‘एक चौथाइ प्रिस्कुलमात्र राम्ररी चलेका छन्’

सूर्यविनायक नगरपालिका वडा नं. ४ दधिकोटका योगेश खड्का प्रिस्कुलमध्ये एक छुट्टै ब्राण्ड बनाउन सफल सेमरक किड्स वन्डरल्याण्डका विभिन्न शाखाहरूका प्रमुख हुन् । समाजशास्त्रमा स्नातकोत्तर अध्ययनरत उनी विगत ७ वर्षदेखि प्रिस्कुलमा दत्तचित्त भएर लागिरहेका छन् । कोटेश्वर, वानेश्वर, भक्तपुरलगायत विभिन्न सात ठाउँमा सेमरक किड्स वन्डरल्याण्डका शाखाहरू खोलेर ती ठाउँ र वरिपरिका बालबालिकाहरूलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गरिरहेको बताउने उनीसँग प्रिस्कुलको अवस्था र समेरकसँग सम्बन्धित रहेर नुवागीका हरिसुन्दर छुकांले गरेको कुराकानी :

शिक्षाको जगको रूपमा रहेको प्रिस्कुलअन्तर्गत थुप्रै ब्राण्डहरू छन्, ती मध्ये सेमरक पनि एक हो । शिक्षाको जगमै हात हाल्नुको कारण के ?

मुख्य कुरा भनेको नयाँ तौरतरिका, शैलीको शिक्षा हामीले विकास गर्न खोजेका हौँ । त्यो तौर तरिकाको शिक्षा भनेको जगदेखि नै ल्याउने हो । कक्षा १, २ बाट शुरु गरेर परिवर्तन ल्याउन सम्भव हुँदैन । नयाँ शैलीको शिक्षाको सुरुवात जगबाटै हुनुपर्ने भएकाले प्रिस्कुलबाटै सुरु गरेका हौँ । हाम्रो त्योभन्दा माथिको कक्षा चलेका स्कूलहरू पनि छन् । मुख्य कुरा त मेरो बढी ध्यान नै प्रिस्कुलमा रह्यो । त्यसो भएर यसैमा लागियो । र अहिले यही विषयमा अलि जानकारी पनि छ ।

हामीले विभिन्न अन्तर्राष्ट्रिय प्रिस्कुल र प्रिस्कुलका ब्राण्डहरूको वेभसाइट सर्च गरी हेर्दा सबैभन्दा बढी प्रभावकारी सेमरक लाग्यो र प्रिस्कुल नै ठीक लाग्यो । मुख्य कुरा जग नै हो, जग नै बलियो नबनाइ हुन्न भन्ने भएपछि लागेको हुँ ।

थुप्रै ब्राण्डहरूमध्ये सेमरक नै किन रोज्नुभयो ?

मुख्य कुरा यसको अन्तर्राष्ट्रिय पाठ्यक्रम छ । यो लेवलको पाठ्यक्रम अन्य ब्राण्डको छैन । यसको एशियामै ५ सयभन्दा बढी शाखाहरू छन् । यसको करिकुलम निक्कै मिहिनेत गरेर, अध्ययन गरेर बनाइएको छ । उनीहरूको काम नै प्रिस्कुलको लागि कसरी राम्रो हुन्छ ? भन्ने विषयमै अध्ययन, अनुसन्धान गर्नु हो । यसको मुख्य कार्यालय भारतमा छ । उनीहरू कसरी हुन्छ प्रिस्कुललाई कसरी प्रभावकारी बनाउने ? मै लागिरहेका हुन्छन् । त्यही भएर यहाँ खेलाइने खेल विधिहरू पनि फरक फरक भइरहन्छन् । दिनदिनै अपडेट गर्ने काम भइरहन्छ ।

सेमरकको ब्राण्ड लिएपछि करिकुलममा हामीले धेरै मेहेनत नै गर्नु पर्दैन । उत्कृष्ट करिकुलम बनाइदिएको छ । त्यो करिकुलमलाई सहजकर्ताले फलो मात्र गरिदिए पुग्छ । बच्चाहरूले टिप्न सक्ने मात्र बनाइ दिए पनि बच्चाको हुनुपर्ने विकास हुन्छ ।

त्यो किसिमको पाठ्यक्रम लागू गराउनका लागि शिक्षकहरूलाई के गराउनुहुन्छ ?

