शिक्षक सेवा आयोगमा सवा दुई लाख आवेदन, अब फागुन–चैतमा विज्ञापन हुने

काठमाडौं । शिक्षक सेवा आयोगले करिब १३ हजार पदका लागि खुलाएको खुल्ला प्रतिपस्र्धाको परीक्षाका लागि दुई लाख परिक्षार्थीको आवेदन परेको छ ।

प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तह गरी १२ हजार ७ सय ३९ दरबन्दीको पदपूर्तिका लागि विज्ञापन गरेकोमा हालसम्म दुई लाख २५ हजार शिक्षकको आवेदन परेको हो । आयोगले विधानअनुसार ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न २२ हजार ७९ पदका लागि परिक्षा सम्पन्न गरिसकेको छ ।

यसअघि चार पटकसम्म स्थगित भई पाँचौँपटक असार २९ र ३० गते भएको परीक्षामा २३ हजार २ सय ८६ अस्थायी शिक्षकले परीक्षा दिएका थिए । बाँकी, २५ प्रतिशतको खुल्लातर्फ आवेदन गर्न साउन पहिलो सातासम्म समय दिइएको थियो । आयोगले प्राथमिक तहको हकमा ६ वर्षपछि र निमावि तथा माविको तीन वर्षपछि खुल्ला विज्ञापन गरेको हो ।

आयोगका प्रशासकीय प्रमुख तुलसीराम अर्यालले परीक्षामा सहभागी हुन चाहने आवेदकको संख्या ह्वात्तै बढेको बताए । ‘कतिपय जिल्लाको विवरण आउँन अझै बाँकी छ । हालसम्म करिब दुई लाख २५ हजारको आवेदन परेको छ ।’ उनले अघि भने, ‘अझै आवेदकको संख्या बढ्ने सम्भावना देखिएको छ ।’

साथै, अर्यालले शिक्षा क्षेत्रको टाउको दुखाइएको विषय अस्थायी शिक्षकको समस्या सदाको लागि अन्त्य भएको दाबी गरेका छन् ।‘भविष्यमा अस्थायी शिक्षकको समस्या यथावत रहँदैन । हामीले तीन तहमा खुल्ला प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्ने नीति ल्याएका छौँ । चाँडै अस्थायी शिक्षक नै नरहने अवस्था निर्माण गर्नेर्छाै ’ उनले भने ।

लामो समयपछि मात्रै खुलाइएको आयोगबारे बोल्दै उनले भने, ‘अब कार्यतालिका अनुसार फागुन–चैतमा विज्ञापन हुनेछ । हरेक ६ महिनामा रिक्त दरबन्दीमा पदपूर्ति गरिने छ । वार्षिक तीन हजार जनाको रिक्त पदपूर्ति हुनेछ ।’ हालसम्म, आयोग अन्तर्गत १ लाख ७ हजार शिक्षक दरबन्दी रहेको थपलियाले जानकारी दिए ।

आगामी असोज ११ गतेबाट तीन दिनसम्म हुने परीक्षामा प्राथमिक तहको रिक्त दरबन्दी ९ हजार ९ सय ९६ रहेको छ ।

त्यसैगरी, निमावि तहमा १ हजार ६ सय ३५ र मावि तहका १ हजार १ सय ८ जना पद खाली छन् । विज्ञापनमा शिक्षा शास्त्र विषय पढेर शिक्षण अध्यापन अनुमतिपत्र (लाइसेन्स) प्राप्त व्यक्तिले प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरिएको छ ।

:4071 Views

Leave a Reply