अब्बल विद्यालयका प्रअको विद्यालय सुधार्ने मन्त्र : ‘इच्छाशक्ति बढाऔं, शिक्षण पेशालाई जागिर नसम्झौं’

आजभन्दा ठीक ७२ वर्ष पहिले स्थापना भएको हो, त्रिपुरेश्वरको विश्वनिकेतन मावि । वि.सं. २०७२ सालको एसएलसीमा २ जना विद्यार्थीहरु आशिष सापकोटा र सक्षम वाग्लेले ४ मा ३.९ जिपिए ल्याएर देशभरिकै सामुदायिक विद्यालयतर्फ सर्वोत्कृष्ट बनेका थिए । वि.सं.२०७३ सालको एसइइमा पनि यस विद्यालयकी रोजिना अधिकारी सामुदायिक विद्यालयतर्फ सर्वोकृष्ट भइन् भने यहाँबाट एसइइमा सहभागी १८४ विद्यार्थीमध्ये १७ जनाको ए प्लस, २६ जनाको ए, अन्य सबैको सी वा त्योभन्दा माथिको जिपिए थियो । भर्खरैको २०७४ को एसइइ नतिजामा पनि परीक्षामा सहभागी १४८ विद्यार्थीमध्ये २० जनाको जिपिए ३.६ माथि रहेको छ । ४७ जनाको जिपिए ३.२ देखि ३.६ छ भने ४५ जनाको जिपिए २.८ देखि ३.२ छ । त्यति मात्रै होइन, कक्षा ११ र १२ मा गत वर्षको उत्कृष्ट नतिजाका कारण सरकारबाट राष्ट्रिय शिक्षा पुरस्कार नै पाउन सफल बनेको छ । सोही विद्यालयको नेतृत्व सम्हालिरहेका प्रअ हेरम्बराज कँडेलसँग नुवागीका हरिसुन्दर छुकांले गरेको कुराकानी :

शिक्षक हुनु र प्रअ हुनुमा के फरक पाउनुभएको छ ?
म एमएस्सी गरेर विज्ञान शिक्षकको रुपमा कार्यरत भएको थिएँ । एउटा शिक्षकको रुपमा यहाँ कार्य गर्दा शिक्षकले आफ्नो विषयवस्तुसँग मात्र केन्द्रित रहेर विद्यार्थीहरुलाई आफ्नो विषयको निर्दिस्त उद्देश्यहरु, लक्षयहरु, आफ्नो विषयमा कसरी सबैलाई उत्तीर्ण गराउने, कसरी राम्रो अंक दिलाउने र कसरी सिकाइ उपलब्धि हासिल गर्ने हुन्थ्यो । जब मैले प्रअको रुपमा जिम्मेवारी सम्हालन थालेँ, म प्रअ भइसकेपछि आफ्नो एउटा विषयमात्र नभएर समग्र विद्यालयको नतिजालाई उत्कृष्ट बनाउनुपर्छ, विद्यालयको प्रअ भनेको एउटा नेता पनि हो, अगुवा पनि हो, प्रशासक पनि हो, व्यवस्थापक पनि हो, एउटा काउन्सिलर पनि हो, मोटिभेटर पनि हो । त्यसकारण हरेक भूमिका निर्वाह गर्नुपर्ने हुनाले स्वभाविक रुपमा शिक्षक र प्रधानाध्यापक हुँदा जमिन, आसमानकै फरक भएको मैले पाएको छु । यहाँ पढाइहुने सबै विषयहरुदेखि लिएर विश्वनिकेतनमा २६ सय विद्यार्थी पढिरहेका छन् । यी सबै विद्यार्थीहरुलाई राम्रो बनाउने अभिभावकहरु, शुभेच्छुकहरु, विद्यार्थीहरु सबैलाई सन्तुष्ट पार्ने, शिक्षक, कर्मचारीहरुको मन जितेर, उहाँहरुको उच्च मनोबल बनाएर काम गर्ने, टीम स्पिरिटको भावनाअनुसार काम गर्नुपर्ने हुँदा प्रअको भूमिका निभाइरहँदा अत्यत्न बोझिलो महशुस गरिरहेको छु ।

