क्यालेन्डर बनाएपछिको पहिलो वर्षे अनुभव

अघिल्लो वर्षबाट मात्र हामीले स्कुलको क्यालेन्डर प्रकाशन गरेका हौँ, यो भन्दा अगाडिसम्म एक पानामा आफ्ना कार्ययोजना बनाएर विद्यार्थीलाई दिने गरेका थियौँ । अघिल्लो वर्षबाट त्यसलाई क्यालेन्डरको रूप दिएका हौँ । केही संस्थाको सहयोगमा हामीले क्यालेन्डर प्रकाशन गरेकाले सहयोग गर्ने संस्था, व्यक्तिको नाम र ठेगाना क्यालेन्डरमा उल्लेख गरेका छौँ । हामीले बाह्य सहयोग पाएकाले विद्यार्थीलाई निःशुल्क क्यालेन्डर वितरण गरेका छौँ ।

प्रेसमा बनाउने क्यालेन्डर ढाँचाको आधारमा हाम्रो क्यालेन्डर निकालेका थियौँ । विद्यालयको कार्यक्रम र गतिविधिका तस्विरको प्रयोगबाट क्यालेन्डर निकाल्छौँ । सूचना विभागले सरकारका बिदा तथा दिवस राखेको हुन्छ अन्य क्यालेन्डरमा त्यही बिदालाई हामीले हाम्रो क्यालेन्डरमा समावेश गर्यौँ । क्यालेन्डर निर्माण गर्दा शिक्षकहरू बसेर कुन दिन के कार्यक्रम गर्न उपयुक्त हुन्छ भन्ने विषयमा छलफल गरेर मात्र कार्य योजना निर्माण गर्छौँ ।

हामीले विद्यालय र कक्षाकोठाको भित्तामा टासिएको जस्तै गरी क्यालेन्डरमा पनि प्रेरणात्मक भनाईहरू राख्न सकियो भने त्यो फुलमा सुगन्ध भरेझै हुन्छ । क्यालेन्डरमा त्यो पहिलो वर्षको अनुभव भएकाले पनि क्यालेन्डरमा उत्प्रेक भनाई राख्ने भन्दाभन्दै छुट्न गयो । यो वर्ष भने राखेका छौँ । हामी वैशाखको १५ गतेभित्र विद्यालय क्यालेन्डर वितरण गर्छौँ ।

पहिला कागजमा कार्ययोजना विद्यार्थीहरूलाई दिँदा उनीहरूले हराउने र पुनः सूचना दिइरहनुपर्ने हुन्थ्यो र सूचना दिन ढिलो हुँदा तयारी नपुगेको र त्यति व्यवस्थित नभएको महसुस गरे । तर अघिल्लो वर्ष हामीले क्यालेन्डरकै स्वरूपमा कार्ययोजना बनाएर प्रकाशन गरेपछि हामीलाई धेरै सहज भएको छ ।

क्यालेन्डर वितरण पश्चात विद्यार्थीहरूमा निकै परिवर्तन आएको छ । उनीहरूमा अतिरिक्त क्रियाकलापमा सहभागी हुनुपर्ने भावना जागृत भएको छ । क्यालेन्डरमा कार्यक्रम राखिदिँदा विद्यार्थीहरूले पनि त्यहि अनुसार तयारी गरेर आउँछन् । उनीहरू आफै भन्छन् ‘आज यो कार्यक्रम’ भनेर । त्यस्तै पहिलाको तुलनामा विद्यार्थी सहभागीता पनि बृद्धि भएको छ ।

पहिला शुक्रबार अतिरिक्त क्रियाकलापलाई नियमितता दिन केही बाधाहरू हुने गर्थे । पछि शुक्रबार ४ बजेसम्म अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई लगाइनुपर्ने भन्ने अवधारणा आएपछि अतिरिक्त क्रियाकलाप शुक्रबार गराउने र अतिरिक्त क्रियाकलाप नभएकोमा ४ बजेसम्म पूरा कक्षा गराउने गरिएको छ ।

क्यालेन्डर प्रकाशन मात्र गरेमा त्यो स्कुल राम्रो भन्ने हुँदैन । त्यसमा अतिरिक्त क्रियाकलाप, अभिभावक बैठक, व्यवस्थापन समिति बैठक र शिक्षक बैठक समावेश भएको हुनुपर्छ ।

प्रिन्सिपल, भक्त विद्याआश्रम मावि,
रक्तकाली, काठमाडौं

:146 Views

Leave a Reply