शिक्षकहरूलाई उहाँहरू आफैंले तालिम दिनुहुन्छ, समय समयमा । भारतबाटै आएर तालिम दिने काम हुन्छ । तालिमविनाको शिक्षक सेमरकका कुनै पनि शाखाका छैनन् । पाठ्यक्रममा भएका कुराहरू बच्चाको अगाडि, बच्चाले टिप्न सक्ने तरिकाबाट शिक्षकहरूले सिकाउनुहुन्छ, पढाउनुहुन्छ । त्यो जिम्मेवारी शिक्षकको हो । त्यसका निम्ति हामी अनुगमन गर्ने काम गरिरहन्छौँ । सल्लाह, सुझाव दिने काम गरिरहन्छौँ । शिक्षकहरूको पनि परीक्षा लिन्छौँ । विद्यार्थीहरूको पनि चारचार महिनाको फरकमा परीक्षा हुन्छ । शिक्षकहरूले परीक्षा, दैनिक पठनपाठनका क्रियाकलापबाहेक अतिरिक्त क्रियाकलाप पनि गराइरहेका हुन्छन् । फरक हिसाबले सेमरक चलिरहेको छ ।

सेमरकबारेका जानकारीहरू आम अभिभावकहरूसमझ कसरी पुर्याइरहनु भएको छ ?

सेमरक आफैंमा प्रभावकारी छ । त्यो कुरा हामी बच्चालाई जसरी शिक्षा दिन्छौँ नि, त्यसको नतिजा अभिभावकले जुन देख्नुहुन्छ, नतिजा जुन अभिभावकसम्म पुग्छ नि । बच्चाले जसरी बोल्छ, उसले विभिन्न क्रियाकलाप गर्छ, उसले बोल्ने भाषा आदिले पनि बच्चाहरूमा आएको परिवर्तनलाई अभिभावकहरू आफैंले बुझ्नुहुन्छ । हाम्रो चेन स्कुल हुनुको फाइदा के छ भने यहाँको बच्चा केही गरी बसाइसरी अन्तै गए पनि अन्त पनि हाम्रो शाखा छ । हाम्रो किताब एउटै चल्छ, ब्याग एउटै चल्छ । अर्को स्कुलमा जान पनि सहज छ, बीचमा गए पनि सहज छ ।

६/७ वर्ष तपाईँले यही बालविकासकै क्षेत्रमा लगाउनु भयो ?

हजुर, यो बीचमा यति अध्ययन गरियो कि वेभसाइटदेखि कसरी पढाउने, कस्ता बच्चालाई कसरी सम्झाउने ? लगायतका विषयमा पनि ध्यान दिइयो । सबैभन्दा राम्रो पाटोको रूपमा यो स्कुलमा व्यवस्थापन(म्यानेज्मेन्ट) छ । यति राम्रो कक्षामा वातावरण बनाउँछौँ कि त्यहाँ बच्चा रमाओस् । फेरि शिक्षक राख्दा पनि हामी त्यति नै ध्यान दिन्छौँ । पैसाको लोभ गर्दैनौँ । आधा वर्षको लागि इन्चार्ज अर्को शाखाबाट ल्याउँछौँ । स्कुलको गेट, रिसेप्सन, कक्षादेखि सबैतिर हाम्रो व्यवस्थापन बालमैत्री छ । बालबालिकासम्बन्धी अभिभावकका कुनै गुनासो आएको छ भने, त्यसलाई हामी तत्कालै समाधान गरेर पठाउँछौँ । त्यो काम इन्चार्जले गर्नुहुन्छ ।

आफूले त पढ्न पाइएन, कम्तीमा पनि बालबालिकालाई राम्रो स्कुलमा पढाउनुपर्छ, भन्ने अर्थमा सामान्य ज्यालादारी काम गर्नेदेखि लिएर सरकारी, गैरसरकारी संस्थाको राम्रो पदमा काम गर्नेहरूले समेत शिक्षा राम्रो लगानी गर्न थालिसकेको अवस्थामा सेमरक चाहिँ कस्ता अभिावकका लागि लक्षित हो त?

