शिक्षक बनेका ‘शिव’

कक्षा ८ मा पढ्दै गर्दा नै टेबलटेनिस खेल्न सुरु गरेका भक्तपुर तौमढीका शिवसुन्दर गोठे, टेबलटेनिस(टेटे)का राष्ट्रिय खेलाडी मात्र हैनन्, प्रशिक्षक पनि हुन् । यतिमा मात्र उनको परिचय टुंगिदैन, अहिले त उनी शिक्षक पनि हुन् । किनकि उनी विगत दुई दशकदेखि टेबलटेनिस खेल सिकाउने ‘गुरु’ वा शिक्षक बनिरहेका छन् । खेलाडीको शिक्षक बन्ने लक्ष्य नहुने तर खेल खेल्दै गर्दा अरुलाई सिकाउन थाल्दा भने शिक्षक हुन जाने उनको भनाइ छ । सोही अनुसार उनी पनि शिक्षक बनेका हुन् ।

इँटाको पर्खाल र सिमेन्टको स्ल्याबमा बनाइएको टेबलटेनिस बोर्डमा बल उफार्दै, ब्याट च्याप्दै खेल सिकेका गोठे पढेको विद्यालय त्यही बेला नै अतिरिक्त क्रियाकलाप गराउने विद्यालयमध्येमा एक बनिसकेको थियो, ‘त्यस समयमा अरु स्कुलको तुलनामा बासु माविमा बढी नै अतिरिक्त क्रियाकलाप हुन्थ्यो, त्यहाँ प्रत्येक शनिबार केही न केही कार्यक्रम हुने गर्थे, म भने टेबलटेनिस खेल्थेँ ।’ उनी सम्झन्छन् ।

स्कुले विद्यार्थी छँदै टेटेको लयमा हिँडिसकेका उनले २०५१ सालमा एसएलसी दिए । एसएलसी दिनु उनका लागि अझ ‘गोल्डेन अपरच्युनिटी’ सिद्ध भयो । त्यो बेला भक्तपुर नगरपालिकाले सञ्चालन गरेको टेबलटेनिस खेलको तालिममा सहभागी हुने अवसर उनले पाए । त्यही तालिमलाई सदुपयोग गर्दै उनले आफूभित्रको टेबलटेनिसप्रतिको लगावलाई अझ कसिलो बनाए, टेबलटेनिस बोर्ड र ब्याटमा ठोक्किँदै आउने बलको मधुर श्वर ‘पिङ पङ’ मा लहसिए । ‘त्यसबेला टेबलटेनिस खेल खेल्ने र हेर्ने दुबैको ठूलै भीड लाग्थ्यो । त्यही ‘ह्वीम’ देखेर मलाई अझ टेबलटेनिसमा लगाव बढेको हो ।’ उनी भन्छन् ।

तालिम लिँदा लिँदै उनी खेलाडी बने, तालिम पाएको तीन वर्षमै उनी राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी बने । उनी वि.सं.२०६५, २०६७ र २०७० सालमा नेपालकै ‘नम्वर वान’ नेशनल च्याम्पियन बने । उनले तीन वटा वल्र्ड च्याम्पियनसिप, २ वटा एसियन गेम, ३ वटा एसियन च्याम्पियनसिप र चारवटा साउथ एसियन गेममा सहभागिता जनाइसकेका छन् । त्यसमध्येमा उनले ३ वटामा कास्य (टिम इभेन्ट) मेडल पनि जितेका छन् । उनी स्कुलमा मात्र नभएर बेलाबेलामा भक्तपुरका खेलाडीलाई पनि प्रशिक्षण दिन्छन् । एउटा सार्क गेममा क्वाटर फाइलमा जित्न लाग्दा आफ्नो साथी (पार्टनर) घाइते भएर ३ प्वाइन्टले गर्दा जितिसकेको खेल हार्नु परेको क्षण उनी कहिले बिर्सन सक्दैनन् ।

‘अहिलेका बालबालिकामा खेलकुदप्रतिको रुचिमा भने त्यति लगाव छैन, देखिँदैन, आफूले गरेको काममा मिहिनेत कम छ, इच्छाशक्ति पनि कम छ । यसो हुनुमा विद्यार्थीहरुको संलग्नता यतायउता छरिएर हो । उनीहरु धेरै क्रियाकलापमा हात हाल्छन्, यसले गर्दा यता जाने कि उता जाने अलमल छ ।’

