न राम्रो भौतिक सुविधा, न दरबन्दीको पर्याप्तता तर लोभलाग्दो नतिजा

हरिसुन्दर छुकां / विक्रम सम्वत २०४० सालमा स्थापना भएको भक्तपुर नगरपालिका वडा नं. १, भार्वाचोको गणेश माविले चर्चेको क्षेत्रफल हो, जम्मा १५ आना २ पैसा । त्यही सेरोफेरोभित्र छ, विद्यालयले बनाएको सानाठूला तीन वटा भवन । भवनहरुमा पनि दुईवटा त अझै पनि अधुरै छ, त्यहाँ निर्माण कार्य जारी छ । त्यहीँ छ विद्यार्थी खेल्ने, उफ्रिने खेल मैदान ।

विद्यालयमा क्रमशः बढिरहेको विद्यार्थी संख्यासँग तुलना गर्ने हो भने त्यहाँको भौतिक पूर्वाधार अपर्याप्त छ ।

‘दरबन्दी छैन, सरकारले दिएको छैन, तर पनि हामीसँग टीमवर्क छ, टीम स्पिरिट छ, त्यही स्पिरिटका कारण शैक्षिक योग्यता भएका शिक्षकहरुले कक्षा ९ र १० मा कक्षा लिनुहुन्छ, त्यसैको प्रतिफल हो ।’

 

‘हामीकहाँ रहेका तीन वटा भवनमध्ये एउटामा हलसहित १०, अर्कोमा चार, र एउटा ब्लकमा जम्मा १२ वटामात्र कोठा छन्’ विद्यालयका शिक्षक गणेशराम थुसाले भने, ‘विद्यार्थी संख्याको हिसाबमा कोठा पुग्दैन । भएकै कोठामा पनि अफिस छ, पुस्तकालय छ, ल्याब छ ।’
विद्यालयमा ती भवनहरुमा जम्माजम्मी २६ वटा कोठा रहेको विद्यालयको भनाइ छ ।

विद्यालयमा भौतिकमात्र समस्या छैन, जनशक्तिको पनि समस्या छ । विद्यालयमा भएका कूल १६ दरबन्दीमध्ये बाल विकास कोटामा १, प्राविमा १२, निमाविमा राहत २, दरबन्दीमा २ मात्र छ । विद्यालयमा माध्यमिक तह, कक्षा ९ र १० को पनि कक्षा हुन्छ, तर दरबन्दी विना ।
भौतिकदेखि जनशक्तिसम्मको समस्याले गाँजेको विद्यालयसँग ‘तीतो’ कथा एकातिर छ भने ‘मीठो’ कथा अर्कोतिर । त्यही अर्कोतिरको बलियो कथाले विद्यालयलाई दह्रो बनाएको छ । विद्यालयले एसएलसीदेखि माध्यमिक शिक्षा परीक्षा एसईईमा हासिल गरेको उपलब्धिका हिसाबले भन्न सकिन्छ: ‘न राम्रो भौतिक सुविधा, न दरबन्दीको पर्याप्तता: गतिलो शैक्षिक उपलब्धि गणेशको विशेषता’ ।

माध्यमिक तह सञ्चालनको अनुमति पाएको पहिलो वर्ष २०७१ मै शतप्रतिशतको लोभलाग्दो नतिजा निकालेको गणेशले चार वर्षदेखि त्यो नतिजालाई मर्न दिएको छैन । जसअनुरुप एसईई २०७४ मा पनि विद्यालयबाट सहभागी कूल २२ सै जनाले राम्रो नतिजा हासिल गरे ।
ती विद्यार्थीमध्ये एकजनाले ३.६ जीपिए(चलनचल्तीको भाषामा ए प्लस) भन्दा बढी नै ल्याए भने एक जनाले ए, तीन जनाले बीप्लस, १० जनाले बी, ६ जनाले सी प्लस र १ जनाले सी ग्रेड ल्याए ।

विशेषत: मध्यम वर्गका अभिभावक, दैनिक ज्यालादारी गर्ने अभिभावकका सन्तान पढिरहेको उक्त विद्यालयले दरबन्दी बिनै पनि राम्रो नतिजा ल्याउनुको पहिलो मुख्य कारण टीमवर्क भएको विद्यालयको विश्लेषण छ । एसईईको नतिजा समीक्षाको क्रममा शिक्षक थुसाले भने, ‘दरबन्दी छैन, सरकारले दिएको छैन, तर पनि हामीसँग टीमवर्क छ, टीम स्पिरिट छ, त्यही स्पिरिटका कारण शैक्षिक योग्यता भएका शिक्षकहरुले कक्षा ९ र १० मा कक्षा लिनुहुन्छ, त्यसैको प्रतिफल हो ।’

नतिजाले जहाँ इच्छा, त्यहाँ उपायमात्र नभएर खाने मुखलाई जुंगाले छेक्दैन भन्ने आहान चरितार्थ भएको छ । कम शुल्कमा पनि उत्कृष्ट नतिजा दिन सक्ने विद्यालय बनाउन सकिन्छ भन्ने गणेश मावि, भार्वाचोको नतिजा हेरे पुग्ने देखिएको छ ।

:367 Views

Leave a Reply