दक्षिण अफ्रिकाबाट फर्केका स्काउटको सम्मान

भक्तपुर । विश्व महिला स्काउट संगठनको ‘युथ एक्सचेन्ज साउथ टु साउथ’ (येस—वाइ.इ.एस.एस.) कार्यक्रम अन्र्तगत दक्षिण अफ्रिकी मुलुक केन्या, माडागास्कर र रुवान्डामा ६ महिना स्वयमसेवा गरि फर्केका ३ जना रेञ्जर (युवा महिला) स्काउटलाई बुधबार भक्तपुरमा सम्मान गरिएको छ ।
आन्तरिक द्धन्दग्रस्त दक्षिण अफ्रिकी मुलुक केन्या, माडागास्कर र रुवान्डामा दक्षिण एशियाली मुलुक नेपालबाट ३ जना र बंगलादेशबाट एकजना रेञ्जर स्काउट स्वयमसेवाका लागि ६ महिना अघि त्यता गएका थिए ।
विश्व स्काउट स्कार्फ दिवस १ अगस्टको अवसरमा इ.जि.स्काउट ग्रुप इटाछें भक्तपुरले आयोजना गरेको सम्मान कार्यक्रममा सम्मानित हुने रेञ्जर स्काउटहरुमा इ.जि.स्काउट ग्रुप भक्तपुरकी सुविस्ता ध्वँजु, इन्नोभेटिभ स्काउट क्र्यु ललितपुरकी उपेक्षा रजक र शुभयुग स्काउट क्र्युकी काठमाडौंकी रोशी तामांग छन् । ध्वँजु माडागास्कर, रजक रुवान्डा र तामांग केन्या गएका थिए ।
स्वदेश फर्केका ३ जना रेञ्जर स्काउटलाई इ.जि.स्काउट ग्रुपकी अध्यक्ष सुचिता ध्वँजुले उपहार तथा रोभर लिडर एवम् इ.जि.पायोनियर स्कुलका संस्थापक प्रिन्सिपल विजेन्द्र ध्वँजुले टिका लगाइदिएर सम्मान गरेका थिए ।
२०७२ को विनाशकारी भूकम्पमा स्वयम्सेवा गरेवापत इ.जि.स्काउट ग्रुपकी अध्यक्ष सुचिता ध्वँजु, रोभर लिडर एवम् इ.जि.पायोनियर स्कुलका संस्थापक प्रिन्सिपल विजेन्द्र ध्वँजु, रेञ्जर स्काउट सुविस्ता ध्वँजु र इ.जि स्काउट ट्रुपका ट्रुप लिडर विश्रुत ध्वँजु तथा सोही ग्रुपका स्काउट गुरु रविन्द्र बासुकलालाई कार्यक्रममा भुकम्प पीडित उद्धार पदक प्रदान गरिएको थियो । नेपाल स्काउटका निर्वतमान राष्ट्रिय संगठन आयुक्त देवराज घिमिरेले उनीहरुलाई पदक वितरण गरेका थिए ।
सम्मान कार्यक्रममा वरिष्ठ स्काउट गुरुहरु उमेशलाल नेपाली, भुवनचरण श्रेष्ठ, दिलकृष्ण प्रजापतिका साथै नेपाल स्काउटका पुर्व राष्ट्रिय संगठन आयुक्त देवराज घिमिरे, इ.जि.स्काउट ग्रुपकी अध्यक्ष सुचिता ध्वँजु, रोभर लिडर एवम् इ.जि.पायोनियर स्कुलका संस्थापक प्रिन्सिपल विजेन्द्र ध्वँजु, स्काउट गुरु एवम् पत्रकार बलराम प्यासी, स्काउट गुरु रविन्द्र बासुकला, तथा उद्धारक अरुण सैंजुले आफ्नो जिम्मेवारी पुरा गरि स्वदेश फर्केका रेञ्जर स्काउटहरुलाई वधाइ तथा शुभकामना दिएका थिए ।
कार्यक्रममा दक्षिण अफ्रिकी मुलुक पुगेर फर्केका रेञ्जर स्काउटहरु ध्वँजु, रजक र तामांगले आआफ्नो अनुभव सुनाएका थिए ।

:394 Views

Leave a Reply