स्थानीय पाठ्यक्रम : विद्यार्थी ‘दंग’, शिक्षकलाई ‘बोझ’

भक्तपुर २० साउन । चालू शैक्षिक सत्र २०७५ को बैशाखदेखि भक्तपुर नगरपालिकामा रहेका विद्यालयहरुमा स्थानीय पाठ्यक्रम पढाइ भइरहेको छ ।

कूल १०० पूर्णाङ्कको उक्त पाठ्यक्रम अनुसारको विषय पढ्न पाउँदा विद्यार्थी ‘दंग’ भएका छन् भने पाठ्यपुस्तक विना पढाउनुपर्दा शिक्षक तनावमा छन् । यसले गर्दा कतिपय शिक्षकले यो पाठ्यक्रमलाई ‘बोझ’को रुपमा पनि लिएका छन् ।

नगरपालिकाले आफू मातहत आएको शिक्षाको अधिकारलाई सदुपयोग गर्दै कक्षा १ र ६ मा चार महिनादेखि स्थानीय पाठ्यक्रम पढाइरहेको छ । यो बीचमा विद्यार्थीहरुको पहिलो त्रैमासिक परीक्षा पनि सकिसकेको छ ।

यो पनि पढ्नुहोस् : http://nuwagi.com/?p=839

‘कक्षा प्रभावकारी भएको छ । स्थानीय शिक्षकमार्फतै यो विषय पठनपाठन भइरहेकोले पठनपाठनमा पनि सहज छ’, बासु माविकी प्रधानाध्यापक अम्बिका न्याइच्याईले भनिन्, ‘आफूले सधैँ पूजा आजा गर्ने मन्दिर, खेल्ने पाटी, आफूले देखिरहेको व्यक्तिको बारेमा शिक्षकमार्फत पढ्न पाउँदा विद्यार्थी दंग छन्, त्यो बारेमा बुझ्न पाएकोमा खुसी छन् । उनीहरुमा अझ उत्सुकता बढेको छ ।’

उनले मात्र नभएर शारदा माविक प्रअ रोशनराज तुइँतुइँले पनि स्थानीय पाठ्यक्रमले विद्यार्थीमा राम्रो छाप परेको बताए । पाठ्यक्रम निर्माण कार्यदलका सदस्य समेत रहेका प्रअ तुइँतुइँ कक्षा ६ का विद्यार्थीलाई आफै सो विषय पढाउँछन् । ‘कक्षामा गुरुङ, राई, तामाङ, मगर, लामा, मुसलमानलगायतका भाषाभाषीका विद्यार्थी पनि छन् । उनीहरु स्थानीय हैनन् तर आफू बसिरहेको ठाउँ वरपरको मन्दिर, पाटी, चोकबारेमा बुझ्न पाउँदा खुसी छन् । रमाएका छन् ।’ उनको अनुभव छ ।

स्थानीय पाठ्यक्रमलाई अझ प्रभावकारी बनाउन धेरै स्कुलहरुले ‘प्रोजेक्ट वर्क’ मार्फत् कक्षा सञ्चालन गरिरहेका छन् । प्रभात माविका प्रअ केबी प्रजापति, शारदा माविका प्रअ तुइँतुइँ र जेन्यूइन सेकेण्डरी स्कुलका शिक्षक एवं पूर्व प्रिन्सिपल विश्वबहादुर दुवाल विद्यार्थीलाई ‘प्रोजेक्ट वर्क’ मार्फत् पठनपाठन गराइरहेको बताउँछन् ।

‘नयाँ विषय हो, बढी भन्दा बढी प्रोजेक्ट वर्क दिएर पठनपाठन गराउने अभ्यास भएको छ । त्यसमा पनि विद्यार्थीले रुचि दिएका छन् ।’ उनीहरुको साझा मत छ ।

यो पनि पढ्नुहोस्  http://nuwagi.com/?p=836

शिक्षकलाई भने बोझ

स्थानीय पाठ्यक्रम पढ्न पाएर विद्यार्थी मात्र होइनन्, पढाउने चाँजोपाँजो मिलाउने नगरपालिका र त्यसका ‘मियो’ जनप्रतिनीधि समेत दंग छन् । विद्यार्थी, नगरपालिका र जनप्रतिनीधि दंग भएको बेला पाठ्यक्रममा सारथी मानिएका शिक्षकले भने त्यसलाई ‘बोझ’ का रुपमा पनि लिएका छन् ।

‘पाठ्यपुस्तक छैन, कक्षामा कसरी पढाउने भन्ने चिन्ता छ, पाठ्यक्रममै यसरी पढाउनुपर्छ, यो यो शैक्षिक सामग्री चाहिन्छ भनेर तोकिएको छ, त्यसले गर्दा ती सामग्री जुटाउनै पनि समस्या छ, हामीलाई त दोहोरो, तेहोरो मार छ, बोझ थपिएको जस्तै भा’ छ ।’ एक शिक्षकले भने ।

नगरपालिकाले अहिलेसम्म पाठ्यपुस्तक उपलब्ध गराएको छैन । यसले गर्दा विद्यार्थीलाई गृहकार्य दिन पनि अफ्ठ्यारो अवस्था छ ।

