कमालका छन् भक्तपुरका ईसिडी शिक्षक

भक्तपुर २२ भदौ । ढोका बाहिरै जुत्ता चप्पल खोलिएको छ । कक्षाकोठामा भुइँमा राखिएको चकटीमा मिलेर बसेका छन्, । कक्षाकोठा हो, तर त्यो दिन भने त्यहाँ विद्यार्थी नभएर शिक्षकहरु पलेटी कसेर बसिरहेका छन् ।

उनीहरुले पालैपालो आफ्नो नाम बोलाएसँगै उठेर सबैको अघि गएर आफूहरुले कसरी विद्यार्थीलाई पढाइरहेको छ भन्ने कुरालाई जीवन्त तरिकाले प्रस्तुत गरे ।

कुनै विद्यालयका शिक्षकले गीत गाए, कोहीले नाटकजस्तै गरी प्रस्तुत गरे । उनीहरुले शुक्रबार भक्तपुरको शारदा माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा आफूहरुले कसरी विद्यार्थीलाई पढाउँदै छौं, कसरी सिकाउँदै छौं भन्ने कुरा देखाए ।

सँधै आफ्ना बालबालिकाहरुको अघि नाच्दै गाउदै पढाउदै गरिरहेका उनीहरु शुक्रबार भने आफूजस्तै सहपाठीहरुका अघि नाचे, गाए, अनि आफूल पढाइरहेको सीप सबैसामु बाँडे । यसरी पढाएका शिक्षकको मुहारमा बेग्लै खुशी देखिएको थियो । त्यसो गर्दा विद्यार्थीमात्र नभएर शिक्षक पनि खुसी छन् । विद्यार्थीहरु रमाइरमाइ पढिरहेका छन् भने शिक्षकहरु पनि रमाइ रमाइ पढाइरहेका छन् ।

यो दृष्य देख्ने जो कोहीलाई पनि लाग्छ, ‘आहा! क्या राम्ररी पढाइ हुँदो रहेछ ।’

भक्तपुर नगरपालिकाको आर्थिक सहयोग, ब्राइट स्किल एजुकेशन सेन्टरले भक्तपुरका २२ विद्यालयका ईसिडी शिक्षकलाई मन्टेश्वरी तालिम दिएपछि शिक्षकहरुमा परिवर्तन आएको छ ।

तिनीहरुलाई दिएको तालिम कक्षामा कति र कसरी प्रयोग भइरहेको छ भन्ने विषयबारे बुझ्न आयोजना गरेको कार्यक्रम राइम्स प्रिजेन्टेशन कार्यक्रममा विद्यार्थीहरुलाई पढाइरहेको सीप सबैसामु शिक्षकहरुले प्रदर्शन गरेका थिए ।

विद्यालय शिक्षाको जग भनेर चिनिने पूर्व प्राथमिक तह र त्यही तहका खम्बाका रुपमा रहेका सहयोगी कार्यकर्ता एवं शिक्षकहरुले सिकाइरहेको सीप एकआपसमा बाँड्न पाउँदा शिक्षिकाहरु पनि दंग भएका थिए ।

कार्यक्रममा चण्डेश्वरी आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमालयश्वरलाल मूलले ईसिडी शिक्षकलाई दिइएको तालिम प्रभावकारी भन्दै गएको बताउँदै तालिमलाई शिक्षण क्रियाकलापमा लागू भइरहेको बताए । उनले शिक्षाको जग नै पूर्व प्राथमिक विद्यालय भएको बताउँदै शिक्षालाई गुणस्तरीय बनाउन पूर्व प्राविलाई बलियो बनाउन जरुरी रहेको बताए ।

उनले पाठ्यपुस्तकलाई मात्र केन्द्रित नगरी विभिन्न शैक्षिक सामग्रीको उपयोग गरी पठनपाठन गराए प्रभावकारी र दीगो हुने पनि बताए । सो क्रममा शारदा माविका प्रअ रोशन तुइँतुइँ र सेन्टरका देवना जोशीले पनि धारणा राखेकी थिइन् ।

:3486 Views

Leave a Reply