तपाइँ शिक्षक चाहिँ किन बन्नुभएको हो, परिस्थितिले वा आफ्नै उद्देश्यले बन्नुभएको हो ?
मलाई सानैदेखि के लाग्थ्यो भन्देखिन् शिक्षक हरेक क्षेत्रमा सामाजिक, आर्थिक रुपान्तरणको लागि महत्वपूर्ण भूमिका खेल्ने भनेको शिक्षा हो, शिक्षक भनेको ज्ञानको ज्योति हो, नेल्सन मण्डेलाले पनि भनेका छन् कि शिक्षा भनेको त्यस्तो हतियार हो, जसले सकारात्मक रुपमा परिवर्तन ल्याउन सक्छ। म एक विज्ञान शिक्षक र पछि त्यसको नेतृत्व पनि लिँदै समग्र शिक्षा क्षेत्रको लागि केही भए पनि इँटा राख्न सकिन्छ कि र देशको शिक्षा क्षेत्रलाई राम्रो बनाउनका लागि केही आफूले सेवा गर्न सकिन्छ कि भनेर सानैदेखि शिक्षक नै बनेर सेवा गर्छु भनेर मलाई लागेको थियो र म एमएसस्सीपछि शिक्षक बनेँ ।
कतिपय एमएस्सी गरेका अन्य साथीहरुले, आफन्तहरुले तिमी यति राम्रो पढ्ने मान्छे किन विदेश जाँदैनौं ? विदेशमा यहाँभन्दा बढी सुविधा हुन्छ, छात्रवृत्ति हुन्छ भन्दा बरु म आफ्नो देशभित्रै शिक्षा हासिल गर्छु, विदेशबाट केही नयाँ कुरा सिक्नका लागि ठीक हुन्छ, तर विदेशै गएर बस्ने ठीक हैन भन्ने मलाई सानैदेखि लाग्थ्यो र मैले यही रुपमा शिक्षक बन्न हौसला मिल्यो ।

एकजना प्रअको सपना कस्तो हुन्छ ?
म जब प्रअ भएँ, त्योभन्दा अघि नै म शिक्षक, कर्मचारी साथीहरुलाई पनि के भन्थे भने हामीले हाम्रा सबै सन्तानलाई यहीँ पढाउनुपर्छ । जसरी कुनै होटलमा त्यहाँका कुकले हामीसँगै बसेर खाना खायो भने त्यहाँका ग्राहकलाई मलाई हाइजेनिक खाना खुवायो भन्ने लाग्छ । हामी विश्वनिकेतनमा हामीकहाँ तालिम प्राप्त शिक्षकहरु, उच्चतम योग्यता पाएका शिक्षकहरु छौं भने हामीले पनि हाम्रा सन्तान यहीँ पढाएर अभिभावकको मन जित्नुपर्छ, अभिभावकलाई चाहिँ हामीकहाँ बच्चा पठाउनुस्, हामी पढाउँछौं, गुणस्तरीय शिक्षा दिन्छौं भन्ने, आफ्ना बालबालिका चाहिँ अन्यत्र निजी विद्यालयहरुमा पढायौं भने कसरी विश्वास गर्छन् ? मैले पनि आफ्नो छोराछोरीलाई यहीँ पढाएँ । यहाँको सहायक प्रधानाध्यापकदेखि शिक्षक, कर्मचारीसम्मले आफ्ना सन्तानलाई यहीँ पढाइहेका छन् । एकजना प्रधानाध्यापकको रुपमा काम गर्दा, विद्यालयले प्राप्त गरेको नतिजा, साथीहरुले गर्नुभएको सहयोग देख्दा अत्यन्त सन्तुष्ट छु, खुसी छु ।
हामीलाई चुनौति भनेको के हो भने हामीकहाँ २६ सय विद्यार्थीहरु छन् । कक्षा ११मा स्थान अभाव हुँदा भर्ना नै बन्द गर्नुपर्यो । अब हामीले प्राप्त गरेको जुन उपलब्धि छ, त्यसलाई टिकाइ रहनका लागि, कायम गर्नका लागि अत्यन्त मेहनत गर्नुपर्छ । हामीकहाँ प्राविधिक विषय छैन । यो कोठा अभाव भएर हो । २०७२ सालको भूकम्प र त्यसपछिका पराकम्पले गर्दा विद्यालयको पुरानो जुद्ध भवन भत्केको छ । भत्किसकेपछि अहिले त्यो भवान निर्माण भइरहेको छ । त्यसलको लागि हामीलाई एडिबीले आर्थिक सहयोग गरेको छ । त्यो भवन पूर्ण भएर त्यहाँ हामीले विद्यार्थीलाई सिफ्ट गर्न चुनौति छ । किनकि अहिले पनि विद्यार्थीहरु टहरामै पढ्न बाध्य छन् । अभिभावकहरुले भने यहाँ अनुशासन छ, यहाँ अँग्रेजी माध्यमबाट पढाइ हुन्छ, भन्ने विश्वासले हामीकहाँ विद्यार्थी पठाएका छन् ।
विद्यालयले गरेको प्राप्त उपलब्धिमा गरे हुने रहेछ, इच्छा शक्ति भयोभ ने, भित्रैदेखि चाहना हो भने बनाउन सकिने रहेछ भन्ने पुष्टि हुँदा राहत र सन्तुष्टि मिलनेको अनुभव गर्छु ।

