‘कलम भएन, जाँच दिन पाइँन, तर शिक्षक बनेँ’

पनौती नगरपालिका गैरी गाउँमा जन्मिएका रामसुन्दर देउजाको वाल्यकाल अभावमा बित्यो । पहिलो सन्तान भएकाले पनि उसमा धेरै जिम्मेवारी थपिएको थियो । वि.स २०२७ साल मसिंर ९ गते जन्म लिएका उनी बाल्यकालमा साथीभाइसँग गुच्चा र डन्डीबियो खेल्न रमाउँथे ।

सुब्बागाउँको ग्रामोदय प्राथमिक विद्यालयबाट औपचारिक शिक्षा सुरु गरेका उनले विद्यालयका धेरै शिक्षकलाई सम्झने गर्छन् । बिशेषगरी प्रा.विमा पढ्दा ओम बहादुर मगर सरलाई सम्झने उनले बताए । कारण थियो, त्यी सरले उनलाई धेरै माया गर्थे । ‘उहाँले जाँचको बेलामा मसँग कलम नहुँदा समेत कलम दिनुभयो।’ बाल्यकाल सम्झदै उनले भने, ‘त्यति मात्र कहाँ हो र, एकपटक कलम नभएकाले कक्षा ३ को बाह्य परीक्षा दिन गइन्, पछि सरले नै चिठ्ठी लेख्न लगाई परीक्षा लिनुभयो, नत्र एक वर्ष ढिला हुँदा जिन्दगीको मोड नै सायद पछि पथ्र्यो कि!’
उनले २०४२ सालमा श्रीखण्डपुर माविबाट एस.एल.सी दिए । तर त्यसमा पनि १ नम्बर नपुगेर तेस्रो श्रेणीमा (४४.९प्रतिशत) पास हुन परेको दुःखले बेलाबेला घोचिरहन्छ उनलाई, ‘मेरो हुबहु सार्नेको चाहिँ ५० प्रतिशत आयो मेरो चाहिँ….।’

उनको समयमा अहिले जसरी पढ्न सहज थिएन । पढ्नका लागि कापी, कलम जुटाउनु नै मुख्य समस्या थियो । पानी पर्दा पनि भिज्दै बिहान घरमा खाएको खानाको भरमा दिनभर स्कुलमा बसेर पढी भोकले लखनरात भई घर फर्कन्थे । घरमा पुगेर मात्र केही खान पाउने हुँदा पढाइको लागि गरेको संघर्ष अझै पनि ताजै छ उनको सम्झनामा ।

घरको आर्थिक अवस्था कमजोर भएका कारण त्यस समयमा एसएलसी पास गर्नु भनेकै जागिर खानको लागि तयार भएको भन्ने बुझिन्थ्यो । निजामतीमा केही चिनजान नभएको र बाध्यता भन्नु वा रहर, दुवैले उनलाई शिक्षण पेशामा धकेल्यो।

पहिलो दिन कक्षा लिन आत्मविश्वासको कमी भइरहँदा पनि उनी लागे कक्षातर्फ निडर भएर । पहिलो दिनलाई सम्झँदै, ‘पहिलो दिन भएकाले विद्यार्थीलाई हँसाउँदै रमाइलो गरियो।’ शिक्षण क्षेत्रको सन्तोषजनक अनुभवले गर्दा उनले शिक्षाशास्त्रमा नै स्नातक गरे । उनीले विद्यार्थीलाई राम्रो शिक्षाका साथै विभिध विषयमा उचित सल्लाह दिएकोमा आफू गर्व गर्छन् । जसका कारण २० वर्षअघिका विद्यार्थीले पनि उनलाई सम्झने र श्रद्धा गर्ने गर्छन् । उनी विद्यार्थीको मनमा बस्न सफल छन् र उनले शिक्षण पेशाबाट मान–सम्मान पनि कमाएकोमा उनी दङ्ग छन् । शिक्षक हुनु भनेको उनको विचारमा ‘मैनबत्ति बाल्नु’ हो ।

शिक्षण पेशामा लागिसकेपछि पहिला त उनी सन्तुष्ट नै थिए । तर अहिले मानिसमा सरकारी विद्यालयप्रतिको दृष्टिकोण फरक हुँदै आएकोमा दुःख लागेको छ ।

उनी विभिन्न योजना बनाई अभिभावकलाई त्यसमा सहभागी गराउन चाहन्छन् तर अभिभावकले त्यसमा चासो नदिँदा र सहभागिता नजनाउँदा भने असन्तुष्ट छन् । उनले अरु शिक्षकभन्दा फरक बन्ने चाहना राख्दाराख्दै पनि वरिपरिको वातावरणले उनलाई आम शिक्षक बन्न बाध्य पारेको छ । उनी यदि शिक्षक पेशामा आबद्ध नभएको भए व्यापार क्षेत्रमा लाग्नेतर्फ सोच्थे ।

शिक्षा क्षेत्रमा सुधार ल्याउन राजनीति भन्दा टाढा राखेर योग्य र क्षमतावान शिक्षक नियुक्ति गर्नुपर्ने उनको सुझाव छ । उनी थप्छन्, ‘शिक्षा क्षेत्रको विकास गर्न राज्यले शिक्षक नियुक्त गर्नुपर्छ र आवश्यक भौतिक, नैतिक, आर्थिक, प्रविधि सबै उपलब्धि गराएर उन्नत जनशक्ति निमार्णको वातावरण सिर्जना गर्नुपर्छ ।’

:944 Views

Leave a Reply