सधैँ बेवास्तामा पर्छन् इसीए शिक्षक

आजभन्दा १४ वर्षभन्दा अघि अर्थात् २०६१ सालमा त्रिभुवन विश्वविद्यालयको शिक्षा संकायको सेरिडले नेपालका प्राथमिक विद्यालयमा सहक्रियाकलाप तथा अतिरिक्त क्रियाकलापको वर्तमान अवस्था, समस्या र समाधान’ विषयमा गरिएको अध्ययनले देखाएको थुप्रै बुदाहरूमध्ये माथिको दुई बुँदामा अहिले थोरबहुनत परिवर्तन भएको हुन सक्छ । तर विद्यालयहरूले गर्ने क्रियाकलाप हेर्दा अझै चित्त बुझाउन सक्ने स्थिति बनेको छैन ।

सोही अध्ययनमा भनिएको छ, ‘प्रत्येक शिक्षा समिति, कार्यदल तथा पाठ्यक्रममा यस( सहक्रियाकलाप तथा अतिरिक्त क्रियाकलाप) लाई विद्यालय शिक्षाको एक अभिन्न अंगका रूपमा समावेश गरिएको पाइन्छ । तर नीतिगत रूपमा सह तथा अतिरिक्त क्रियाकलापलाई विद्यालय शिक्षाको अभिन्न अंग बनाइए तापनि यथार्थमा विभिन्न कारणले सञ्चालन भएको कमै देखिन्छ।’

अध्ययनले निचोडले भनेजस्तै गरी त्यो विभिन्न कारणमध्ये विद्यालयमा सह तथा अतिरिक्त क्रियाकलाप गर्न गाह्रो हुनुमा सो विषयसँग सम्बन्धित शिक्षक, प्रशिक्षक नहुनुलाई धेरै प्रिन्सिपलहरूले मुख्य कारणका रुपमा लिएका छन् ।

अध्ययनले विद्यालयमा देखिएका समस्याहरूमा अपर्याप्त शिक्षक संख्यालाई मात्र मानेको छैन, सीपयुक्त तथा तालिमप्राप्त शिक्षकको अभाव, सह क्रियाकलाप तथा अतिरिक्त क्रियाकलापको ज्ञान तथा प्रयोगात्मक पक्षसम्बन्धी अवधारणाको अस्पष्टता, अत्यधिक कक्षा शिक्षण भार, पेशागत सहयोग तथा समर्थनको अभाव, दोषपूर्ण शिक्षक प्रशिक्षण तथा उत्पादन प्रणाली, पेशाप्रतिको प्रतिवद्धतामा कमीलाई औंल्याइएको छ ।

फर्मेटिभ अनुसन्धान परियोजना, २०६१ ले माथिका समस्या समाधान गर्नका लागि सुझाव पनि दिएको छ । सुझावहरूमा सह तथा अतिरिक्त क्रियाकलापलाई ऐच्छिक कार्यक्रमको सट्टा विद्यालयको अनिवार्य र अभिन्न अंगको रुपम कार्यान्वयन गर्नुपर्ने, विषयगत शिक्षकको नियुक्तिको व्यवस्था गर्नुपर्ने र तिनको प्रतिहप्ता कक्षाभार २४ देखि ३६ घन्टी राख्न नहुने, स्वतन्त्र शिक्षकको दरबन्दी तथा नियुक्ति अनिवार्य गर्नुपर्नेलगायत छन् ।

त्यो समयमै त्यसरी अध्ययन गरी सुझाव दिए पनि अझै पनि सरोकारवालाले भने त्यो विषयमा ध्यान दिन सकेको छैन । त्यही कारण पनि विद्यालयअन्तर्गत सरकारी विद्यालयहरूमा तुलनात्मक रुपम कम मात्र सह तथा अतिरिक्त क्रियाकलाप हुने गरेको छ ।

यता संस्थागत विद्यालयले आफ्नो अनुकूल तरिकाले क्रियाकलाप गरे पनि त्यसमा पनि अध्ययनले खुट्याएका समस्या झेल्दै क्रियाकलाप हुने गरेका छन् । तिनीहरूले झेलेको मुख्य समस्या नै जनशक्तिको हो । उपयुक्त जनशक्ति नहुँदा विद्यालयले अतिरिक्त तथा सह क्रियाकलाप गराउन र गर्न चाहेर पनि नपुग्ने अवस्था छ । ‘एउटा खेल एक घन्टा सिकाइदिनका लागि चाहिने रकम दिन्छु भन्दा पनि इसिएका शिक्षक पाउन मुश्किल छ ।’ जेन्यूइन सेकेण्डरी स्कूलका प्रिन्सिपल योगेन्द्रमान बिजुक्छेंले भने ।

