आँसु झार्दै व्यङ्ग्य गर्न सक्ने रुसी साहित्यकारः गोगोल

रुसी साहित्यकार निकोलाइ गोगोलको जन्मदिन संसारभर १ अप्रिलमा मनाइन्छ। सन् १८०९ मा जन्मिएका उनको २१० औँ जन्मदिन नेपाली साहित्यकारहरुले ४ अप्रिलका दिन काठमाडौँस्थित रूसी साँस्कृतिक केन्द्रमा मनाए। 

विश्व प्रसिद्ध ब्यालेट सो ‘स्वान लेक’को प्रदर्शनीसँगै शुरु भएको कार्यक्रममा साहित्यकार गोगोलको ४२ वर्षको छाटो जीवनी, उनका विश्व चर्चित कृतिहरु ‘निरीक्षक’, ‘ओभरकोट’, ‘मृतआत्माहरु’ जस्ता कृतिमाथि विमर्श भयो। उनको जन्म, मृत्यु अनि उनले बाँचेका ४२ वर्षका अनेक घट्ना अझै पनि रहस्यमय भएको कार्यक्रममा सहभागी साहित्यकारहरुले बताए।

नेपाल रुस साहित्य समाज र रुसी विज्ञान तथा साँस्कृतिक केन्द्रले संयुक्त आयोजना गरेको सो कार्यक्रममा युक्रेनमा जन्मिएका गोगोललाई अति शालीन, भद्र अनि प्रकृतिवादी साहित्यिक सिद्धन्तका पक्षधर भनिएको छ। समाजमा व्याप्त असमानता, अनियमितता, अन्याय, अत्याचारजस्ता विषम परिस्थितिहरुलाई ब्यङग्यात्मक रुपमा पस्कन सक्ने क्षमताका धनी गोगोलले सयौँ वर्षअघि लेखेका कृतिहरु आजको दिनसम्म पनि उत्तिकै सान्दर्भिक रहनुले उनको दूरदर्शी सोच र प्रखर लेखनको पुष्टि भएको उनका दुई कृतिहरु ‘निरीक्षक’ र ‘ओभरकोट’को मञ्चन गरिसकेका शैली थिएटरका निर्देशक नवराज बुढाथोकीले बताए।

रुसी कवि पुश्किनका नजिकका मित्र बताइने गरेका गोगोलले जीवनको अन्तिम समयसम्म लगातार लेखनमै विताए। जीवनको अन्तिम घडीमा उनको सम्पत्तिको नाममा २ जोडा कैँची, एउटा ओभर कोट र केही थान पुस्तकहरुबाहेक केही नरहेको बताउँदै नेपाल–रुस साहित्य समाजका अध्यक्ष डा. जङ्गब चौहानले गोगोलको दुःखदायी जीवनको चर्चा गरे। उनले रुसी साहित्यकारहरूमध्ये गोगोल सबभन्दा रहस्यमयी साहित्यकार भएको बताए। गोगोल बाचुञ्जेल शालिक विरोधी रहेको तर उनको मृत्युपछि रुसमा उनका धेरै  शालिकहरु बनाएर ठडाइएको विरोधाभासपूर्ण यथार्थसमेत उनले उजागर गरे।  

कार्यक्रममा प्रा.डा. बलराम अर्यालले गोगोलको लेखन शैलीबारे बताउने क्रममा उनी आँसु झार्दै हास्यव्यङ्ग्य गर्न सक्ने सफल साहित्यकार भनी उनको प्रशसा गरे । रुसी सांस्कृतिक तथा विज्ञान केन्द्रका निर्देशक युलिया आन्द्रोसोभाले गोगोलको साहित्यिक व्यक्तित्वबारे चर्चा गरिन् ।

नेपाल–रुस साहित्य समाजका पूर्व अध्यक्षसमेत रहेका वरिष्ठ साहित्यकार तेजेश्वरबाबु ग्वङ्गःले विश्वका साहित्यकारहरूबारे गोष्ठीको आयोजनाले विश्व साहित्यबारे सिक्ने अवसर प्राप्त हुने बताए। सिस्नो पानी नेपालका व्यङ्ग्य कवि लक्ष्मण गामनामेले आफ्नो व्यङ्ग्यात्मक कविता ‘जनताको कविता’ मार्फत रुसी साहित्यकार गोगोललाई सम्झे।

 

:113 Views

Leave a Reply