विश्वनिकेतन त पहिलादेखि नै राम्रो विद्यालयको छवि बनाएको विद्यालय हो, तपाईंले नेतृत्व लिनुभएपछि चाहिँ केके गर्नुभयो ?
यो स्कुल आजभन्दा ७२ वर्षअघि वि. सं. २००३ सालमा जहाँनिया राणा शासनकालमा सुरुवात भएको हो ।त्यो बेला पनि विश्वनिकेतन बोर्ड सेकेण्डदेखि बोर्ड टेनभित्र परिरहन्थ्यो । धेरै राम्रो विद्यालय हो यो । पछि विस्तारै यो स्कुलमा विद्यार्थी, अभिभावकहरुको पनि रुचि घट्न थाल्यो, उनीहरु संस्थागत विद्यालयतिर आकर्षित हुन थाले, त्यसपछि क्रमशः विद्यार्थी संख्या कम हुन थाल्यो । हुँदा हुँदा एकहजार प्लसमा झर्न थाल्यो । त्यो बेला हामी अभिभावक, शिक्षक सबै बसेर के निश्कर्ष निकाल्यौं भने अँग्रेजी माध्यममा पढाउनुपर्ने, नयाँ विषयहरु राख्नुपर्ने, शिक्षक, कर्मचारीका बालबच्चा पनि यहीँ पढाए भने विश्वास जित्न सकिने भन्न थालेपछि अँग्रेजी माध्यमबाट पठनपाठन थाल्यौं । हामीले २०५५ सालबाट नर्सरीमा, २०५६ सालमा १ देखि ३ कक्षासम्म सुरु गर्यौं र २०६७ सालदेखि कक्षा १० सम्म नै अँग्रेजी माध्यमबाट पढाउन थाल्यौं । हामीले आफ्ना बालबच्चा यहीँ पढाउन थाल्यौं । र विद्यार्थी संख्या थामिनसक्नुमा पुगेको हो ।

