एकान्तवास, शिक्षा र प्रविधि

विश्व महामारीको क्रममा नेपाल जस्तो अल्पविकसित राष्ट्रहरूले आफ्नो शिक्षा क्षेत्रमा नविन प्रयोग गरेको छ । महामारीका कारण युनिभर्सिटी, माध्यामिक परीक्षा तथा तल्लो तहदेखि क्याम्पससम्मको शिक्षामा असर परेको छ । विशेष गरी एस.ई.ई., ११ तथा १२ कक्षाको आफ्नो वार्षिक शिक्षण सिकाइ पश्चात परीक्षाको मुखमा एकान्तवासले शिक्षक विद्यार्थी तथा सम्बन्धित निकाय तथा अभिभावकहरूमा चिन्ताको विषय बनेको छ । शिक्षा नीति, विद्यालयको स्तर यस्तै मुख्य परीक्षाको परीक्षाफलसँग जोडे मूल्याङ्कन हुने व्यवस्थाले विद्यालयका सञ्चालक–प्रधानाध्यापकहरू विशेष चिन्तामा रहेका छन् ।

यसै क्रममा विभिन्न विद्यालय तथा स्थानिय शिक्षा शाखाहरूले विधुतिय माध्यमको प्रयोग गर्दै विशेष सहयोगी कक्षाको सञ्चालन गरेको छ । दिनरात आफ्नै कडा नियन्त्रणमा राखेर दिइएको शिक्षा यो १ महिनाभन्दा अधिक एकान्तवासले समस्या उत्पन्न हुने चिन्ता आज सम्पूर्ण शिक्षण संस्थामा रहेको छ । यसो त विद्यार्थीहरूमा केही दिन त आनन्दकै सास फेरेका होलान् तर महिना दिनभन्दा बढी समयको एकान्तवासमा रहँदा मानसिक तनाव उत्पन्न भएको छ । उनीहरूको मन पढाइमा भन्दा अन्यत्रै जानु स्वाभाविक हो । यस्तो समयमा आएको दिनको केही घण्टा भिजियोल कक्षा पक्कै सहयोगी सावित भएको छ । धेरै दिनको अन्यत्रको ध्यान फेरी कम्पूटर प्रविधिको सहयोगमा शिक्षा केन्द्रित बनाउनु स्वागत योग्य रह्यो ।

आज २१औँ शताब्दी, विज्ञान तथा कम्पूटर प्रविधिको युग हो । विश्वको धेरै राष्ट्रहरू यसैको भरपुर प्रयोग तथा उपयोग गर्दै विकसित हुँदा हामी र हाम्रो राष्ट्रले पनि यसको सुरूवात गर्न यस्तै प्रकारको महामारी कुर्नु परेको जस्तै देखियो । यसै महामारी अब शिक्षण सिकाइमा कम्पूटर प्रविधिको सुरूवात गरेको छ । हिजोसम्म शिक्षण सिकामा यस्तो प्रयोग गफ, अनावश्यक खर्च तथा शिक्षकको कामचोर प्रविधि लाग्नेहरूको आज पक्कै चेत खुलेको छ ।

अब साँचै आज बनेको यस्तो प्रविधिमैत्री हुन हामी सक्षम छौँ त ? हामीले प्रविधिमैत्री विद्यार्थी तथा समाजको सृजना गर्न सकेका छौँ ? हाम्रा इन्टरनेट प्रदायक संघसंस्थाले के यसको पूर्ण प्रविधि उपलब्ध गरेका छन् ? यस्ता प्रश्नहरूले आज हामी हाम्रो समाज तथा विद्यार्थी घेरीएका छन् । यस्ता प्रश्नहरूको जवाफमा हामी सर्वविदितै छौँ । कुन बेला इन्टरनेट काट्ने हो र विजुली जाने हो भन्ने कुनै ठेगान हुँदैन । हामी माझ विविध सामाजिक सञ्जालले विज्ञान प्रविधिको प्रयोग गर्न सिकाएको छ । साथै यसैको प्रयोगसँगै हामी प्रविधिसँग धेरै सहज भएका छौँ ।
प्रविधिमैत्री शिक्षाको सुरूवातसँगै अब हामी पनि प्रविधिमैत्री हुनु आजको आवश्यकता भएको छ । आज सुरू भएको इलेक्ट्रोनिक्स् कक्षामा सुरूवात गर्ने निर्णय भइ रहँदा यसमा विद्यार्थीको पहुँच नहुनु भने चिन्ताको विषय भएको छ ।

नेपालका गाउँघरको अवस्था त छाडौँ, सहर बजारमा समेत विविध कारणले इन्टरनेटको पहुँच पुग्न सकेको अवस्था छैन । यसमा विद्यार्थीको परिवारको आर्थिक समस्या एकातिर छन् भने इन्टरनेट प्रदायकको सेवा हुनु नहुनु तथा त्यसको त्रुति अर्को तर्फ रहेको छ । आज समयको मागको सम्बोधन भएको विधुतिय माध्यमका कक्षा अब अन्य सामान्य दिनमा समेत निरन्तरता पाउनुपर्छ । सम्पूर्ण विद्यार्थीहरू इन्टरनेट प्रविधिका सहज सम्पर्कमा रहन सक्ने व्यवस्थापन नेपाल सरकार तथा सम्बन्धित निकायले युद्धस्तरमा गर्नु पर्दछ । यसले नेपालीहरूको उत्पादनमूलक श्रमशक्तिको भरपुर प्रयोग गर्दै बाँकि समय समेतलाई यस्ता कक्षाहरूको प्रयोग गर्दै शिक्षित हुने पक्का छन् । कुनै विपत्तिले नयाँ युगको सुरूवात गर्ने गर्दछ । यस विश्वव्यापी कोरोना संक्रमणले नेपाल शिक्षा क्षेत्रमा नयाँ युगको सुरूवात गर्न सक्षम हुनेछ । नेपाली शिक्षा क्षेत्रमा सुरू भएको भर्चुयल कक्षाले निरन्तरता पाउनेछ र हामी नेपालीले इन्टरनेट प्रविधिका भरपुर उपयोग गर्दै दुरशिक्षा पाउने छौँ ।

राजेश भोयद्यो
शिक्षक

:207 Views

Leave a Reply