‘कक्षामा सधै उभिनुपर्छ भन्ने छैन, नाटक पनि त गर्न सकिन्छ’

गोकर्ण खनाल
प्रिन्सिपल
प्रस्फुटन इन्टरनेशनल एकेडेमी
सिनामंगल काठमाण्डौं

समयअनुसार परिमार्जित हुँदै गइरहेको शिक्षा प्रणाली अत्याधुनिक प्रयोगात्मक तथा जिविकोपार्जन गर्न सजिलो हुने शिक्षाको सामाजिक माग, पढाईलेखाई भन्दा खेलकुद र मनोरञ्जनात्मक क्रियाकलापहरुमा बढी रुची राख्ने विद्यार्थीहरुलाई मध्यनजर गर्दा शिक्षण सिकाइको पाठ्यक्रमलाई अतिरिक्त क्रियाकलापसँग समायोजन गर्दै अगाडि बढ्नु पर्ने अपरिहार्य जस्तो भएको छ ।

विभिन्न इसिए र सीसीए क्रियाकलापहरुसँग पठन पाठन हुने पाठहरुलाई जोड्दै विद्यार्थीहरुलाई रमाइलो माध्यमबाट ज्ञान दिदाँ पढाइको बोझ नबोकीनै केहीकुरा सिक्ने अवसर मिल्न जान्छ । घोकेर र शिक्षक ÷ शिक्षीकाको जबरजस्ती दवाबबाट आर्जन गरेको शिक्षा भन्दा यसरी रमाइरमाई खेलीखेली पाएको शिक्षा वा ज्ञानले विद्यार्थीमा सिक्ने अझ बढी हौसला हुने र सिकाइ क्रियाकलापमा मन जाने देखिन्छ । जसले गर्दा सिकाइ तथा शिक्षण प्रभावकारी हुने गर्दछ ।

पाठ्यक्रमलाई इसिए र सीसीए क्रियाकलापहरुमा समायोजन गर्दा विषय र पाठअनुसार फरक फरक तरिकाहरु अपनाउन सकिन्छ । नेपाली तथा अंग्रेजीका धेरै जसो पाठहरुलाई नाटक तथा अभिनयको माध्यमबाट पठन पाठन गराउँदा विद्यार्थीमा मनोरञ्जन साथै जिम्मेवारीपूर्ण तरीकाबाट एकाग्र भई आफ्नो अभिनय देखाउन पाउने भएकाले यसले पाठको भाव सजिलै बुझ्न सक्ने देखिन्छ । त्यसैगरी अंग्रेजी लगायत अन्य विज्ञान, सामाजिक जस्ता विषयलाई र विषय सम्बन्धीत पाठहरुलाई त्यस पाठबाट प्रश्न तथा हिज्जेहरु छानी हाजिरीजवाफ तथा स्पेलिङ प्रतियोगिताको माध्यमबाट विद्यार्थीमा रुचि जगाउन सकिन्छ । समूहमा बाँडिएर काम गर्दा उनिहरुमा जिम्मेवारी साथै प्रतिस्प्रर्धाको भावना पनि जाग्ने गर्दछ ।

सामाजिक शिक्षा साथै अन्य विषयहरुमा दिइएको शीर्षकमा कविता अथवा गीत लेख्न लगाएर पठन पाठन गराउँदा पनि विद्यार्थीहरुले त्यस विषयमा खोज अनुसन्धान साथै लेख्ने कलाको विकाश हँुदै जान्छ । सामाजिक र नैतिक शिक्षासँग सम्बन्धित विषयमा वादविवाद वा वक्तृत्वकला गराउँदा पनि उनिहरुमा बोल्ने कलाको विकाश हुँदै जान्छ । त्यसैगरी गणित, विज्ञान, कम्प्युटर विषयलाई प्रयोग, प्रतिस्पधा वा खेलकुदमार्फत जोड्न सकिन्छ । त्यसैगरी कोठेपदबाट पनि विद्यार्थीहरुको अभिरुची बढ्ने गरेको पाइन्छ । यसरी पाठहरुलाई अतिरिक्त क्रियाकलापसँग जोडेर पठन पाठन हुँदा विद्यार्थीहरुमा मनोरञ्जन, प्रतिस्पर्धा साथै सिकाइ क्रियाकलाप सहज हुने गर्दछ । जसले गर्दा पढाईमा रुची बढ्ने, दिइएको जिम्मेवारी बहन गर्ने, सामाजिक बन्ने, स्पष्ट बोल्ने, अनुशासित हुने, आफूसँग भएको कलालाई प्रस्फुटित गर्ने पनि अवसर मिल्नेछ ।

गेन्द्र लामा
प्रिन्सिपल
प्राक्सिस इन्टरनेशनल एकेडेमी
काठमाण्डौं

मेरो स्कुलमा नृत्य, संगित, स्काउट, हस्तलेखन, खेल, चित्रकला, योगा र नाटक दैनिक समयतालिकाअनुसार हुने गर्दछ । म यसलाई इसिए भन्दिनँ । किनभने जसरी अरु कक्षा नियमित हुन्छन्, त्यसैगरी यी क्रियाकलाप पनि अनिवार्य रुपमा हुन्छन् । यो अतिरिक्त होइन । हिजोको दिनमा नृत्य सामान्य मनोरञ्जनको रुपमा राखिएको थियो । त्यसैले अतिरिक्त भनिन्थ्यो । त्यसरी नै अभिभावक दिवसको दिनमा मात्र गीत गाउन लगाइन्थ्यो र यसलाई अतिरिक्त भनिन्थ्यो ।

अहिले पाठ्यक्रमसँगै नियमित यसलाई पढाउँछौं र यसलाई अतिरिक्त क्रियाकलाप भन्न मिल्दैन । गणित, विज्ञान जस्तै यसमा पनि छुट्टा छुट्टै शिक्षक राखेका छौँ । यसका लागि हामी लेखन र प्रयोगात्मक दुबै परीक्षा लिने गर्दछौँ । सबै क्रियाकलाप विज्ञान, गणित जसरी नै सबै विद्यार्थीलाई पढाउँछौँ । सबै विद्यार्थीलाई गणित मन पर्दैन तर सबैलाई पढाउँछौं । त्यसरी नै यी क्रियाकलाप सबलाई पढाउँछौं । सबै बिषय जस्तै संगीतमा आफ्नो भविष्य बनाउन चाहनेको लागि छुट्टै कक्षा समेत सञ्चालन गर्छौँ ।

यसलाई पाठ्यक्रमसँग जोड्दा विद्यार्थीमा किताबी ज्ञानमा कमी आएको गुनासो गर्छन् । अहिलेका विद्यार्थी जेहेन्दार होइन कि स्मार्ट बन्नमा ध्यान दिन्छन् । हामीले सामान्य बिषयलाई सामाजिकसँग गाब्देको छौँ । हाम्रो नेपालको पाठ्यक्रमले त्यी सबै कुरालाई परिकल्पना गरेको छैन र समेटेको पनि छैन् । संगित, नित्य सिकाऊ भनेर कुनै पाठ्यक्रममा भनेको छैन ।

पाठ्यक्रममा नि यी क्रियाकलापलाई समेटिनुपर्छ । १०० नम्बरको क्रियाकलाप बनायो भने त्यसले केही न केही राम्रो हुन्छ । अन्य बिषयमा विद्यार्थीले १०० पुर्णाङ्कमा ९९ ल्याउँछन् तर त्यो केबल प्रमाणपत्रको रुपमा मात्र रहन्छ ।

:589 Views

Leave a Reply