले आकर्षित गरेको उनले सुनाइन्।

कक्षा ९ मा पढ्ने रेज्मा खोटेजाले आमाको काम नलाग्ने चुराबाट पुतली बनाएकी रहिछन्।

सोही पुतलीको छेउमा बसेर उनी प्रदर्शनी हेर्न आएका अभिभावक र साथीहरूले आफूले बनाएको वस्तुको प्रशंसा गरेको सुनेर दङ्ग थिइन्।

उनले त्यो सामग्री बनाउन ३ दिन लागेको उनले बताइन्।

यसअघिका वर्षमा उनले दराज,  कपबोर्ड र ब्याग बनाएकी रहिछन्।

त्यस्तै उनकी साथी स्नेहा घिसिङले टल्कने कागज र बोतलको प्रयोग गरेर बास्केट बनाएकी थिइन् ।

उनीहरू काम नलाग्ने सामानबाट यस्तो सामाग्री बनाइ त्यसलाई कोठामा सजाउने र साथीलाई उपहारका रुपमा दिने योजनामा छन् ।

स्कुलका प्रिन्सिपल भक्त राजभण्डारी बिदाको समयको उपयोग गर्न र विद्यार्थीलाई आफ्नो वातावरण सफा राखी सामानको पुनः प्रयोग गर्ने बानी बसाल्नको लागि यस्ता कार्यक्रम गरिएको बताउँछन् ।

पहिलेका वर्षमा यो कार्यक्रमलाई विज्ञान विषयको प्रदर्शनीसँगै गरिने गरेकोमा यस वर्षबाट अलग अलग गरेको उनले बताए।

माध्यमिक तहकी इन्चार्ज तथा स्कुलको वातावरण, जनसंख्या तथा स्वास्थ्य विषयकी विभाग प्रमुख चण्डेश्वरी हाछेथुले सो कार्यक्रमले विद्यार्थीहरूमा निकै उत्साह थपेको र वातावरणप्रति सचेत पनि बनाएको बताइन्।

विद्यार्थीलाई सृजनशील बनाउन यस्ता क्रियाकलाप सबै स्कुलले गर्नुपर्ने धारणा राख्दै प्रदर्शनीमा राखेकामध्येबाट उत्कृष्ट १० विद्यार्थीलाई विद्यालयको वार्षिक उत्सवमा पुरस्कृत गर्ने जानकारी दिइन्।

हरेक वर्ष एभरेस्टमा हुने सो प्रदर्शनी हेर्न आउने अभिभावक र वाहिरका अन्य व्यक्तिहरूको संख्या क्रमश बढ्दै जानुले विद्यालय, शिक्षक र विद्यार्थी सबैलाई अझ राम्रो गर्ने हौसला मिलेको प्रधानाध्यापक राजभण्डारी बताउँछन्।

:253 Views

Leave a Reply