खेलकुद भनेको विज्ञान हो भन्छन् उनी । विद्यार्थीलाई सैद्धान्तिक कुरासँगै खेल सिकाउने र अभ्यास गराउनमा निपुण उनी टेबलटेनिस सिकाउन पाउँदा मक्ख छन् । ‘बललाई कति डिग्रीमा हान्ने, कुन बललाई कसरी हान्ने भन्ने कुरा वैज्ञानिक रुपमै सिकाउँछु ।’ सिकाउने शैली बताए उनले । इसिए अन्तर्गतको सो खेलमा सिद्धान्तका कुरा पनि आवश्यक रहेको र सैद्धान्तिक कुराबाट पनि विद्यार्थीले धेरै कुरा बुझ्ने गरेको उनी स्वीकार्छन् । टेबलटेनिसमार्फतै विद्यार्थीलाई मानसिक, शारिरीक, खेलकुद विज्ञान र टर्मिनोलोजीसम्बन्धी ज्ञान दिनुपर्ने आवश्यकता रहे पनि धेरै स्कुले त्यो कुरालाई ख्याल नगरेको उनको बुझाइ छ । ‘यी कुराको सूक्ष्म ज्ञान राष्ट्रिय स्तरमा पुगेकाले मात्र थाहा पाउँछन्, यो दुखद् छ । स्कुल स्तरमा समयको अभावका कारण र सरकारसँग निति नभएका कारणले नि त्यो काम गर्न गा¥हो उनले गरेको अनुभव हो ।

इसिएसम्बन्धी सैद्धान्तिक ज्ञान पढाउन र सिकाउनका लागि छुट्टै पाठ्यक्रम नभएकोले उनी प्रयोगात्मक कक्षामै खेलको बारेमा ज्ञान दिँदै अभ्यास गराउँदै आएका छन् । पाठ्यक्रम नहुँदा आफूले जसरी सिकेको र जानेको हो, त्यसरी मात्र नभएर विभिन्न स्रोत सामग्रीको सहयोग लिएर पनि, सूचना प्रविधिको प्रयोग गरेर पनि सिकाउने उनको बानी छ । विद्यार्थीलाई जसरी भए पनि उत्साहित बनाउनमा उनी प्रतिवद्ध छन् । यसैले अहिले खेलसम्बन्धी अभिभावकको धारणामा पनि फेरबदल आएकोमा उनी खुसी छन् ।‘पहिला अभिभावकले ‘बच्चालाई कति खेलेको ? पढ्नमा ध्यान देऊ भन्नेमा अहिले कति पढेको, खेल्न जाऊ’ को अवस्था आएको छ ।’

अहिले यो अवस्था आए पनि अहिलेका बालबालिकामा खेलकुदप्रतिको रुचिमा भने त्यति लगाव छैन, देखिँदैन, आफूले गरेको काममा मिहिनेत कम छ, इच्छाशक्ति पनि कम छ । यो कुराले उनको मुटु खान्छ, दुखी बनाउँछ । यसो हुनुमा विद्यार्थीहरुको संलग्नता यतायउता छरिएर हो भन्ने उनको ठम्याइ छ । ‘उनीहरु धेरै क्रियाकलापमा हात हाल्छन्, यसले गर्दा यता जाने कि उता जाने अलमल छ ।’ उनी भन्छन् ।

