अभिभावकलाई के पढाउने?

अभिभावक नै बालबालिकाको पहिलो शिक्षक हुन् । भनिन्छ सुनेको कुराभन्दा देखेको कुरा छिटो सिक्न सकिन्छ । त्यस्तै बालबालिकाले आफ्नो वातावरणबाट छिट्टै सिक्ने गर्दछन् । बाबुआमा नै घरमा द्वन्द्व तथा झगडा गर्ने गरेका छन् भने त्यसको सिको केटाकेटीमा पनि पर्छ । यदि बुबाआमा घरमा जाँडरक्सी खाने, होहल्ला गर्ने गर्छन् भने त्यही स्वभाव केटाकेटीले पनि टिप्छन् । त्यसैले केटाकेटीप्रति सचेत रहि बालबालिकाको अगाडि गर्न नहुने व्यवहार र गर्नुपर्ने निश्चित व्यवहारलाई समेटेर र विद्यार्थीको शिक्षा राम्रो बनाई उज्यालो भविष्य निर्माणका लागि अभिभावकलाई शिक्षा दिनु आवश्यक छ ।

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी भन्छन्, ‘सबै अभिभावकले राम्रो अभिभावक हुन जानेको हुँदैन । त्यसकारण बच्चाहरूले राम्रो माया र स्नेह पाएको हुँदैन । घरमा राम्रो हेरचाह पाएको र स्कुलमा पनि राम्रो व्यवहार पाएका बच्चाहरू असल हुन्छन् । घरमा आमाबुवा झगडा गरिरहने गर्दा त्यसको असरले बच्चाहरू पनि बिग्रने हुन्छ । एउटा बच्चाले जन्मेदेखि नै अभिभावकको व्यवहारलाई अवलोकन गरिरहेको हुन्छ । अभिभावकको प्रत्येक जानेर या नजानेर गरेको व्यवहारले बालबालिकालाई प्रत्यक्ष या अप्रत्यक्ष रूपमा असर गरिरहेको हुन्छ । आमाबुवाबीचको माया, स्नेह र राम्रो व्यवहारबाट बालबालिकाले पनि राम्रा कुराहरू सिकिरहेका हुन्छन् ।

बदलिएको समय परिस्थितिमा अभिभावकको दायित्व र व्यवहार पनि परिवर्तन हुन आवश्यक छ । यसैलाई ख्याल गरेर अभिभावकसमेतलाई पढाउनुपर्ने आवश्यकता हाल विद्यालयले महशुस गरेर अभिभावक शिक्षा कार्यक्रम नै गर्दै आइरहेका छन् । तर सबै विद्यालयले उपयुक्त अभिभावक शिक्षा दिन सकेका छैनन् ।

नजिकैको स्कुलले अभिभावक भेला पारेको देखेर आफूले पनि त्योभन्दा धेरै अभिभावक भेला गर्ने होड भने धेरै स्कुलहरूबीच चलेको छ । उनीहरूको त्यो भेलालाई कसरी उपयोगी बनाउने, विद्यार्थीको उच्चतम सिकाइका लागि उनीहरूको सहयोग कहिले कसरी लिने भन्ने बारे उनीहरूसँग छलफल गर्न सके अभिभावकहरूको समय र शक्तिको सही उपयोग हुने जानकारहरू बताउँछन् । त्यसैले अभिभावक शिक्षाको नाममा अभिभावक भेला पार्ने कामलाई निरुत्साहित गरी विद्यालयले आफू अनूकुल अभिभावक शिक्षाको योजना बनाइ कार्यक्रम गर्न पर्छ । उनीहरूलाई के पढाउनुपर्छ भन्ने विषयमा पनि विद्यालय जानकार हुनुपर्छ । यसका लागि विज्ञहरू बोलाउन सकिन्छ, असल र उदाहरणीय अभिभावकहरूकै कुरा पनि अरु अभिभावकसँग बाँड्न सकिन्छ । यो काम अभिभावक संघ वा विद्यालय मात्रको नभइ सरकार, स्थानीय पालिकाको पनि हो ।

