एन्जल लर्डको वृृहत विज्ञान प्रदर्शनी सम्पन्न, स्मार्ट सिटी प्रमुख आर्कषण

काठमाण्डौ । हिमालीमार्ग कोटेश्वरस्थित एन्जल लर्ड एकेडमीद्वारा आयोजित दुई दिने वृहत विज्ञान प्रदर्शनी २०७५ भव्यरुपमा सम्पन्न भएको छ ।
पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले उद्घाटन गरेको उक्त प्रदर्शनीमा विद्यालयमा अध्ययनरत कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरुले बनाएका विज्ञान सम्बन्धित विविध सामाग्री तथा उपकरण राखिएका थिए । करिब एकसयको संख्यामा राखिएका सामाग्री र उपकरणहरुमा रोबटिक्स, अटोमेशन, अटो इन्जिनियरिङ, रसायनिक विज्ञान, जलवायु परिवर्तन लगायत विविध क्षेत्रहरुलाई समेटिएको प्रिन्सिपल टंक लिम्बुले बताए ।
प्रदर्शनीको मुख्य आकर्षण स्मार्ट सिटीको नमुना भएको थियो । कक्षा ९ का सुशान्त सिंह राउत, पुस्करराज जोशी र आयुश व्यन्जनकारको समुहले तयार गरेको उक्त नमुना सिटीमा अत्याधुनिक प्रणालीहरुले सुसज्जित व्यवस्थित सहर देखाइएको थियो ।
नमुना सहरमा आवास क्षेत्र, शैक्षिक क्षेत्र, औद्योगिक क्षेत्र, व्यापारिक क्षेत्रहरुलाई आकर्षक र व्यवस्थित ढंगले तयार गरिएको थियो भने एयरपोर्ट, खेल मैदान, केवल कार, मेट्रो रेल, अत्याधुनिक एम्बुलेन्स आदि समेत राखिएको थियो । त्यसैगरी जलविद्युतको नमुना प्रदर्शनीको अर्को आकर्षक भएको थियो । सो नमुना अन्तर्गत विद्यार्थीहरुले पानीको प्रगोग गरि बत्ती कसरी बल्छ भन्ने कुरा देखाएका थिए । उनीहरुले बत्तीलाई विभिन्न क्षेत्रमा वितरण गरेर समेत देखाएका थिए ।
प्रदर्शनीमा ह्युमनोइड रोबट, ग्रास कटिङ, रोबट, फ्लोर क्लिनिङ रोबट, लाईट फ्लाइङ रोबट, आगलागीको जानकारी दिने अग्निसुचक, भुकम्प आएको सुचना दिने भुकम्पिय सुचक, ध्वानी प्रदुषण सम्बन्धि जानकारी दिने ध्वनी स्तर सुचक यन्त्रहरु राखिएको थिए ।
ताली बजाएर बाल्न सकिने बत्ती क्लाप स्विच, स्वचालित सडक बत्ती, स्वचालित पङ्खा, टर्च स्विच, फ्लिप फ्लप बत्ती, लगायतका विधुत सम्बन्धि उपकरणहरुको साथै होम सेक्युरिटी सम्बन्धी विविध उपकरणहरु निर्माण गरि प्रदर्शनीमा राखिएको विद्यालयका अतिरिक्त कृयाकलाप संयोजक टेकेन्द्रराज चेमजोंगले बताए ।
चेमजोंगका अनुसार प्रदर्शनीमा एन्टि थेप्ट सेक्युरिटी, आईआर होम सेक्युरिटी, लेजर सेक्युरिटी जस्ता अत्याधुनिक प्रविधिले युक्त उपकरण राखिएका थिए । त्यसैगरि ट्राफिक बत्ती, ब्लिङकिङ लाईटहरु समेत प्रदर्शनीमा समावेश गरिएका थिए ।
अटो इन्जिनियरिङ अन्तर्गत तीनवटा फरक मोडलका कारहरुका मोडलहरु प्रदर्शन गरिएका थिए । जसमा कक्षा १० का पारस मण्डलले मोबाईलको ब्लुटुथबाट चलाउन सकिने गाडी निर्माण गरेका थिए भने कक्षा ७ का उज्ज्वल सुवेदीले विकट बाटो र भौगोलिक अवस्थामा पनि चलाउन सकिने गाडी तयार पारेका थिए । कक्षा ९ कै पुस्करराज जोशीले एकै स्थानमा रहेर ३६०डिग्री घुमाउन सकिने कारको मोडल बनाएर प्रदर्शन गरेका थिए ।
त्यसैगरी कक्षा ७ का पूजा बस्नेत र खुशी मण्डले संयुक्त रूपमा जलवायु परिवर्तन सम्बन्धि आकर्षक नमुना प्रस्तुत गरेका थिए । जसमा जलवायुका कारण र असरहरु बारे उत्कृष्ट उदाहरण सहितका नमुनाहरु बनाएका थिए । त्यसका अतिरिक्त व्यवस्थित र अव्यवस्थित शहरहरुका नमुनाहरु समेत प्रदर्शनीमा राखिएका थिए ।
विज्ञान सम्बन्धी उपकरणहरुका अतिरिक्त चित्रकलाहरु समेत प्रदर्शनीमा राखिएका थिए । विद्यालयका आर्ट क्लबमा आबद्ध विद्यार्थीहरुले बनाएका विभिन्न चित्रहरु प्रदर्शनीमा समावेश थिए । जसमा प्रयोगात्मक शैलीका स्प्रे पेन्टिङ, लिभ्स पेन्टिङ लगायतका अन्य चित्रहरु थिए । त्यसै गरि मौलिक सामाग्रीहरु ढिकी, जाँतो, घुम, पुराना हतियार, कपडा बुन्ने तान, माना पाथी, अंखुरा, राउटेहरुले बनाउने काठका भाँडाहरु समेत राखिएका थिए । प्रदर्शनीमा विविध जातजातिहरुले लगाउने भेषभुसाहरु समेत राखिएका थिए ।

प्रदर्शनीमा विद्यालयका सोशियल क्लबमा आवद्ध विद्यार्थीहरुले थ्रीडी मुभी प्रदर्शन गरेका थिए । सामाजिक कार्यका लागि आवश्यक रकम संकलन गर्ने उदेश्यका साथ संचालन गरिएको सो मुभी प्रदर्शनबाट संकलित सम्पुर्ण रकम समाज कल्याणको काम खर्च गरिने बताईएको छ । म्युजिक क्लबका विद्यार्थीहरु नेपाली मौलिक बाजाहरु बनाएर विभिन्न लोकधुनहरु समेत बजाएका थिए साथै गीतहरु प्रस्तुत गरेका थिए ।
प्रदर्शनीमा मौलिक नेपाली खानाहरु सहितको फुड स्टलहरु समेत राखिएको थियो । स्टलमा नेवारी सम्येवजी, तामाङ जातिको खाप्से लिम्बू जातिको फाक्सा याङबेन, खिर पुरी, मकै भटमास आदि खानाहरु राखिएका थिए ।
अघिल्लो बर्ष एक दिन मात्र राखिएको प्रदर्शनी यस बर्ष दुई दिन राखिएको थियो । विशिष्ट व्यक्ति, विभिन्न विद्यालयका विद्यार्थी, शिक्षकहरु सहित करिव २ हजार जनाले अवलोकन गरेको विद्यालयका प्रमुख टंक लिम्बुले बताए ।

:389 Views

Leave a Reply