शैक्षिक सत्र २०७५ मा कक्षा १ देखि कक्षा ९ सम्म यहाँ चारसय विद्यार्थीहरु भर्ना भएकोमा ३ सय ५० जना त प्राइभेट स्कुल छोडेर हामीकहाँ आएका छन् । त्यो बाट हामीलाई के आत्मसन्तुष्टि भयो भने हामीले राम्रो गर्यौं भने त प्राइभेट सुकिहालछ नि, त्यहाँबाट आइहाल्छ नि, त्यसकारण हामी गुणस्तरमा विश्वास गरौं भन्ने हिसाबबाट अघि बढिरहेका छौं । त्यसले गर्दा कक्षा ११ र १२ मा पनि माछा मारेर दिने भन्दा पनि माछा मार्ने सीप सिकाइदिने काम गरिरहेका छौं । विद्यार्थीहरुलाई हरेक कुराहरु प्रयोगात्मक विधिबाट सिकाइरहेका छौं ।हामी नवीनतम शिक्षण विधिलाई यो स्कुलमा प्रयोग गरिरहेका छौं । यहाँ सार्वजनिक बिदाको दिनमा परीक्षा सञ्चालन हुन्छ, यहाँ ६ पटक परीक्षा हुन्छ । अभिभावकहरुको नियमित भेटघाट हुन्छ । हामीकहाँ कक्षाकोठामा सिसीटीभी छ । यहाँ कक्षा खाली हुन पाउँदैन। कुनै शिक्षक बिदामा बस्नुभयो भने त्यो शिक्षकको पुर्तिका लागि शिक्षकको बन्दोबस्त गरिएको छ । यहाँ विषयत विभाग रहेका छन् । त्यही विभागबाट खाली हुने कक्षामा शिक्षकको बन्दोबस्त हुन्छ । त्यहाँबाट पनि भएन भने कक्षा ९ का विद्यार्थी ८ मा, ८ का ७ मा जान्छन् र जानेका कुराहरु सिकाउँछन् । कक्षा कक्षामा कक्षा नियन्त्रकको बन्दोबस्त छ ।

पछिल्लो समयमा सामुदायिक विद्यालयका अँग्रेजी माध्यमले पढाएको कारणले पनि विद्यार्थी संखया बढेको भनिन्छ, त्यही हो त ?
हामीलाई के भन्छन् भने, काभ्रेको एउटा स्कुलमा मातृभाषामा स्कुल चलाएको रे, पछि अभिभावकहरु, जिल्ला शिक्षामा गएर हामीलाई मातृभाषामाभन्दा पनि दातृभाषामा शिक्षा चाहियो, भनेको अँग्रेजी भाषा राख्नुपर्यो भन्यो रे । जुन अँग्रेजी भाषा, अन्तर्राष्ट्रिय भाषा हो । त्यो भाषामा राम्रो भयो भने, ऊ अन्तर्राष्ट्रिय क्षेत्रमा सजिलै बिक्री हुन सक्छ । उसले विश्वमा भएका नवीनतम उपलब्धिहरु, खोजहरुलाई त्यो माध्यमबाट बुझ्न सक्छ भन्ने हिसाबले अँग्रेजी भाषामा जानुलाई नकारात्मक रुपमा सोच्नुहुन्न । सँगसँगै हाम्रो मातृभाषा, नेपाली भाषालाई पनि जोड दिनुपर्छ, प्रश्रय दिनुपर्छ, विद्यालयमा अनिवार्य नेपाली विषयलाई कायम राख्नुपर्छ । अँग्रेजी मिडियममा गएको हुनाले सामुदायिक विद्यालयहरुमा निजी स्कुल छोडेर विद्यार्थी आउनुमा त्यो पनि हो । सँगसँगै नेपाली भाषालाई छोड्न, पूरै अँग्रेजीकरण गर्ने पक्षमा भने छैनौं ।

