‘अंग्रेजी माध्यमले घोक्न प्रेरित गर्यो’

भक्तपुर । परीक्षण बिना नै विद्यालय शिक्षामा अंग्रेजी माध्यम लाद्दा विद्यार्थीको सिकाइमा नकारात्मक प्रभाव परेको भक्तपुरका शिक्षक तथा प्रअहरुले बताएका छन् ।

शिक्षा पत्रकार समूह र शिक्षानीति तथा अभ्यास केन्द्रको आयोजनामा भक्तपुरमा भएको ‘माध्यम भाषासम्बन्धी अन्तक्र्रिया’ कार्यक्रममा विद्यार्थीलाई जबरजस्ती अंग्रेजी माध्यम लादिएकोमा यसले विद्यार्थीको गुणस्तरभन्दा पनि विद्यार्थीलाई घोकन्ते शिक्षातर्फ वाध्य पारिए झैं भएको शिक्षक तथा प्रअहरुले गुनासो गरेका छन् । अंग्रेजी माध्यममा पढाए पनि विद्यार्थीलाई नेपाली भाषामा नबुझाएसम्म उनीहरुले नबुझ्ने अवस्था भएकोले अंग्रेजी माध्यम व्यावहारिक नभएको उनीहरुको भनाइ छ । त्यसमाथि कतिपय शिक्षक सेवाबाट राम्रो श्रेणीमा पास भएर आएका शिक्षक नै अंग्रेजी माध्यमबाट शिक्षण गर्न नसकेकोबारे प्रअहरुले दुखेसो पोखेका छन् ।

लगभग डेढ दशकदेखि शिक्षण गर्दै आइरहेका शिक्षक शिवराम बोहजूले नेपालको संविधानमा प्रारम्भिक शिक्षा र प्राथमिक तहमा मातृभाषाको माध्यमबाट पढाउनु पर्ने व्यवस्था भएकोमा विद्यालयले सानोमा अंग्रेजी माध्यम र ठूला कक्षामा नेपाली माध्यम ऐच्छिक या अनिवार्यका रुपमा उल्टो विधि अपनाइरहेको बताए । अंग्रेजी माध्यमले विद्यार्थीको सिकाइ कमजोर भएको अनुभव सुनाउँदै उनले भने,‘संयुक्त परीक्षा समितिमा अंग्रेजी माध्यमलाई कक्षा ५ सम्म राख्यो र परीक्षाको प्रश्न पत्र पनि अंग्रेजी माध्यममा गर्दा अब्जेक्टिभ प्रश्नबाहेकका प्रश्नमा विद्यार्थीले लेख्न सकेको देखिएन ।’

चाँगुनारायण नगरपालिका प्रमुख सोमप्रसाद मिश्रले भने अंग्रेजीलाई रोक्न सक्ने स्थिति नरहेको बताए । उनले भने, ‘अंग्रेजीको क्रेज सबैमा बढेको छ । बजारमा जे कुराको आवश्यकता पर्छ, त्यहि अनुसार विकाउन सक्ने तयारी गर्ने हो । अभिभावकले आफ्नो बच्चाले अंग्रेजीमा वस्तुको नाम भनिदेओस् भन्ने चाहन्छन् । हाम्रो नगरको एउटा विद्यालयमा अंग्रेजी माध्यम राख्ने भनेकै वर्ष त्यो विद्यालयमा ११० नयाँ विद्यार्थी भर्ना भए । अंग्रेजी भाषा आवश्यकता वा बाध्यता भन्नुभन्दा पनि यो आवश्यक भएकोले बाध्यता भएको हो । अंग्रेजीलाई रोकेर रोक्न सकिँदैन ।’

मध्यपुर नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले भने माध्यमले भन्दा पनि विद्यालय व्यवस्थापन र विद्यालयका प्रअको जिम्मेवारीले विद्यालय राम्रो हुने र विद्यार्थी गुणस्तर र संख्या राम्रो हुने बताए । ‘सरकारले माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिएता पनि शिक्षक छनोट र विद्यालयको व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई नदिएसम्म विद्यालयका विषयमा स्थानीय पालिकालाई मात्र दोषी ठहराउन सकिदैन,’ उनले भने ।

वागीश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले नेपाली माध्यममा भर्ना हुन आउने विद्यार्थीको संख्या एकदमै कम रहेको बताए । आफ्नो विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउँदा राम्रो नतिजा आएको अनुभव सुनाए । अंग्रेजी माध्यमबाट पढाउनका लागि शिक्षक सेवा आयोगबाट उत्कृष्ट भएका शिक्षकले पनि अग्रेजी माध्यमबाट पढाउन मुस्किल भएकाले निमाविका शिक्षकलाई प्राविमा सार्नु परेको आफ्नो भोगाइ उनले सबैसामु बताए ।

माउन्ट भ्यूका प्रिन्सिपल राजकुमार महर्जनले निजी विद्यालय अगाडि हुनुको कारण अंग्रेजी माध्यमले मात्र हो र? भन्ने प्रश्नमा सबैले विचार गर्नुपर्ने उल्लेख गरे ।  त्यस्तै चाँगुनारायणको वाल्मिकेश्वर माविका प्रअ खगेन्द्र धमलाले पनि विद्यार्थीको गुणस्तर बृद्धिका लागि माध्यम समस्याको रुपमा नरहेको स्वीकारे । त्यसका लागि शिक्षक जिम्मेवार र विद्यार्थी लगनशील हुनुपर्नेमा उनले जोड दिए ।

शिक्षाकर्मी टिका भट्टाईले कार्यक्रमको समीक्षा गर्दै भाषा माध्यम मात्र नभई यसमा ज्ञान र शिक्षा हुने बताए । ‘अहिले अंग्रेजी माध्यमको कुरा पानीको फोका जस्तै आइरहेको छ । हामीले अभिभावकलाई नजिकै गएर सोध्ने हो भने अभिभावकले आफ्नो बच्चाले अंग्रेजी मात्र जानोस् भन्नुहुन्न, उहाँहरुले आफ्नो बच्चाले अंग्रेजी, नेपाली र आफ्नो मातृभाषा पनि जानेको मनपराउनु हुन्छ । अभिभावकहरु सकेसम्म धेरै भाषा सिक्नेमा सहमत हुन्छन् । अंग्रेजी माध्यमका कारण हाम्रो सिकाइ घोकन्ते भइरहेको कुरा घत लाग्यो । साँच्चै विद्यार्थीलाई कमजोर भाषाबाट पढाउँदा उसको शिक्षण पनि कमजोर हुन्छ ।’

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, शिक्षा शास्त्र केन्द्रीय विभागका डा. प्रेम फ्याकले ‘अंग्रेजी माध्यममा शिक्षाः सिद्धान्त, सोच र शिक्षण–सिकाइमा प्रभाव’ विषयमा प्रस्तुती दिएका थिए ।

:596 Views

Leave a Reply