उनले आफ्नो विद्यालयमा उपलब्ध भौतिक साधनअनुसार विभिन्न सह तथा अतिरिक्त क्रियाकलाप गराइरहे पनि त्यस्ता क्रियाकलाप गराउनका लागि शिक्षककै मुख्य समस्या झेलिरहेको बताए । सह तथा अतिरिक्त क्रियाकलापले विद्यार्थीको मौलिकता, सिर्जनात्मक अभिव्यक्ति सिप, कलाको अभ्यास तथा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने बताउँदै शैक्षिक जनशक्ति विकास केन्द्रका पुण्य घिमिरेले विद्यार्थीलाई विभिन्न कुलतबाट जोगाउन पनि क्रियाकलाप आवश्यक भएको जनाए । तर त्यो क्रियाकलापका लागि भने जनशक्तिकै अभाव भएको बताए ।

भक्तपुरको माउण्ट भ्यू स्कूलका प्रिन्सिपल राजकुमार महर्जनको फरक मत छ । उनले इसिए शिक्षकको अभाव नभएको बताए । विद्यालय भन्ने बित्तिक्कै थोरै पारिश्रमिक दिने, बढी काम गर्नुपर्ने ठाउँ र संस्थाका रूपमा आम बुझाइ हुँदाको परिणाम भएको जनशक्ति कि त घरमै त्यत्तिकै बस्ने, कि त विदेश जाने गरेको उनको भनाइ छ ।

उनले पढाइ जत्तिक्कै महत्वपूर्ण अतिरिक्त क्रियाकलाप गराउने शिक्षक होस् या प्रशिक्षकलाई पुग्दो मात्रामा पारिश्रमिक, सेवा सुविधा हुँदा त्यसको पनि समाधान हुने सुझाए ।

धेरै प्रिन्सिपलहरूको बुझाइमा अतिरिक्त क्रियाकलाप गराउने शिक्षक भनेका अतिरिक्त नै हुन्छन् । उनलाई विद्यालयमा १०–४को ड्युटी गर्नु आवश्यक छैन । त्यही कारण त्यो शिक्षकले अन्य शिक्षकलेजस्तै गरी विद्यालयका नीति नियम पनि पालना गर्नुपर्दैन, पढाइको पनि मतलब गर्नु पर्दैन । तर, त्यो बुझाइ सरासर गलत भएको धेरैको भनाइ पनि छ । पढाइलाई सहयोग गर्ने मुख्य कारक वा तत्व भनेकै अतिरिक्त क्रियाकलापले हो । अतिरिक्त क्रियाकलापमा राम्रो गर्ने विद्यार्थीले पढाइमा पनि राम्रो गर्न सक्छ ।

लक्षित समूहका प्राय : सम्पूर्ण शिक्षक तथा शिक्षिका सहक्रियाकलाप तथा अतिरिक्त क्रियाकलाप बीचको सैद्धान्तिक तथा क्रियात्मक पक्ष बीचको तात्विक भिन्नताप्रति सचेष्ट देखिएनन् ।

कुनै पनि विद्यालयमा खेलकुद, नृत्य तथा संगीत एवं सिर्जनात्मक अभिव्यक्ति र कलाको स्वतन्त्र शिक्षक नियुक्ति गरिएको देखिएन । यही कारण इसिए शिक्षकले पनि विद्यालयको नियम मान्नुपर्छ भन्ने सन्देश दिनका लागि जेन्यूइन स्कूलले करार नै गराएको विद्यालयको भनाइ छ । विद्यालयमा शिक्षकमाथि विद्यार्थीको, अभिभावकको र स्वयम् विद्यालय प्रशासनको जुन नजर छ, त्यो नजर इसिए शिक्षकप्रति नबन्दा पनि इसिए शिक्षक हुन जाँगर नचलेको फुटबल खेलका एक प्रशिक्षक एवं राष्ट्रिय रेफ्री मिलन हाडा बताउँछन् ।

‘शिक्षकलाई विभिन्न तालिम दिइन्छ, सेमिनारमा सहभागी गराइन्छ, विभिन्न रमाइलो गरिन्छ, तर त्यस्तोमा हामीलाई सहभागी नै गराउँदैन, हामी एउटै परिवारका भएपछि त विद्यालयले सम्झनु पर्यो नि ।’ उनको गुनासो छ । उनले विद्यार्थीले पढाइमा कुनै ग्रेड ल्याउँदा विद्यालयमा ठूलो उत्सव हुन्छ तर कुनै खेलमा जित्दा कुनै महत्व नै नहुने जस्तो व्यवहार हुँदा समस्या हुने गरेको बताए ।

:310 Views

Leave a Reply