भक्तपुरमा गणित पेपर क्विज हुने

भक्तपुर, २८ माघ । गणित शिक्षा परिषद् भक्तपुर शाखाको आयोजनामा यही फागुन ४ गते पहिलोपटक गणित पेपर क्विज हुने भएको छ । भक्तपुर च्याम्हासिंहस्थित वागिश्वरी मा.वि. मा हुने भनिएको प्रतियोगिता सम्बन्धि परिषद्ले दिएको सुचना अनुसार यस क्विजमा कक्षा १० सम्मका विद्यार्थीहरूले भाग लिन पाउने छन् । यस प्रतियोगितामा विद्यार्थीहरूले जम्मा २ घण्टामा १०० वटा बहुबैकल्पिक प्रश्नहरूको उत्तर दिनु पर्नेछ र सोही दिन यसको नतिजा प्रकाशन गरि पुरस्कार वितरण गरिने जनाइएको छ । पुरस्कार राशी जम्मा रू ८००० वा दर्ता शुल्कबाट उठेको रकमको ६० प्रतिशतमा बढि हुन आउने रकमको हुनेछ भने सो राशी उत्कृष्ट तीन स्थान हासिल गर्न सफल प्रतियोगिहरूलाई प्राप्ताङ्क अनुसार समानुपातिक ढंगले वितरण गरिने परिषद्ले जनाएको छ । “हाम्रो भक्तपुर जिल्ला शाखाले पहिलोपटक विद्यार्थीकेन्द्रित कार्यक्रम आयोजना गर्न गइरहेकोमा हामी अत्यन्तै खुशी छौं“, जिल्ला शाखा अध्यक्ष कृष्ण गोसाईंले प्रष्ट पार्दै थप्नुभयो, “गणित शिक्षा क्षेत्रमा विगत लामो समयदेखि क्रियाशिल सो परिषद्ले यसभन्दा अघि शिक्षक केन्द्रित कार्यक्रमहरू गर्दै आइरहेको थियो ।“
जिल्ला शाखा सचिव विजेन्द्रवीर कर्माचार्यका अनुसार प्रतियोगिता सञ्चालन गर्न आवश्यक तयारी ९० प्रतिशतभन्दा धेरै काम सम्पन्न भइसकेको र समान्य अपेक्षा गरेको भन्दा धेरै सहभागी हुने सुचना आइरहेको बताए । “पाँच चरणको वृहत् बसाइबाट प्रतियोगिताको लागि उत्कृष्ट प्रश्नहरू तयार भैसकेको, र सबै सहभागिहरूलाई भावि अध्ययनको लागि यस प्रतियोगिताले सहयोग पुर्याउने सुनिश्चित छ,“ परिषद् शाखाका पूर्व अध्यक्ष तथा सल्लाहकार सदस्य एन. वि. खाताखोले बताए ।
२०५४ सालमा स्थापित गणित शिक्षा परिषद ललितपुरमा दर्ता भइ हाल ४४ भन्दा धेरै जिल्लाहरूमा सक्रिय छ ।

:202 Views

Leave a Reply