सम्पादक प्यासीको खेतीकिसानी गीत

काठमाडौं |

म त हिँडे मेला र पर्ममा

धानै रोप्न असारै महिनामा

गाउँका खेताला संगसंगै,

ताइचिने चिउरा पोल्टामा

आलुको अचारमा रमाउँदै, ……….

विगत साँढे दुई दशकदेखि पत्रकारिता गर्दै आएका अरनिको टेलिभिजनका सह—सम्पादक पत्रकार बलराम प्यासीले खेती किसानीसंग सम्वन्धि लोकलयमा आधारित मिठो आधुनिक गीत लेखेका छन ।

वरिष्ठ संगीतकार वालन्द राईको संगीत तथा वरिष्ठ संगीत संयोजक सचिन सिंहले संगीत संयोजन गरेको खेतीकिसानी गीतमा संगीतकार वालन्द राई र गायीका पार्वती राईको युगल स्वर रहेको छ ।

खेतीकिसानी सम्वन्धी विभिन्न तस्वीरलाई समायोजन गरि युट्ुयब मार्फत आइतबार साँझदेखि सार्वजनिक गरेको उक्त गीतको छिटै नै छाँयाकन गरिने योजना बुनेको रचनाकार प्यासीले बताए ।

२०७२ सालमा पहिलो वालगीत लेखेर गीतीयात्रामा प्रवेश गरेका पत्रकार प्यासीको यो तेस्रो गीत हो । उनको दोस्रो आधुनिक गीत गायक रामकृष्ण ढकालले गाएका छन् ।

किसान परिवारमा जन्मेका प्यासी स्काउट, समाजसेवा र पत्रकारितामा स्थापित भएपछि गीतकारको रुपमा आफ्नो अर्काे पहिचान बनाउने प्रयासमा छन । उनी अरनिको टेलिभिजनमा सह सम्पादकको साथै भक्तपुाट प्रकाशित भईरहेको नेपाल न्यूज साप्ताहिक र प्रक्षेपण दैनिकका कार्यकारी सम्पादक तथा एक दर्जन विभिन्न प्रतिष्ठित संस्थाका सञ्चार सल्लाहकारको रुपमा कार्यरत छन ।

भक्तपुरको बागेश्वरीमा जन्मेका पत्रकार प्यासी सानो छँदा आफ्ना बाबुआमा खेतीपातीका लागि आफ्नो खेतबारी होस या अर्काको मेलापर्ममा जाँदा देखेको कुरा स्मरण गर्दै खेतीकिसानी गीत लेखेका हुन ।

रचनाकार प्यासीले विभिन्न मौसममा लगाइने खेतीपाती र मेलापर्ममा जाँदा खेतालाहरुले खाने गरेका खाजाहरु ‘उसिनेर साँधेको आलुको अचारसंग ताइचिन चिउरा’, ‘साँधेको गुन्दु्रकसंग भुटेको मकै भटमास’, ‘सिन्कीको अचारसंग भुटेको जुनेलो’ र ‘मुलाको अचारसंग गहुँको पीठोको रोटी’को बारेमा स्वादिलो शब्द पस्केका छन ।

खेतीकिसानीबारे गीतहरु त्यति नभएका कारण आफुले केटाकेटी अवस्थामा देखेको कुरा सम्झेर खेतीकिसानी गीत लेखेको बताएका छन् ।

‘मैले पनि ६÷७ वर्षको उमेरमा फरियाको फेर समातेर आमाको पछिपछि र सकि नसकी काँधमा कुटो, कोदालो बोकेर ‘बा’ संगसंगै खेतबारीमा गएको मिठो अनुभव संगालेको छु’—उनले भने ।

असारमा धान रोप्न जाँदा आमाले पटुकीको पोल्टामा ताइचिनको चिउरा र हरियो खुसार्नी चिरेर साँधेको स्वादिलो आलुको अचार खाने गरेको झलझली याद आउने गरेको ३ वर्षअघि निधन भएकी आमाको स्मरण गर्दै पत्रकार प्यासीले भने ।

गहुँ छर्ने हिउँदमा बा’को पछिपछि लागेर खेतमा जाँदा खेतकै कुनामा भतेर पकाएर खाएको पनि याद गर्दै उनले भने—‘यस्तै घटनाले आफुलाई यो गीत लेख्न हौसला मिलेको हो’ ।

२०७२ सालको राष्ट्रिय वालदिवसको अवसरमा रेडियो नेपाल र वाल मन्दीरले आयोजना गरेको ‘राष्ट्रिय वालगीत प्रतियोगिता’ मा प्यासीले लेखेको ‘बाबा मलाई खेलौना हैन, राम्रो शिक्षा दिनुस, ममी मलाई पैसा हैन, असल संस्कार दिनुस’ बोलको गीत गायनतर्फ उत्कृष्ट भएको थियो ।

रामकृष्ण ढकालको स्वरमा रहेको उनको दोस्रो वियोगान्त आधुनिक गीत ‘साँची म मर्दा को को रोलान……’ रेडियो नेपालमा बज्दै आएको छ ।

:175 Views

Leave a Reply