एसईईमा भक्तपुर ः पाँचको चार जिपिए, ४८ जनाले ग्रेडवृद्धिका लागि परीक्षा दिनुपर्ने

भक्तपुर । माध्यमिक शिक्षा परीक्षा कक्षा १०(एसईई) २०७५ मा भक्तपुरका पाँच विद्यार्थीले चार जिपिए ल्याएका छन् । गत वर्ष चार विद्यार्थीले जिपिए ल्याएका थिए । चार जिपिए ल्याउने विद्यार्थीहरुमध्ये तीन जना छात्र र २ छात्रा रहेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार गत बिहीबार प्रकाशित नतिजा अनुसार भक्तपुरका चार विद्यालयका पाँच विद्यार्थीले चार जिपिए हासिल गरेका हुन् । शिक्षा विकास समन्वय इकाई भक्तपुरका परीक्षा शाखाका अधिकृत मोतीराम भट्टराईले परीक्षामा ९ सय ३७ विद्यार्थीको ३.६ देखि ४ जिपिए हासिल गरेको जानकारी दिए । प्रकाशित परीक्षाफलअनुसार ३.२ देखि ३.६ जिपिए ल्याउने विद्यार्थीको संखया १ हजार ७ सय ७४ जना छ ।

कूल ५ हजार ६ सय ८८ जना सहभागी परीक्षार्थीहरुमध्ये १ हजार २ सय ७७ जना विद्यार्थीले२.८ देखि ३.२ सम्मको जिपिए, ८ सय ७० विद्यार्थीले २.४ देखि २.८ जिपिए, ५ सय २० जनाले २.०देखि २.४ जिपिए हासिल गरेका छन् । त्यस्तै २ सय २१ विद्यार्थीले १.२ देखि १.६ जिपिए ल्याएका छन् । अधिकृत भट्टराईका अनुसार परीक्षामा १.२ देखि १.६ जिपिए ल्याउने विद्यार्थीको संख्या ४५, ०.८ देखि १.२ जिपिए ल्याउने १ र ०.८ जिपिए ल्याउने विद्यार्थी संख्या २ छन् । इकाईमा प्रमुख खेमनाथ पोखरेलले १.६भन्दा कम जिपिए ल्याउने कूल ४८ विद्यार्थी छन् । ती विद्यार्थीहरुले ग्रेडवृद्धिको परीक्षा दिन पाउने भएका छन् । गत चैतमा सम्पन्न परीक्षामा ४१ जनाले बीचैमा परीक्षा छोडेको इकाइले जनाएको छ ।

क–कसले ल्याए चार जिपिए ?
इकाइका अनुसार मध्यपुरथिमी नगरपालिकाभित्रका विद्यालयका विद्यार्थीहरुले मात्र चार जिपिए ल्याएका छन् । चार जिपिए हासिल गर्ने अतुलराज गौतम थिमीको एसओसएस स्कुलका विद्यार्थी हुन्, भने अनुप काफ्ले र कञ्चन श्रेष्ठ कौशलटारस्थित आदर्श जनप्रेमीका विद्यार्थी हुन् । त्यस्तै एरिक कटुवाल भक्तपुरको सल्लाघारीस्थित सैनिक महाविद्यालयका विद्यार्थी हुन् भने रोजा श्रेष्ठ थिमीकै विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थी हुन् ।

एसईई नतिजाका आधारमा शिक्षाको उत्कृष्ट गन्तव्य बनिरहेको भक्तपुरको उक्त नतिजा निराशाजनक नभएको इकाईका प्रमुख पोखरेल बताउँछन् । उनले उच्च ग्रेडका विद्यार्थीहरुको संख्या उल्लेख्य रहेको बताउँदै मात्र ४८ जनाले मात्र ग्रेडवृद्धि परीक्षा दिने बताए । जिल्लाको समग्र नतिजा राम्रो हुनुमा विभिन्न बहानामा हुने बन्दको समयमा पनि पठनपाठनमा अवरोध नआउनु, सामुदायिक विद्यालयहरुले शैक्षिक सुधारका लागि राम्रो प्रयास र योजनावद्ध तरिकाले काम गर्दा नतिजा अब्बल भएको बताए ।

:826 Views

Leave a Reply