मेरो देश, मेरो सर्वस्व

सविना धमला

विश्वको नक्सा पल्टाएर नियाल्दा सिन्धुमा हराएको बिन्दुझैँ लाग्छ मेरो देश । हिमालका शिरमा हरिया भोटाले सौन्दर्य पस्किरहेछन्, तराईका कटीमा पहेलपुर कछाड फर्फराइ रहेछन् । प्रकृतिको अनुपम उपहारझैँ लाग्ने मेरो देश मेरो हृदयको धड्कन हो, मेरो देहको नसा हो ।

‘जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी’ यो नै हो मेरो आदर्श हो, जीवन बाँच्ने आधार हो । मेरो देशको छातीबाट अविरल रूपमा झरझर झरिरहेछन् झरनाहरू, छङ्छङ छङ्किरहेछन् छाँगाहरू, कलकल बगिरहेछन् खोलाहरू । मोनालिसाको सौन्दर्य फिका बनाउने मेरो देशको सौन्दर्य कामदेवकी रती हो । मलाई मेरो हिमालले अटल, पहाडले वीर र तराईले कर्मयोगी बन्न सिकाएको छ । कोशी र गण्डकीका वेगसँगै निरन्तर गतिवान् हुन चाहन्छु म । यही हो देशबाट मैले पाएको ज्ञान ।

अनेकतामा एकताको कलात्मक विन्यास भएको मेरो देशका हिमाललाई ठेस लागे पहाडलाई दुख्छ, पहाडलाई चोट लागे तराईलाई दुख्छ । कोशीमा बाढी आउँदा कञ्चनपुर रुन्छः मधेसमा आगो लागे हिमालले निभाउँछ । यो देश मेरो प्राण हो । मसँग कालापानीसँगै दुख्ने मुटु छ, कोशीसँगै रुने आँसु छ, सुस्ता च्यापिँदा मेरा अङ्ग प्रत्यङ्ग झम्झमाउँछन् ।

सेवा नै धर्म हो, यो मेरो देशले दिएको मन्त्र हो मलाई । अनेक जाति, भाषा र संस्कृतिको फूलबारी मेरो नेपाल मेरो आस्थाको केन्द्र हो । मेरो विश्वास हो, मेरो मुटुको ढुकढुकी हो । मेरो मात्र राम्रो अर्काको नराम्रो भन्ने होइन, अरु भाषा, धर्म तथा संस्कृतिको सम्मान गर्दै आफ्नोपनको संरक्षण गर्ने शिक्षा मैले पुर्खाहरूबाट पाएकी छु । धान नाच, सोरठी, घाटु, सेलो, रोइला जस्ता मेरा सांस्कृतिक धरोहरहरूले मलाई अन्तर्राष्ट्रिय पहिचान दिएका छन् ।

मेरा डाँडापाखामा गोठालाहरूले सालको पातको पिपिरी बजाएको र घाँसेहरूले घुँगुरा बजाएको मनपर्छ मलाई । दसैँ, तिहार, तीज, ल्होसार, छठ, जनैपूर्णिमा जस्ता सांस्कृतिक एकताका पर्वहरूले बेलाबेलामा मेरो थकान मेट्छन् । एकता तथा समभाव बढाउँदै मेरो नेपाल र म नेपाली भन्ने सन्देश छोड्छन् ।

अचेल देश कमजोर छ, सम्भावना तथा अवसर छैन भनेर विदेश पस्नेहरूको भीड अस्वाभाविक रूपमा बढेको छ । यस्तो परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकारले रोजगारीका अवसरहरू सृजना गर्दै जानुपर्छ । यो देश मेरो हो, म यो देशको हुँ । म गर्वका साथ भन्छु, मेरो देश मेरो सर्वस्व हो ।

कक्षा ९
एभरेष्ट पब्लिक एकेडेमी, बोडे, भक्तपुर

:337 Views

Leave a Reply