सडक छेउको स्कुल, प्रदूषण पनि उत्तिक्कै छ, विद्यार्थीलाई खेल्नका लागि चौर पनि अभाव छ नि ?
हामीले सकभर बालमैत्री, अपांगमैत्री कक्षाकोठा बनाउने काम भइरहेको छ । अहिलेको नयाँ भवनमा र्याम्पहरु बनाएर अपांगमैत्री कक्षाकोठा, भर्याङहरु बन्दैछन् । साविकमा शौचालयहरुमा छात्र र छात्रा शौचालय बनेको छ । छात्राहरुलाई महिनावारी हुँदा आवश्यक पर्ने सरसफाइको बन्दोबस्त छ । उनीहरुलाई आवश्यक प्याड सहुलियतमा पाइरहेका छन् । यो विद्यालयमा जुनियर रेडक्रमको पनि बन्दोबस्त छ । शिशु कक्षामा खेलाएर पढाउने विधि छ । विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप, सह क्रियाकलाप, बाह्य प्रतियोगिताहरुमा सहभागी गराइरहेका छौं ।
तपाइँबाट अरु प्रअ, शिक्षकले के कुरा सिक्न सक्छन् जस्तो तपाईंलाई लाग्छ ?
म अरु साथीहरुलाई पनि के भन्छु भने, हामीसँग यदि इच्छाशक्ति छ भने हामी शिक्षामा परिवर्तन ल्याउन सक्छौं । अहिले विभिन्न विद्यालयहरुबाट अध्ययन भ्रमणको लागि आउनुहुन्छ, उहाँहरुलाई पनि म त्यही नै भन्छु । प्रअ भइसकेपछि हामीले आफूलाई हाकिमको रुपमा नसम्झौं, एक सेवकको रुपमा सम्झौं । प्रअको जुन जिम्मेवारी छ, पेशा छ, पद छ, यसलाई हामी जागिर नसम्झौं । यसलाई हामी पेशाको रुपमा लिऔं, त्यो भयो भने हामी पक्कै पनि राम्रो गर्न सक्छौं । किनकि अहिले हरेकजसो विद्यालयमा विषयगत शिक्षक, योग्य शिक्षकहरु पुगेका छन् । त्यसैले हामीले कुनै पनि बहानाबाजी नगरौं । त्यो गर्न सक्यौं भने शिक्षामा स्वभाविक रुपमा परिवर्तन ल्याउन सकिन्छ । अन्य देशहरुमा शिक्षकलाई सबैभन्दा उच्च पदमा, सम्मानित र मर्यादित, आर्कषक पेशाका रुपमा लिइन्छ, त्यो काम हामीले हामी आफैंबाट गर्नुपर्छ ।

प्रिन्सिपल पद भनेको हरेक समस्याहरु तपाईंकैमा आएर ठोक्किने पद भयो । यी समस्याहरु आउँदा तपाईलाई दिक्क पनि त लाग्दो हो ?
हामीले त्यही समस्या क मगर्नका लागि तहगत इन्चार्जहरुको बन्दोबस्त गरेका छौं । कोअर्डिनेरको बन्दोबस्त गरेका छौं । त्यो गर्नु पनि शिक्षकहरुलाई उत्प्रेरणा दिने काम भएको छ । त्यो अनुसारको काम उहाँहरुले गरिरहनु भएको छ । म उहाँहरुलाई काम दिन्छु, अबको एक महिनाभित्र, दुई महिनाभित्र हाम्रो सिकाइ उपलब्धि कति पुर्याउने अथवा आफ्नो विभागमा के के गर्ने भनेर योजना बनाउनका लागि भन्छौं । त्यही योजनाअनुसार नै म काम अघि बढाउँछु । मैले आफूलाई पर्ने बोझ चाहिँ बाँडेको छु । यसमा विभागका साथीहरुले नै जिम्मा लिएर काम गरिरहनुभएको छ ।

