गुणस्तरीय शिक्षणको गुरु योजनाः पाठ योजना

पाठ योजना बनाउनु भनेको शिक्षक–शिक्षिकाहरू शिक्षण गर्न तयार हुनु हो । एक पाठ योजना एक विशेष पाठ सञ्चालनका लागि शिक्षकको मार्गनिर्देशन हो । यो शिक्षकको शिक्षा दर्शनसँग सम्बन्धित छ । कक्षाकोठामा कुन समयमा के गर्ने जस्तै यो समयमा शैक्षिक सामग्री प्रयोग गर्छु, यो बेलामा म प्रश्न गर्छु, भन्ने शिक्षकले गर्ने क्रियाकलापलाई क्रमबद्ध राखिएको हुन्छ । सामान्यतया कक्षागत र विषयगत रूपमा सिकाउन शिक्षकले प्रत्येक दिनको पाठ योजना बनाएका हुन्छन् । पाठयोजनालाई केही शिक्षकले घरमा बसेर बनाउँछन् भने केहीले विद्यालयमा आफ्नो फुर्सदको समयमा ।
विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनमा शिक्षकको महत्वपूर्ण भूमिका हुने भन्दै शिक्षा संकायका प्रतिस्थित प्राध्यापक सिद्धिरत्न शाक्य भन्छन्, ‘एउटा शिक्षकले पाठ योजना नबनाई पढाउनु भनेको शिक्षालाई बिगार्नु हो । विदेशतिर भित्तामा टाँसिएको हुन्छ, ‘यदि विद्यार्थीले सिकेका छैनन् भने शिक्षकले पढाएको छैन ।’ यसको अर्थ विद्यार्थी फेल भए भने त्यो शिक्षकले फेल गराएको हो । पढाईमा कमजोर विद्यार्थीको बारेमा जानकारी हुँदा पनि उसले थप सहयोग किन गरेन भन्ने प्रश्न उठ्छ । त्यसका लागि शिक्षकले पाठ योजना बनाएर अगाडि बढ्नुपर्छ ।’
उनका अनुसार अमेरिका, फ्रान्स, जापानलगायत अधिकांश देशमा र अन्तराष्ट्रियस्तरमा शिक्षाशास्त्र पढेका मात्र शिक्षक हुन पाउँछन् । त्यसमा पनि प्राथमिक कक्षालाई पढाउन प्राइमरीमा नै विएड र माध्यमिक पढाउनलाई माध्यमिकतहमै बिएड गरेको हुनुपर्ने नियम छ । माध्यमिकमा बिएड गरेकोले प्राथमिक कक्षा पढाउन पाउँदैनन् र प्राथमिक पढेकाले माध्यमिक पढाउन पाउँदैनन् । विद्यार्थीको उमेरअनुसार उनीहरूको मनोविज्ञान फरक हुने हुँदा यी फरक समूहका विद्यार्थीलाई पढाउन सर्वप्रथम उनीहरूको मनोविज्ञान बुझ्नुपर्छ र उनीहरूको मनोविज्ञान बुझ्न फरक फरक तहअनुसारको बिएड अध्ययन आवश्यक रहेको शाक्यको भनाइ छ ।

शिक्षा संकाय पढेका शिक्षकहरूले अध्ययनकै क्रममा पाठ योजनाबारे अध्ययन गर्नुपर्छ । अभ्यास शिक्षणमा जाँदा त्यसको उपयोग पनि गर्छन् । तर अन्य संकायको अध्ययन गरेर शिक्षक हुनेलाई शुरुमा पाठ योजना बनाउन कठिनाई हुने धेरै शिक्षकहरुको अनुभव छ । त्यस्ता कतिपय शिक्षकहरूसँग आफूले पढाउन लागेको विषयमा पर्याप्त ज्ञान हुने तर त्यसलाई विद्यार्थीमैत्री बनाएर कसरी पस्कने वा विद्यार्थीले बुझ्ने भाषामा कसरी प्रस्तुत गर्ने भन्नेबारे कम जानकारी हुने उनीहरूको ठम्याइ छ ।