सबै विद्यालयले उपयुक्त अभिभावक शिक्षा दिन सकेका छैनन् । नजिकैको स्कुलले अभिभावक भेला पारेको देखेर आफूले पनि त्योभन्दा धेरै अभिभावक भेला गर्ने होड भने धेरै स्कुलहरूबीच चलेको छ । उनीहरूको त्यो भेलालाई कसरी उपयोगी बनाउने, विद्यार्थीको उच्चतम सिकाइका लागि उनीहरूको सहयोग कहिले कसरी लिने भन्ने बारे उनीहरूसँग छलफल गर्न सके अभिभावकहरूको समय र शक्तिको सही उपयोग हुने जानकारहरू बताउँछन् ।

अरुणोदय माध्यमिक विद्यालयका प्रअ कृष्णप्रसाद नेपाल भन्छन्, ‘कति अभिभावकले बालबालिकाको लागि घरमै खाजा नबनाइदिने र उनीहरूलाई पैसा दिएर मन लागेको किनेर खानू भन्ने गरेको पाइन्छ । यसले गर्दा धेरै बालबालिकाहरूमा जंक फुड खाने लत बसेको छ । स्वास्थ्यका हिसाबले निकै हानिकारक मानिने जंक फुडको समस्या हटाउने हामी विद्यालय मात्रले केही हुँदैन । भोकै बस्नुभन्दा केही खानु राम्रो । तर जंक फुड नै खाने वाध्यता भने अभिभावकले पारेका हुन् । त्यसलाई हटाउन अभिभावक सहयोगी हुनुपर्छ । स्कुलले नियन्त्रण गर्न लाग्यो भने उनीहरू भोकै हुन्छन् र बालबालिकाले भोको पेटमा पढ्न सक्दैनन् । बालबालिकालाई समय दिई हेरचाहका लागि सचेत बनाउने र कमजोर विद्यार्थीका लागि थप कक्षाको व्यवस्था गर्ने विषयमा प्रोत्साहन दिन अभिभावकलाई पढाउनुपर्छ ।’ उनी थप्छन्, ‘ विद्यालयमा धेरै विद्यार्थी भएकाले र सबै अभिभावकलाई भेला गर्न हलको व्यवस्था गर्न समस्या हुने रहेछ । यो वर्ष चाहि योजना बनाएर सबै अभिभावकलाई बोलाएर पढाउने सोचेका छौँ । अभिभावकले छोराछोरीप्रति गर्ने व्यवहार, अभिभावकका बाल्यकालमा आफूलाई नरमाइलो लाग्ने व्यवहार आफ्ना नानीबाबुलाई दोहोर्याउँदै हुनुहुन्छ कि, शैक्षिक सामग्री, खाजा र आफ्नो समय उपलब्ध गराउने र सभ्य, शिष्ट र मर्यादित व्यवहार बालबालिकाको अगाडि प्रदर्शन गर्ने विषयमा केन्द्रित रहेर उहाँहरूलाई पढाउने छौँ ।’

जंक फुडको असरका विषयमा अभिभावकलाई शिक्षा दिएपछि अहिले त्यसको प्रयोग न्यून भएको अरुणोदयका शिक्षकहरू बताउँछन् । केही विद्यार्थीेले शैक्षिक सामग्री समयमा नै नल्याउने समस्या पनि हल भएको तथा अभिभावकलाई बेलाबेलामा स्कुल जानुपर्ने रहेछ भन्ने भावना जागृत भई केही अभिभावकहरू समयसमयमा आउन थालेको प्रअ नेपालले जनाए ।

भक्तपुरको सिपाडोलस्थित गणेश माध्यमिक विद्यालयले अभिभावक बैठकमा अभिभावकलाई आफ्नो बच्चाको बारेमा जानकारी गराई उनीहरूले ध्यान दिनुपर्ने कुरा बताउने गरेको छ । आवश्यक परेको अभिभावकलाई पुनः विद्यालयमा बोलाएर के गर्नुपर्ने भन्ने विषयमा जानकारी दिने गरेको बताउँदै विद्यालयकी प्रधानाध्यापक शुभद्रा लघु भन्छिन्, ‘केही अभिभावक आफ्नो सन्तानको स्वास्थ्यबारे समेत सचेत देखिएनन् । त्यस्ता अभिभावकहरूलाई विद्यालयमा बोलाएर हामी सम्झाउने र सल्लाह दिने गरेका छौँ । र एकमुस्ट रूपमा अभिभावक भेला कार्यक्रममा नै उहाँहरूलाई जानकारी दिने गरेका छौँ र यसबाहेक हाम्रो स्कुलमा रोटरी क्लब छ, उहाँहरूले कक्षा १ र २ का विद्यार्थीको अभिभावकसँग कुराकानी गर्ने गर्नुभएको छ ।’

