अध्ययन भन्छ, ‘विद्यार्थीलाई स्कूलमा मोबाइल फोन बोक्न प्रतिबन्ध लगाउनु’

माध्यमिक कक्षाका विद्यार्थीहरूमाझ गरिएको एउटा सर्भेअनुसार अभिभावकहरूको बढीभन्दा बढी समय मोबाइलमा झुण्डिने बानीले पारिवारिक जीवनमा नराम्रो असर पुर्याउने गरेको देखिएको छ । ११ देखि १८ वर्ष उमेर समूहका विद्यार्थीहरूमाझ गरिएको सर्भेमा यो देखिएको हो ।

दुई हजारभन्दा बढी विद्यार्थीहरूले आफ्ना अभिभावकहरूले लगातार मोबाइल प्रयोग गर्ने गरेका तर आफूले त्यही काम गर्दा नराम्रो मान्ने गरेको देखिएको हो । यस किसिमको व्यवहार आफूलाई चित्त नबुझ्ने विद्यार्थीहरूको टिप्पणी थियो । सर्भेमा भाग लिएकामध्ये १४ प्रतिशतले आफ्ना अभिभावक खाना खानेबेलामा समेत मोबाइलमा इण्टरनेट चलाइरहने भनी गुनासो गरेका थिए । यस कुरालाई भने ९५ प्रतिशत अभिभावकहरूले अस्वीकार गरेको अर्को एक सर्भेमा देखिएको छ । तीन हजार अभिभावकमाझ गरिएको सर्भेमा उनीहरूले आफू खाना खाने बेलामा कहिल्यै अनलाइन नहुने जनाएका थिए । यो शोध ‘डिजिटल अवेयरनेस युके एन्ड द हेडमास्टर्स एन्ड हेडमिस्ट्रेस कन्फ्रेन्स’ले गरेको थियो ।

सो शोधअनुसार ८२ प्रतिशत बालबालिकाले खाना खाँदा मोबाइल अथवा अन्य डिभाइस प्रयोग गर्नु हुँदैन भन्ने सोच्छन् । २२ प्रतिशत भन्छन्, ‘ मोबाइल प्रयोगका कारण पारिवारिक मिलन तथा सँगै गरिने हाँसखेल बन्द हुन थाल्यो ।’ ३६ प्रतिशत बालबालिकाले आफ्ना अभिभावकलाई फोन नचलाउन आग्रह गरे । जुन बालबालिकाले आफ्ना बुवाआमालाई मोबाइल छोड्न भनेका थिए, ४६ प्रतिशतका बाउआमाले ती कुरामा ध्यान नदिएको र ४४ प्रतिशतले आफू दुःखी र उपेक्षित महसुस गरेको बताएका थिए । उता १० प्रतिशत बाबुआमाले भने आफ्ना सन्तानले गरेको गुनासोमा आफू गम्भीर भएको बताएका थिए ।

त्यस्तै ४३ प्रतिशतले आफूहरू निकै समय अनलाइन बस्न थालेकोमा ग्लानी हुन थालेको बताएका थिए । ३७ प्रतिशत अभिभावकले सप्ताहान्तमा तीनदेखि पाँच घण्टा अनलाइन बस्ने गरेको स्वीकारेका थिए भने ५ प्रतिशतले सप्ताहान्तमा १५ घण्टासम्म अनलाइन हुने गरेको बताएका थिए ।

अघिल्लो वर्ष यसै शोध टोलीले गरेको एक शोधमा विद्यार्थीहरूमध्ये अधिकांशले राति उठेर बारम्बार आफ्नो मोबाइल चेक गर्ने गरेको देखिएको थियो । यस्ता विद्यार्थीले विद्यालयमा उति राम्रो परिणाम ल्याउन नसकेको पनि शोधकर्ताको धारणा थियो । नयाँ शोधअनुसार लगभग ७२ प्रतिशत विद्यार्थीले दिनमा तीनदेखि १० घण्टासम्म अनलाइन बस्ने गरेको देखिएको छ ।

अधिकांश समय अनलाइन भएका कारण आफ्नो निद्रा नपुग्ने गरेको समेत उनीहरूको स्वीकारोक्ति थियो । १० प्रतिशत विद्यार्थीले आफू राति अबेरसम्म अनलाइन हुने गरेकाले राम्रोसँग निद्रा पूरा नहुने स्वीकारेका थिए ।

शोधकर्ताहरूका अनुसार स्कूलमा विद्यार्थीलाई मोबाइल फोन बोक्न दिनु भनेको उनीहरूको ध्यान भंग गराउनु तथा पढाइमा अवरोध पुर्याउनु हो ।

केन्टस्थित अक्सफोर्ड स्कूलका प्रधानाध्यापक माइक बुकानन भन्छन्, ‘ अभिभावक, शिक्षक र विद्यार्थीले मोबाइल प्रयोग गर्नेबारे एउटा नयाँ नियममा बाँधिनु आवश्यक छ । यो हाम्रो जीवन, विद्यालय र खेलको अभिन्न अंग त भएको छ नै, यसले गम्भीर असरसमेत पार्न थालेको छ ।’ सर्भेक्षणले के समेत देखाएको छ भने बालबालिकाले प्रविधिको अति बढी प्रयोग गर्दाका खतराबारे उनीहरू जानकार त छन् तर सँगैमा उनीहरूलाई लगातार यसको खतराबारे जानकारी गराइरहनु पर्ने समेत देखिएको शोधमा देखिएको छ ।