लक्षित त हामीले सबैलाई नै गरेको हो । तर, त्यो भन्दैमा सबैको एउटै अवस्था छैन, स्टाटस एउटै छैन । नेपालमा कमाइ पनि फरक फरक छ । हामीले दिने सुविधाहरूका अनुसार शुल्क तोकिएका हुन्छन् । त्यो हिसाबले सुविधा दिएको आधारमा शुल्क लिनैपर्छ । त्यो शुल्क लिँदा आर्थिक अवस्था अलिकति कम र ठीकै भएकालाई अलि गाह्रै हुन सक्छ । औसत कमाइ भएकासम्मले सेमरक रोज्न सक्छन् ।

लगानीको हिसाबले कति खर्चिलो छ?

खर्चिलो छ । शिक्षक राम्रो राख्यो भनेमात्र विद्यार्थीले राम्रो शिक्षा पाउने हो, मैले कुनै शिक्षकलाई महिनामा २० हजार दिएर राख्छु र कुनै शिक्षक ६ हजारमा राख्छु भने २० हजार पाउने शिक्षकले जुन प्रकारको शिक्षा दिन्छ, ६ हजारले नदिन सक्छ

नि । राम्रो शिक्षकका लागि लगानी त गर्नैपर्ने हुन्छ । यहाँ १० विद्यार्थी बराबर  एक शिक्षकको बन्दोबस्त भएकाले पनि खर्च बढी जान्छ । त्यही किसिमको सुविधा र वातावरण हुने भएकाले पनि खर्च ज्यादा हुन्छ ।

नेपाल वा काठमाडौं उपत्यकामा जति पनि प्रिस्कुलहरू छन्, तिनीहरूको अवस्थालाई तपाईँ कसरी मूल्यांकन गर्नुहुन्छ ?

प्रिस्कुलहरू भनेर स्टडी गरेर खोल्ने २५ प्रतिशत हुन्छन्, बाँकी चाहिँ लहलहैमा खोलेका छन् । लहलहैमा खोले पनि पछि सुधार गर्नेहरू पनि छन् । आफूले खोलेपछि चलाउन सक्छु भन्ने कन्फिडेन्स जुन हुन्छ नि त्यो, चाहिँ मात्र २५ प्रतिशतमा मात्र छ । कति प्रिस्कुलहरू त बन्द नै पनि भइसकेका छन् । समय अनुसार अपडेट हुन नसकेर । खोल्दैमा मात्र त चल्ने होइन, त्यसको लागि त प्रत्येक बेलामा अपेडट हुनुपर्छ, कमजोरी सुधार्दै जानुपर्छ । बच्चाले पाउने शिक्षादेखि, अभिभावकले पाउने सन्तुष्टिदेखि, त्यसको ब्राण्डिङदेखि सबै कुराले प्रभाव पारिरहेको हुन्छ । त्यही भएर जुन हिसाबले प्रिस्कुल चलेका छन्, त्यसमा  २५ प्रतिशत मात्र राम्रो चलेका छन् । ५० प्रतिशत औसतमा चलेका होलान् ।

यो अवस्थामा सन्तुष्टि लिने ठाउँ छ त ?

सन्तुष्टि लिने ठाउँ धेरै छ । काम गर्नुपर्छ, राम्रोसँग । कुनै पनि कामलाई अलि गहिरिएर सोच्नुपर्छ, त्यहीअनुसार काम गर्नुपर्छ । त्यो गर्दा आफूलाई सन्तुष्टि मिल्छ । सन्तुष्टि दिन सक्नुपर्यो, सन्तुष्टि दिए आफूलाई पनि सन्तुष्टि मिल्छ ।

व्यापारिक र व्यवसायिक हिसाबबाहेक शैक्षिक हिसाबले हेर्दा के हामीले बालबालिकाहरूप्रति न्याय गरिरहेका छौँ त ?

बालबालिकाहरूप्रति धेरै नै न्याय भएको छ । बालबालिकालाई न्याय दिने भनेको उचित शिक्षा दिएर हो । हामीले उचित शिक्षा दिएका छौँ कि छैनौँ भन्ने कुरा अभिभावकले भन्ने कुरा हो । अन्य प्रिस्कुलमा पढेका बच्चा र सेमरकमा पढेका बच्चाबीच अलि फरक नै हुन्छ । ऊ विभिन्न कुराहरूमा अगाडि नै हुन्छ । पढाइमा धेरै हैन, थोरै भए पनि फरक छ । यस हिसाबले पनि बच्चाहरूलाई पूरै न्याय भएको छ ।

:430 Views

Leave a Reply