मलाई सपनाले सुत्न दिँदैन

दोलखामा जन्मि दोलखाबाटै एसएलसीसम्मको अध्ययन सकेर ठूलै सपना बोकेर काठमाडौं पसेका हिरण्यराज उप्रेती हाल दधिकोटमा ज्ञान सरोवर मन्टेश्वरी सञ्चालन गरिरहेका छन् । सन् १९९९ ताका थिमीमा आयोजित एक वर्षे शिक्षक तालिमबाट शिक्षा क्षेत्रमा प्रवेश गरेका उनले त्यसपछि जीवनमा कहिल्यै फर्केर हेर्न नपरेको बताउँछन् । समय समयमा आएका सुखद आश्चर्यहरूले जीवनमा अघि बढ्ने प्रेरणा मिलेको बताउने उनले परीक्षामा विशिष्ट श्रेणीमा उत्तीर्ण हुने तर वास्तविक जीवनमा सधैँ फेल हुने नागरिक तयार गर्ने नेपाली शिक्षा प्रणालीमा नवीनतम प्रयोगको कल्पना गर्दै ज्ञान सरोवरको स्थापना गरेका हुन् । जीवनको चार दशक बिताउन लागेका उप्रेती मन्टेश्वरी बाहेक विभिन्न अन्य संघसंस्थामा पनि आवद्ध छन् । उनको व्यक्तित्वको चर्चा उनकै शब्दमा ।

सपना देख्न रात पर्नु पर्छ वा नसुती सपना देखिन्न भन्ने कुरा म मान्दिनँ । म धेरै सपना देख्ने मान्छे हुँ । र सपना देखेपछि निदाउन सक्दिनँ । यो विद्यालयको सपना सन् १९९९ मै देखेको थिएँ । विभिन्न अवसरको सिलसिलामा देश भित्र र बाहिरका कामहरूमा लागिरहेँ । तर अन्ततः मेरो सपनालाई यथार्थ रूप दिएरै छाडेँ ।

म शिक्षा संकाय पढिरहेका बेला सन् १९९९ मा सानो थिमीमा आयोजना गरिएको एउटा शिक्षक तालिममा सहभागी हुने मौका पाएँ । विदेशी प्रशिक्षकहरूको एक वर्ष लामो सो प्रशिक्षणले मभित्रको शैक्षिक व्यक्तित्व उजागर भयो । हामीले पढेको र पढाउन प्रयोग गर्न पर्ने नवीन विधिका बारेमा त्यो प्रशिक्षणले धेरै कुरा सिकायो । त्यहीबेलादेखि एउटा राम्रो विद्यालयको परिकल्पना गरिरहन्थेँ । जुन धेरै वर्षपछि साकार भयो ।

 

मैले पूृर्व जन्ममा असाध्यै धेरै पूण्य गरेको हुँला र म नेपाल जस्तो देवीदेवता र मन्दिरहरूले भरिएको पवित्र देशमा मानव भएर जन्मन पाएँ । म यहाँको लागि काम गर्न चाहन्छु । म नेपाल चिन्ने विद्यार्थी बनाउन चाहन्छु, नेपालमै बस्ने, नेपाललाई माया गर्ने नागरिक तयार गर्न चाहन्छु ।

शिक्षक भगवान हो, उसले प्रवचन दिइरहन्छ,  विद्यार्थीहरूले उनैले भनेको कुरा सुन्ने मात्र हो भन्ने हाम्रो परम्परागत शिक्षण पद्धतिमा परिवर्तन अपरिहार्य महसुस गरिरहेँ । त्यसमाथि हाम्रै समाजमा कति यस्ता मानिसहरू छन् जोसँग विशिष्ट श्रेणीमा उत्तीर्ण भएको प्रमाण पत्र छ तर वास्तविक जीवनमा हर कदममा फेल छन् । यसमा ती मानिसहरूको दोष देख्दिनँ । दोष त सरकारको हो, सरकारी शिक्षा नीतिको हो जसले सिद्धान्त घोकायो त्यसको अभ्यास जरुरी नै ठानेन । त्यसै कारण शिक्षामा परिवर्तन आवश्यक ठानिरहेँ र पाँच वर्षअघि ज्ञान सरोवर मन्टेश्वरी खोलेँ । 

मैले मन्टेश्वरी खोलेर बसेकोमा मेरा धेरै साथीहरूले मुर्ख पनि भन्छन् । नाम चलेका विद्यालयमा राम्रो सेवासुविधा र आर्थिक रूपमा राम्रो सुविधा हुँदा हुँदै पनि त्यो छोडेर किन चिन्ता लिने काम गरेको भन्छन् । तर आफू एक जना रोजगार भएर यो मुलुकको समस्या समाधान हुन सक्दैन । मैले राम्रै तलब कमाउँछु तर मेरो जीवनको उद्देश्य त्यतिमा सीमित छैन । म व्यावसायिकतामा विश्वास गर्छु । म एक जनाले आँट गरेँ भने सयौँले काम पाउँछन् । सयौँको परिवार देशमै पालिन्छ भन्ने सोचेर मैले आफ्नो काम शुरु गरेको हुँ । म आवद्ध भइ सञ्चालनमा रहेका केही संस्थाहरूमा पनि केहीले रोजगारी पाएका छन् । म अझै कोसिस गर्दैछु । जीवनको उत्तराद्र्धमा समाज सेवा गर्ने सोचेको छु ।

हेर्नोस् मैले पूृर्व जन्ममा असाध्यै धेरै पूण्य गरेको हुँला र म नेपाल जस्तो देवीदेवता र मन्दिरहरूले भरिएको पवित्र देशमा मानव भएर जन्मन पाएँ । म यहाँको लागि काम गर्न चाहन्छु । म नेपाल चिन्ने विद्यार्थी बनाउन चाहन्छु, नेपालमै बस्ने, नेपाललाई माया गर्ने नागरिक तयार गर्न चाहन्छु । 

म कस्तो खालको मान्छे भन्नुहुन्छ भने म शुरुदेखि नै बोल्ने मान्छे हुँ । त्यसै परे त म बोलीको खेती पनि प्रशस्तै गर्न सक्छु । तर अहिले बोलेर मात्र पुग्दैन । बोली र व्यवहारमा तादाम्यता हुनुपर्छ । त्यसैले अहिले युकेजीसम्म चलेको यो मन्टेश्वरीको थप व्यवस्थापन र गुणस्तर वृद्धिमा ध्यान दिइरहेको छु । त्यस्तै मलाई राम्रो सुत्नु पर्छ । प्रशस्तै सुत्नु पर्छ । र अर्को कुरा मसँग संगत गर्ने मान्छेलाई मबाट धेरै लाभ नहोला । तर हानी चैँ पक्कै हुँदैन ।   

:182 Views

Leave a Reply