कतिपय अभिभावकहरू आफ्ना बच्चालाई पिट्ने, हप्काउने, तर्साउने गर्नुहुन्छ । त्यस्ता अभिभावकलाई बढी अभिभावकत्व शिक्षाको आवश्यकता हुन्छ । अभिभावक भनेको के हो भन्ने नै बुझाउन आवश्यक छ ।

बच्चाहरूलाई कसरी विद्यालय पठाउनेदेखि लिएर खुवाउने कुरामासमेत सल्लाह सुझाव दिने गरेको उनले जानकारी दिइन् । उनी थप्छिन्, ‘हाम्रा जस्तो गाउँमा भएका विद्यालयहरूका अधिकांश अभिभावकहरू मजदुरीमा लागेको भएर पनि कार्यक्रममा उहाँहरूको सहभागिता कम हुन्छ । उहाँहरू त्यति शिक्षित हुनुहुन्न, त्यसैले उहाँहरूलाई अभिभावक शिक्षा एकदमै आवश्यक छ ।’

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी अभिभावक र शिक्षक दुवैले बालमनोविज्ञान बुझेको खण्डमा बालबालिकालाई सहि व्यवहार गर्न सक्ने बताउँछन् । बच्चालाई कसरी स्याहार सुसार गर्ने, कसरी माया गर्ने, कसरी गृहकार्य गराउने लगायतका निश्चित रूपमा बच्चालाई बिग्रिन नदिन के गर्ने जस्ता कुराहरू उनीहरूलाई सिकाउनुपर्ने बताउँदै उनी भन्छन्, ‘कतिपय अभिभावकहरू आफ्ना बच्चालाई पिट्ने, हप्काउने, तर्साउने गर्नुहुन्छ । त्यस्ता अभिभावकलाई बढी अभिभावकत्व शिक्षाको आवश्यकता हुन्छ । अभिभावक भनेको के हो भन्ने नै बुझाउन आवश्यक छ ।’

अभिभावकलाई पढाउने जिम्मा कसको भन्ने सन्दर्भमा उनी भन्छन, ‘शिक्षा राज्यको दायित्व हो । अभिभावक शिक्षा दिने काम सरकारको हो । जसरी विद्यालयमा विद्यार्थीलाई शिक्षा दिनुपर्छ भनिएको हुन्छ त्यसैगरी सरकारले अभिभावकलाई पनि शिक्षा दिनुपर्छ । अब त केन्द्र, प्रदेश र स्थानीय सरकारले पनि गर्न सक्छन् । अहिले कतिपय नगरपालिका र गाउँपालिकाले पनि अभिभावकलाई बोलाएर यस्तो गर्नुपर्छ भनेर सुझाव तथा शिक्षा दिइरहेका छन् । हामी सरकारसँग अभिभावक शिक्षा आवश्यक छ भनेर माग गरिरहेका छौँ । सकारात्मक सुधारमा अभिभावकको हकहितका लागि शिक्षामा परेका समस्यालाई उजागरण गर्ने काम हामीले गरिरहेका छौँ ।’

अभिभावकलाई यी विषयमा शिक्षा दिनु आवश्यक छः
१. कुन उमेरका बालबालिकालाई कस्तो व्यवहार गर्नुपर्छ
२. अभिभावकले बालबालिकालाई गुणस्तरीय समय दिनुपर्ने
३.विद्यार्थीहरूलाई घरमा पढ्नको लागि शान्त वातावरणमा उपलब्ध गराउन
४. बालबालिकाको स्वास्थ्य र हेरचाह गर्ने
५.
विद्यार्थीलाई खाजापानीको व्यवस्था गरिदिने
६. शैक्षिक सामग्रीको विषय
७. बालालिकाको शारिरीक र मानसिक स्थिति बुझ्ने विषयमा (कतिपय बालबालिकाले सहि काम गरेका छन् कि छैनन्, विद्यालय दिनहुँ आइरहेका छन् कि छैनन् र उनीहरूको शारिरीक र मानसिक अवस्थाका विषयमा)

:1023 Views

Leave a Reply