कहिले बाँड्ने विद्यालय क्यालेन्डर ?

अधिकांश विद्यालयहरूले शैक्षिक सत्र शुरु हुनुअगावै विद्यालय क्यालेन्डर प्रकाशन गरेपनि त्यसलाई शैक्षिक सत्र शुरु भएपश्चात मात्र विद्यार्थीलाई वितरण गर्ने गरेका छन् । केही विद्यालयले बैशाखको १५ गते भित्र र केही विद्यालयले वैशाख महिनाभित्र विद्यालय क्यालेन्डर बाँड्ने गरेका छन् भने सामूदायिक समूहको क्यालेन्डर बाँड्ने स्कुलले जेठ या असारमा क्यालेन्डर वितरण गरिएको पाइयो ।

भक्तपुर वागीश्वरी स्कुलले क्यालेन्डरका लागि शैक्षिक सत्र शुरु हुनुअघि नै विद्यालय सम्बन्धित शिक्षकहरू, अभिभावकहरू, शिक्षासँग सम्बन्धित कार्यालयहरूसँग बसेर सुझाव लिई क्यालेन्डर निर्माण समितिले क्यालेन्डर बनाएर शैक्षिक सत्र शुरु भएपछि नै विद्यार्थी र शिक्षकलाई बाड्ने गरेको छ ।

भगवती माविका प्रधानाध्यापक अनुप श्रेष्ठ विद्यालयले कहिले क्यालेन्डर निकाल्छ भन्ने विषयमा उनी भन्छन्, ‘पूर्वी क्षेत्र संयुक्त विद्यालय समितिको क्यालेन्डरको परीक्षालाई समावेश गरेर विद्यालयको क्यालेन्डर निकाल्नुपर्ने हुन्छ । जेठ महिनामा उनीहरूको क्यालेन्डर आउँछ अनि तुरुन्तै हाम्रो विद्यालयको क्यालेन्डर प्रकाशन गरी वितरण गर्ने गरेका छौँ । तर यो वर्ष पूर्वी क्षेत्रको क्यालेन्डर ढिला आउने भएमा उनीहरूको त्रैमासिक परीक्षा मिति समावेश नगरी विद्यालय क्यालेन्डर निकाल्ने छौँ । किनभने ढिला क्यालेन्डर वितरण गर्नुको औचित्य हुँदैन । बैशाखको अन्तिमसम्ममा स्कुलको क्यालेन्डर विद्यार्थीको हातमा पुगिसकेको हुनुपर्छ ।’

विद्यालयको क्यालेन्डरमा पनि बैशाख महिनादेखिको योजना र जानकारी राखिने भएकाले विद्यालयको अन्तिम परीक्षाको नतिजा दिने दिनमा नै आफ्ना विद्यार्थीलाई क्यालेन्डर वितरण गर्नुपर्छ ।

अधिकांश विद्यालयहरू शुरु हुनुअगावै त्यो क्यालेन्डर वितरण गर्न सकिने भएतापनि सम्पूर्ण विद्यार्थी नयाँ शैक्षिक वर्षमा सोही स्कुल नै निरन्तर गर्छन् भन्ने यकीन नभएको हुँदा पहिला नै क्यालेन्डर वितरण नगरेको बताउँछन् ।

तर लगनखेलस्थित एमरल्ड एकेडेमीले भने शैक्षिक सत्र शुरु हुनुअघि नै विद्यालय क्यालेन्डर वितरण गर्ने गरेको छ । विद्यालय प्रिन्सिपल उद्धवप्रसाद घिमिरे भन्छन्, ‘विद्यालयको क्यालेन्डरमा पनि बैशाख महिनादेखिको योजना र जानकारी राखिने भएकाले विद्यालयको अन्तिम परीक्षाको नतिजा दिने दिनमा नै आफ्ना विद्यार्थीलाई क्यालेन्डर वितरण गर्नुपर्छ । विद्यार्थीले दर्ता कहिलेसम्म गर्नुपर्ने, विद्यालय कहिलेबाट लाग्छ, शुरुको महिनादेखि नै के–कस्ता गतिविधि छन् भन्ने विषयमा जानकारी पाउनुपर्छ ।’

:267 Views

Leave a Reply