‘डेलीमेल’ नामक पत्रिकाका अनुसार विद्यार्थीहरूलाई स्कूलमा मोबाइल फोन बन्देज गर्नु अनिवार्य छ । विद्यार्थीहरूलाइ विद्यालयमै मोबाइल फोन बोक्न दिँदा उनीहरूको ध्यान पढाइप्रति भन्दा पनि मोबाइलप्रति नै केन्द्रित हुने र फोन र इन्टरनेटमार्फत गलत क्रियाकलापतर्फ समेत लाग्ने भय अभिभावक तथा शिक्षकहरूमा रहने गरेको छ । धेरैको अनुभवले पनि यो देखाएकै हो ।

तर पछिल्लो पटक यस विषयमा एक अनुसन्धान नै भएको छ र उक्त अनुसन्धानले मोबाइल फोनलाई स्कूलमा किन प्रतिबन्ध लगाउनुपर्छ ? भन्ने कुराको दह्रिलो तर्क पेश गरेको छ ।

अमेरिकाको युनिभर्सिटी अफ टेक्सास र लुसियाना स्टेट युनिभर्सिटीका शोधकर्ताहरूले गरेको अध्ययनअनुसार विद्यार्थीहरूलाई स्कूलमा मोबाइल फोन बोक्नमा प्रतिबन्ध लगाउनु भनेको वर्षमा थप ५ दिन पढाइ हुनु सरह हो । अर्थात् विद्यार्थीहरूले स्कूलमा मोबाइल फोन चलाउँदा एक शैक्षिक सत्रमा पूरै ५ दिन मोबाइल फोनमा बिताउने गरेका छन् । स्कूलहरूले विद्यार्थीहरूलाई मोबाइल फोनमा बन्देज लगाउनु भनेको हरेक शैक्षिक सत्रमा थप पाँच दिन कक्षा संचालन गर्नु सरह रहेको शोधकर्ता बताउँछन् ।

शोधकर्ताहरूका अनुसार स्कूलमा विद्यार्थीलाई मोबाइल फोन बोक्न दिनु भनेको उनीहरूको ध्यान भंग गराउनु तथा पढाइमा अवरोध पुर्याउनु हो । स्कूलमा मोबाइल फोन प्रतिबन्ध लगाउँदा विद्यार्थीहरूको परीक्षाफलमा पनि सुधार हुने गरेको शोधकर्ताहरूको निष्कर्ष रहेको छ । नयाँ प्रविधिले व्यक्तिको उत्पादकत्व तथा कार्य सम्पादनस्तरमा वृद्धि गर्ने सामान्य सोँचाइ हुने गरेको भएपनि सबै अवस्थामा त्यस्तो नहुने शोधकर्ता रिचार्ड मर्फी बताउँछन् ।

उनका अनुसार जब प्रविधिहरू बहुउद्देश्यीय हुन्छन्, जस्तै मोबाइल फोन, तब ती ध्यान भंग गर्ने तथा अवरोध सिर्जना गर्ने खालका हुन्छन् । शोधकर्ताहरूले बेलायतका मुख्य चार सहरका ९१ वटा स्कूलमा अध्ययन गरेका हुन् । मोबाइल फोनको प्रयोग सम्बन्धि कडा नियम लागु गर्नुअघि र पछि विद्यार्थीमा परेको प्रभावका विषयमा विश्लेषण गरिएको थियो ।

सन् २००१ देखि २०१३ सम्म गरिएको अध्ययनका क्रममा मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाउँदा विद्यार्थीहरूको परीक्षाको अंकमा औषतमा ६.४१ प्रतिशतले वृद्धि भएको पाइयो । मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाउँदा विद्यार्थीहरूले माध्यमिक तहको परीक्षा उत्तीर्ण गर्ने सम्भावना २ प्रतिशतले बढ्ने गरेको देखिएको छ ।

यद्यपि मोबाइल फोनमा लगाइने प्रतिबन्ध उच्च क्षमतायुक्त विद्यार्थीका लागि भने खासै अर्थपूर्ण नहुने देखिएको छ । कक्षामा पढाइमा अब्बल दर्जाका विद्यार्थीहरूमा आत्मसंयम् बढी हुने र उनीहरूले मोबाइल फोन आफै पनि बढी नखेलाउने हुँदा प्रतिबन्धले उनीहरूमा कुनै प्रभाव नपार्ने शोधकर्ताहरू बताउँछन् । तर मध्यम तथा न्युन स्तरको पढाइ तथा सिकाइ क्षमता भएका विद्यार्थीहरूका लागि भने मोबाइलमा गरिने बन्देज निकै अर्थपूर्ण हुने र यसले उनीहरूको सिकाइ तथा बुझाइ प्रक्रियामा सकारात्मक प्रभाव पार्ने बताइएको छ ।

स्मरण रहोस् सन् २०१२ कै तथ्यांकअनुसार बेलायतका ९० प्रतिशतभन्दा बढी किशोर किशोरीहरूसँग मोबाइल फोन रहेको छ । त्यस्तै ७३ प्रतिशत अमेरिकी किशोर किशोरीहरू मोबाइल फोन बोक्दछन् ।

:652 Views

Leave a Reply