गुनासो आफ्नै
स्कुलस्तरमा टेबलटेनिसमा राम्रो ‘बेस’ बनाए पनि स्कुलको पढाइपछि धेरै विद्यार्थीले टेवलटेनिसलाई पूर्ण रुपमा छोडिदिने गरेकोमा उनी दुखित छन् । एकदम थोरै विद्यार्थी मात्र यसमा लाग्छन् । यसका मुख्य कारणमा सरकारस्तरबाट कुनै निति निर्माण नहुनु हो । जसले गर्दा धेरै अभिभावक र विद्यार्थीले पनि यसमा भविष्य देख्दैनन् र अन्य विषय पढेर आफ्नो भविष्य निर्माणतर्फ लाग्छन् । ‘खेललाई ‘बेस’देखि नै राम्रो बनाउनुपर्छ भन्छ, सरकार तर त्यो कुरा अनुसार काम के भएको छ ?’ उनको प्रश्न छ । ‘स्कुलस्तरमा राष्ट्रपति कप लगायत २–३ वटा स्पर्धाबाहेक अन्य केही काम हुँदैन ।’ उनी भन्छन्। यसका लागि सरकारले सरकारी विद्यालयमा इसिए शिक्षक व्यवस्था गर्नुपर्दछ । सरकारले (स्कुल र कलेजस्तरमा) निति निर्माण गरी विद्यार्थी र अभिभावकलाई यसमा पनि भविष्य छ भन्ने अनुभुति गराउन आवश्यक छ ।

स्कुलले पनि विद्यार्थी आफ्नो स्कुलमा रहुन्जेल इसिएमा समावेश गराएका हुन्छन् तर स्कुलको पढाइ सकिएपछि त्यो विद्यार्थीलाई कसले यसमा लगाउने? एकदम थोरै कलेजमा मात्र स्नातकमा इसिएलाई ठाउँ दिएको पाइन्छ । विद्यार्थीहरुलाई पछि पनि यसमा सहभागी गराइरहनका लागि राष्ट्रिय नितिकै खाँचो छ । विदेशी विद्यालयहरुले इसिएलाई बढी महत्व दिइरहेको देखिन्छ भने नेपालमा चाहिँ पढाइलाई, त्यसपछिमात्र इसिए ।

‘खेललाई ‘बेस’ देखि नै राम्रो बनाउनुपर्छ भन्छ, सरकार तर त्यो कुरा अनुसार काम के भएको छ ? स्कुलस्तरमा राष्ट्रपति कप लगायत २–३ वटा स्पर्धाबाहेक अन्य केही काम हुँदैन । यसका लागि सरकारले सरकारी विद्यालयमा इसिए शिक्षक व्यवस्था गर्नुपर्दछ । सरकारले (स्कुल र कलेजस्तरमा) निति निर्माण गरी विद्यार्थी र अभिभावकलाई यसमा पनि भविष्य छ भन्ने अनुभुति गराउन आवश्यक छ ।’

अब के गर्ने ?
देशभरका केही विद्यालयहरुले मात्र इसिएलाई महत्व दिएको उनको अनुभव छ । समग्रमा नेपालका धेरैजसो स्कुलले इसिएलाई काम चलाउ र बच्चाहरुलाई फुर्सदको समयमा इसिए गराउने भन्ने सोचलाई परिवर्तन गर्नु आवश्यक रहेकोमा उनी जोड दिन्छन् ।

अतिरिक्त क्रियाकलाप भनेर समय छुट्याउने तर त्यसलाई पढाइ पछिको दोस्रो प्राथमिकताको रुपमा लिने गरिएकोमा उनको ठूलै गुनासो छ । यसलाई कम गर्न र पढाइलाई अझ मजबुत गर्नका लागि प्रत्येक स्कुलले प्रत्येक दिन इसिए कक्षा सञ्चालन गर्नुपर्ने सुझाव छ ।

शिक्षण पेशाले आफ्नो खेलमा मद्दत गरेको कुरामा विश्वूत गोठेलाई आर्थिक रुपमा जीवनयापन गर्न पनि यसले सहयोग गरेको छ, उनलाई । लिटिल एन्जल्स स्कुलमा टेबलटेनिस सिकाउन पाउँँदा उनी सन्तुष्ट छन् । आफूले अध्ययापन गरेको स्कुलले इसिएलाई प्रत्येक दिन समय दिएकोमा उनी खुसी छन् ।

टेबलटेनिस खेलका राष्ट्रिय खेलाडी गोठे, ललिपुरस्थित लिटिल एन्जल्स स्कूलमा पढाउँछन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको महासचिव समेत रहेका गोठे सो स्कूलको कक्षा ४ देखि १० सम्मका विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप सिकाउँछन् । उनीसँग नुवागी संवाददाता सबिना बानियाँले गरेको कुराकानीको सार ।

:256 Views

Leave a Reply