‘अभिभावकलाई बुझाउनै पनि गाह्रो भएको स्थिति छ, अभिभावक किताव र होमवर्क खोज्छन् ।’ नाम उल्लेख नगर्ने सर्तमा शिक्षक भन्छन् ।
पाठ्यपुस्तककै भरमा पठनपाठन गर्ने अभ्यासमा अभ्यस्त शिक्षकलाई यसले निक्कै सकस पनि बनाएको छ । प्रअ तुइँतुइँको अनुभवमा पनि यो पाठ्यक्रम अनुसारको पढाइ गर्न समय अपुग छ । ‘यसले गर्दा अरु विषयलाई थोरै ह्याम्पर भएको छ, प्रोजेक्ट वर्क गराउँदा स्थलगत भ्रमण गराउनै पर्याे, यसले थोरै प्रभाव पारेको छ ।’

प्रभात माविका प्रिन्सिपल प्रजापतिले सामाजिक विषय पढाउने शिक्षकलाई स्थानीय पाठ्यक्रम पढाउने जिम्मा दिइएको बताए । ‘पाठ्यक्रम मात्रले नपुगेको अवस्था छ, पाठ्यत्रपुस्तक भए अझ सहज र कक्षा सञ्चालनमा प्रभावकारी हुने देखिएको छ ।’

प्रअ तुइँतुइँ भन्छन्, ‘पाठ्यक्रममै के के सामग्री चाहिन्छ भन्ने स्पष्ट छ यसैले पाठ्यक्रमको भरमा पनि पढाउन सक्छ । तर शिक्षकलाई शिक्षक निर्देशिका भएको भए अझ सहज हुने देखिन्छ ।’

प्रअ न्याइच्याइँले पाठ्यक्रम अनुसार नगरपालिकाले दिएको केही सन्दर्भ सामग्रीले पठनपाठनमा सहयोग गरेको भए पनि पाठ्यपुस्तककै भरमा पढाइरहेका शिक्षकलाई पाठ्यक्रमको भरमा मात्र पढाउनु पर्दा, पाठ्यक्रमले निर्देश गरेअनुसार गर्नुपर्दा समय नपुगेको भान गर्ने गरेको बताइन् । ‘शिक्षकलाई अझ जागरुक बनाउन, सक्रिय बनाउन स्थानीय पाठ्यक्रमले सघाएको छ ।’ प्रअहरुको मत छ ।

शिक्षक व्यावसायिक भए समस्या समाधान

विश्वबहादुर दुवाल, शिक्षक, पूर्व प्रिन्सिपल, जेन्यूइन सेकेण्डरी स्कुल

हामीकहाँ सत्तरी प्रतिशत शिक्षकसँग पाठ्यक्रम नै हुँदैन । अनि पाठ्यपुस्तकको आधारमा कक्षामा भट्याउँछ । उसको काम सकियो भन्ने मानसिकता छ । उसले अरु केही गर्नुपर्दैन । त्यसले गर्दा पाठ्यक्रमले राखेको उद्देश्य पूरा नहुनु सक्छ । हुँदैन भनेर ठोकवा नगरौं । शिक्षकसँग कम्तीमा पनि पाठ्यक्रम त हुनैपर्छ ।

पाठ्यपुस्तक भएपछि शिक्षकमा एकप्रकारको अल्छीपना बढ्छ । शिक्षकले लाइन बाई लाइन पढाउने अभ्यास बढ्छ भन्ने मानसिकता कतिपयमा छ । व्यावसायिक शिक्षक बन्ने हो भने पाठ्यक्रमको आधारमा मात्र पन पढाउन सकिन्छ । शिक्षक व्यावसायिक हुनु भनेको आफ्नो पेशाप्रति वफादार, इमान्दार हुनु हो, पैसाको पछि लाग्नु भन्ने होइन । म शिक्षक हुँ भन्ने भावनाको हुनुपर्छ शिक्षक, आफ्नो दायित्व के हो भन्ने थाहा हुनुपर्छ शिक्षकलाई । तर हामी कहाँ के भयो भने शिक्षक पेशा भनेको बस स्टेशनमा बस पर्खनेजस्तैमात्र भएको छ । अरु नपाएसम्म मात्र शक्षिण गर्ने प्रवृत्ति हामीकहाँ बढेको छ । त्यो प्रवृत्तिका शिक्षकले त राम्ररी पढाउँदै पढाउँदैन । उसको लागि चाहिँ पाठ्पुस्तक नहुनु चुनौति हो ।

पाठ्यक्रममा पाठ, विषय अनुसार यो यो स्रोत सामग्रीहरु, शैक्षिक सामग्रीहरु प्रयोग गर्ने भनेर राखिएको छ । त्यो कुरा उसले संकलन गर्न सक्नुपर्छ । नगरपालिकाले दिएको शैक्षिक सामग्रीमा मात्र शिक्षक भर पर्नु हुन्न । यदि यो पाठ्यक्रमलाई व्यवस्थित तरिकाले लागू गर्ने हो भने शिक्षकलाई पर्याप्त तालिमको बन्दोबस्त नगरपालिकाले गर्नुपर्छ । स्रोत सामग्रीका आधारहरु तयार गर्नुपर्छ । नगरपालिकाले स्रोत देखाइदिनुपर्छ । शिक्षकलाई बल्छी छ भन्ने त थाहा दिनुपर्यो, त्यो काम नगरपालिकाले गर्नुपर्छ ।

 

:1229 Views

Leave a Reply