उहाँहरुले नै विभागलाई दिइएको जिम्मेवारीअनुसार काम गर्नुहुन्छ, परीक्षाको समीक्षा गर्नुहुन्छ, त्यसपछि अब के गर्ने भन्ने विषयमा छलफल गरी योजना बनाउनुहुन्छ, त्यसले मलाई सजिलो भएको छ । अभिभावक काउन्सिलिङ गर्नका लागि काउन्सिलिङ डिपार्ट छ । त्यही डिपार्टले काम गरिरहेको छ । त्यही डिपार्टले केस स्टडी गर्नुहुन्छ, समस्या समाधान गर्नुहुन्छ ।
स्वभाविक रुपमा प्रअले अलि बढी जिम्मेवारी लिनुपर्ने हो, तनाव लिनुपर्ने हो, तर यहाँ हामीले अलि पृथक अभ्यास गरिरहेका छौं, त्यही भएर यहाँ प्रअलाई अलि कम दबाब हुन्छ ।

तपाईं कसरी आफूलाई अपडेट बनाइ रहनुहुन्छ ?
म विभिन्न इन्टरनेटहरुमा आएका शैक्षिम सामग्री, समाजिक सञ्जालहरु, फेसबुक, यु्ट्युबहरुमा आएका भिडियोलगायतमार्फत् अपडेट भइरहन्छु । पत्रपत्रिका, समाचार,विज्ञानका नयाँ नयाँ कुरा थाहा पाउन म अध्ययन गर्छु । त्यो अध्ययनलाई अझ राम्रो बनाउन साथीहरुसँग बाँड्छु । त्यसले मलाई सजिलो बनाएको छ । पुस्तकालय जाने, त्यहाँबाट आवश्यक शैक्षिक सन्दर्भहरु लिने काम गर्छु । हामी अहिल डिजिटल युगमा रहेकोले त्यसैलाई शक्तिको रुपमा विकास गरेका छौं । त्यो ज्ञानका आधारमा म अघि बढिरहेको छु ।

अहिले विद्यालय संरचना र माविसम्मको शिक्षा हेर्ने निकाय फेरिसकेको अवस्था छ, यो अवस्थामामा महानगरपालिकाले आफ्नो छुट्टै शिक्षा ऐन ल्याएको छ, त्यसले विश्वनिकेतनलाई के फरक पर्छ ?
नेपालमा हतारमा निर्णय गरेर फुर्सदमा पुछताउने बानी छ । देश संघीयतामा गयो, शिक्षालाई पनि अब कसरी स्थानीय तहले आफ्नो ओनरसिप लिने भन्ने विषयमा पहिला नै गृहकार्य गरेर सरकार यो संरचनामा गएको भए, अहिलेको अन्योल र संक्रमण हुने थिएन । अहिले तुलनात्मक रुपमा शिक्षा क्षेत्रमा धेरै अन्योल देखिएको छ ।
केन्द्र तहमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा हेर्ने भनेको छ, अनि प्रदेश तहमा सामाजिक विकास मन्त्रालयले, शिक्षा मन्त्रालय छैन, अनि जिल्लामा आएपछि गृहमन्त्रालयको मातहतमा शिक्षा विकास तथा समन्वय इकाई भनेको छ । अर्को फेरि, सिँहदरबार गाउँगाउँमा भनेर स्थानीय तहमार्फत् तल पठाएको छ । स्थानीय तहले शिक्षाको सबै अधिकार, शिक्षाको सरुवा, बढुवा, नियुक्ति, पदस्थापन सबै हाम्रो अधिकार हो भन्ने गलत बुझाइले जकडिएको छ । त्यसकारण अन्योल भएको छ । अब के हुनुपर्छ भन्दा शिक्षा क्षेत्रलाई हेर्नको लागि शिक्षा मन्त्रालयको केन्द्रको मातहतमा साविकको शिक्षा कार्यालयलाई नै जिम्मा दिनुपर्छ । महानगरपालिकाको वडा नं. ११ मा परेको यो विद्यालयलाई महानगरबाटै अनुगमन र निरीक्षण हुनुपर्छ ।