नेपालमा शिक्षाशास्त्रको संकाय सुरु हुनुपूर्व नै पाठ योजना बनाउन सुरु भईसकेको थियो । शिक्षकहरूले बनाउने कार्य तालिका, वार्षिक कार्य तालिका र पाठ योजना जस्ता विषय शिक्षामा नभई नहुने योजना हुन् ।
शिक्षा संकाय पढेका शिक्षकहरूले अध्ययनकै क्रममा पाठ योजनाबारे अध्ययन गर्नुपर्छ । अभ्यास शिक्षणमा जाँदा त्यसको उपयोग पनि गर्छन् । तर अन्य संकायको अध्ययन गरेर शिक्षक हुनेलाई शुरुमा पाठ योजना बनाउन कठिनाई हुने धेरै शिक्षकहरुको अनुभव छ । त्यस्ता कतिपय शिक्षकहरूसँग आफूले पढाउन लागेको विषयमा पर्याप्त ज्ञान हुने तर त्यसलाई विद्यार्थीमैत्री बनाएर कसरी पस्कने वा विद्यार्थीले बुझ्ने भाषामा कसरी प्रस्तुत गर्ने भन्नेबारे कम जानकारी हुने उनीहरूको ठम्याइ छ । त्यस्तो अवस्थामा त्यस्ता शिक्षकहरूलाई लक्षित गरी विद्यालय वा सम्बन्धित निकाय आफैले गुणस्तरीय शिक्षणको मेरुदण्ड मानिने पाठ योजना बनाउनेबारे प्रशिक्षण नै गर्न आवश्यक रहन्छ । त्यसको लागि सबैभन्दा पहिला त्यस्ता शिक्षकलाई पाठ योजना किन चाहिन्छ, त्यसका फाइदा र उपयोगिताबारे राम्ररी बुझाउन पर्छ । त्यसो गर्न सके शिक्षकहरूले आफूले जानेका विषयवस्तुलाई विद्यार्थीसमक्ष उनीहरूले सहजै बुझ्ने भाषा र शैलीमा पस्कन सक्छन् ।
कुनै पनि पाठको विषयवस्तुमा कति गहिराईसम्म जाने भन्ने कुरा शिक्षकले टुङ्गो नलाएसम्म शिक्षकले के कति पढाउने भन्ने थाहा हुँदैन । मेरो प्रत्येक क्रियाकलाप पाठको उद्देश्य पूरा हुने हुनुपर्छ भन्ने कुरा शिक्षकले सोचेर पढाउँदा त्यसको नतिजा पनि प्रभावकारी बन्ने शिक्षाविदहरू बताउँछन् ।
पाठ योजना पिरियड पिच्छैको बनाइएको हुन्छ । कहिलेकाही भने एउटा पाठ वा विषयवस्तु दुई वा सोभन्दा बढी पिरियड पनि लाग्ने हुन्छ । त्यस्तो समयमा पनि कुन दिन के गर्ने भनेर योजना बनाइएको हुन्छ ।
प्रि–प्राइमरी कक्षामा विद्यार्थीलाई विषय शिक्षणभन्दा ग्रेड शिक्षण गराउनु राम्रो भएकोले यसमा पाठ योजना नभई दैनिक योजना हुने विज्ञहरूको भनाई छ । यसमा एकै जना शिक्षकले विद्यार्थीलाई पढाउने, खेलाउने १ वर्षसम्मको सम्पूर्ण जिम्मेवारी लिएको हुन्छ । आज विद्यार्थीलाई के गराउने भनेर उसले दैनिक योजना बनाएको हुन्छ ।
नयाँबजारस्थित काठमाडौँ लिटल ब्लोजम्स पब्लिक स्कुलको एल.के.जीकी ग्रेड शिक्षिका तथा प्रि–प्राइमरीकी इन्चार्ज पुनम प्रधान प्रि–प्राइमरीमा वार्षिक कार्य योजना बनाएर कतिसम्म पढाउने भनेर निश्चित गर्ने गरेको बताउँछिन् । ‘त्यहि योजना हेरेर एउटा त्रैमासिकमा के के पढाउने भनेर निश्चित गरी योजना बनाउने गरेका छौँ र कुनै एउटा विषय कति दिनभित्र सकाउने भन्ने पनि योजना गर्छौँ ।’ साना नानी बाबुलाई पढाउन अधिकतम शैक्षिक सामग्रीको प्रयोग गर्ने गरेको, केही सामान आफै बनाउने र केही कुराहरू घरबाट ल्याएर पनि देखाउने गरेको र यसरी सिकाउँदा विद्यार्थीले रुचिका साथ सिक्ने गरेको उनको अनुभव छ ।
दैनिक पाठ योजना बनाउनुपूर्व शैक्षिक सत्रको सुरुमा विद्यालयको कार्य दिनलाई हिसाब गरेर कुन पाठलाई कति समय दिने भन्ने पहिले नै संक्षिप्त रूपमा योजना बनाउनुपर्छ । अनि त्यसैको आधारमा पाठ योजना बनाउन सहज हुन्छ । यसरी सुरुमा नै वार्षिक कार्य योजना बनाएमा विषयको सम्पूर्ण पाठहरू शिक्षकले सहज रूपमा अगाडि लान सक्छन् । सबै पाठ सकाउनको लागि वार्षिक कार्य योजनाले मद्दत गर्छ ।

सबिना बानियाँ

:598 Views

Leave a Reply