सामुदायिक विद्यालयमा सरकारले भौतिक पूर्वाधार, जनशक्ति, शिक्षण तालिम, पाठ्यपुस्तकलगायतमा ठूलो लगानी गरेको छ । तर पनि सबै सामुदायिक विद्यालयको अवस्था अब्बल बन्न नसक्नुको कारण के होला ?
हाम्रो विद्यालयमा ‘विद्यालय समय’ हामीले पूर्ण रुपमा विद्यालयकै लागि प्रभावकारी रुपमा दिनु पर्छ भन्ने मान्यता छ । डिजिटल हाजिरीको व्यवस्था छ । विद्यालयमा आएपछि शिक्षकहरु १०–५ बजेसम्म बस्नै पर्छ । शिक्षकहरुलाई विद्यालयमा राजनीतिक गतिविधि गर्न मनाही छ । उहाँहरु आफैं यसप्रति सजग र जिम्मेवार हुनुहुन्छ । शिक्षणमा समर्पण र लगाव छ । आफ्ना विद्यार्थीलाई मैले जसरी पनि राम्रो गराउनुपर्छ भनेर मिहिनेतका साथ लाग्नुभएको छ । अभिभावक र नागरिक समाजले पनि सचेत भएर विद्यालयको अनुगमन र चासो लिने गर्नुभएको छ । अन्य सामुदायिक विद्यालयमा सायद यस कुराको कमी छ । त्यसैले, सबै सामुदायिक विद्यालयहरुको समान रुपमा विकास हुन सकेको छैन । विद्यालय सुधारको प्रतिबद्धता हुन आवश्यक छ ।

सामुदायिक विद्यालयको सुधार गर्न के गर्नुपर्ला ?
पहिले त सामुदायिक विद्यालयका शिक्षक साथीहरुले आफूले आफैंलाई विश्वास गर्नु पर्छ । आफूले विश्वास गरे बल्ल अरुले गर्ने हो । आफ्ना छोराछोरी पहिले आफूले पढाइरहेकै विद्यालयमा भर्ना गराऔं । विद्यालयमा १०–५ बसेर अध्यापन गराऔं । खाली दिमाग कक्षाकोठामा प्रवेश नगरी पर्याप्त तयारी र शैक्षिक सामग्रीसहित योजनाबद्ध रुपमा कक्षाकोठामा प्रवेश गरौं । के पाठ पढाउने हो, पाठ योजना बनाऔं । तालिममा हासिल गरेका सीप र ज्ञान कक्षाकोठाभित्र उपयोग गरौं । नवीनतम् शिक्षण विधिहरु, प्रयोगात्मक, प्रदर्शन, सोधखोज विधिहरु प्रयोग गर्दै विद्यार्थीकेन्द्रित शिक्षण सिकाइ गरौं । पुरातन ‘लेक्चर’ विधिको भर नपरौं । विज्ञान पढाउँदा विद्यार्थीकै भूगोल, घर वरिपरिका वातावरणमा आधारित भएर सिकाऔं । विद्यार्थीलाई नै सक्रिय र क्रियाशिल बनाएर सिकाउन शुरु गरौं । कक्षाकोठालाई रोचक र मनोरञ्जक बनाउने प्रयास गरौं । स्वभाविक रुपमा हामीले यसरी योजनाबद्ध रुपमा शिक्षण सिकाइलाई अगाडि बढाए शैक्षिक अभिवृद्धि हुन्छ । विव्यस र शिक्षक–अभिभावक संघले पनि सहयोगी भूमिका निर्वाह गर्नु पर्छ । अभिभावकहरुलाई विद्यालयकेन्द्रित बनाउन आवश्यक हुन्छ । मासिक, वार्षिक कार्ययोजनासहित अघि सक्रिय हुनु पर्छ । शिक्षकहरु पाठयोजनाका साथ कक्षाका जाने र नवीन शिक्षण विधि प्रयोग गरी शिक्षण सिकाइ गर्ने हो भने सिकाइ सुधार्न समस्या हुन्न ।

:3675 Views

Leave a Reply