कसरी गर्ने शिक्षक सेवा आयोगको तयारी?

शिक्षक सेवा आयोगले २०६९ सालदेखि नियमितजस्तै खुला परीक्षाको विज्ञापन गरिरहेको छ। परीक्षा फारम भर्नेको भीड नेपाली, अंग्रेजी, सामाजिक विषयमा प्राथमिक तहमा बढी देखिन्छ। परीक्षाको तयारी, सामग्री संकलन, समय व्यवस्थापन, कमजोरी सुधार, विषयगत वस्तुगत प्रश्नपत्र तयारी परीक्षा लेखनको अभ्यास, वास्तविक पाठ्यक्रमको अध्ययन, लेखनकार्यको संगठन विभिन्न हल्लाका पछि कुद्ने बानी आदिले हातमा आएको सफलता गुम्न सक्छ।

तपाईंका प्रतिस्पर्धी को

परीक्षाको आवेदन दिने विद्यार्थीको संख्या अधिक हुन्छ। त्यो देखेर आत्तिनु पर्दैन। अघिल्लो वर्ष पूर्वाञ्चलमा सामाजिक विषयको परीक्षामा उत्तीर्णाङ्क नल्याउनेको संख्या करिब ५० प्रतिशत थियो। अन्य विषयमा पनि फारम भर्नेमध्ये करिब ५० प्रतिशतले उत्तीर्णाङ्क ल्याउँदैनन्। तपार्ईंका प्रतिस्पर्धी ती ५० प्रतिशत होइनन्।

बाँकी ५० प्रतिशतमध्ये ४० देखि ५० प्रतिशत अंक ल्याउनेको संख्या करिब ३० प्रतिशत हुन्छ। बाँकी २० प्रतिशतले मात्र ५० भन्दा माथि अंक ल्याउने सम्भावना रहन्छ। वास्तवमा तपाईंले फारम भर्नेमध्ये १० देखि २० प्रतिशतसँग अन्तिम लडाइँ लड्ने गरी तयारी गर्नुपर्छ। परीक्षार्थीमध्ये धेरैले अनुभवका लागि भन्दै फारम भरेका हुन्छन् भने कतिपयले शिक्षाशास्त्र संकाय अध्ययन गरेको वा अध्यापन अनुमतिपत्र भएको आधारमा मात्र परीक्षामा सामेल भएका हुन्छन्। त्यस्तै, बजारमा पाइने कुनै एक वा दुई पुस्तक किनेर सामान्य अध्ययन गर्ने पनि वास्तविक प्रतिस्पर्धी पनि हुन सक्दैनन्।

परीक्षा के हो यो कस्तो हुन्छ ?

प्रतिस्पर्धात्मक परीक्षालाई धेरैले डरलाग्दो, अप्ठ्यारो रूपमा लिने गर्छन्, वास्तवमा त्यस्तो हुँदै होइन। उत्कृष्ट विद्यार्थी अर्थात् विश्वविद्यालय विद्यालय तहमा धेरै अंक ग्रेड ल्याउनेले मात्र पास गर्न सक्छ भन्ने मान्यता भ्रमपूर्ण हो। मेहनत, व्यवस्थित तयारी, पाठ्यक्रमको गहन अध्ययनमा आधारित अभ्यास नै सफलताको कारक तत्व बन्छ।

परीक्षा कुनै हाउगुजी होइन। यो पाठ्यक्रमअनुसारको व्यवस्थित, वस्तुनिष्ठ निरन्तरको तयारी प्रस्तुतिको प्रतिफलमा सफलता हात पर्ने विषय हो। त्यस्तै, धेरै पुस्तक पढ्न सक्ने अनि घोकेर कण्ठ पारेर सुनाउन सक्नेले मात्र पास गर्ने पनि होइन। यो तपाईंलाई दिइएको विषयवस्तुमा तपाईंको भरपुर ज्ञान त्यसको प्रश्नानुसारको प्रस्तुतिमा भर पर्ने कुरा हो। त्यसैले, वस्तुगत विषयगत परीक्षाको तयारीमा ध्यान दिनु जरुरी हुन्छ।

वस्तुगत परीक्षा, भ्रम निराकरण

हामी धेरैजसो वस्तुगत परीक्षाका लागि बजारमा पाइने एकदुई पुस्तकमा भरमा नमुना प्रश्नोत्तर बढीभन्दा बढी याद गर्नेतर्फ लाग्छौं। प्रश्न निर्माण गर्दा नमुना प्रश्नोत्तरबाट गरिँदैन। पाठ्यक्रमअगाडि राखेर त्यससँग सम्बन्धित विषयवस्तुमा आधारित पुस्तक, ऐन, नियम, नियमावली आदिबाट गरिन्छ। त्यसैले, वस्तुगत परीक्षाको तयारीका लागि बढीभन्दा बढी विषयवस्तुलाई समेट्ने आधिकारिक पुस्तक अध्ययन गर्नुपर्छ। जस्तैः शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९, शिक्षक सेवा आयोग नियमावली २०५७, नेपालको संविधान २०७२ (संशोधनसहित) आयोगका प्रतिवेदनहरूको सँगालो आदि।

लिखित परीक्षाको मूल धर्म प्रश्नानुसार व्यवस्थित उत्तर लेखन नै हो। परीक्षाअगाडि समयानुसार लेखन अभ्यास पटकपटक गर्नु नै तपाईंको नाम सिफारिसको आधार बन्न सक्छ।

यसरी तयारी गर्दा पाठ्यक्रमले तोकेका वास्तविक कुराको अध्ययन विस्तृत रूपमा हुने, गलत तथ्यांकबाट बच्न सकिने पर्याप्त विषयवस्तुको अध्ययन पनि हुन्छ। त्यसैले, सामग्री संकलनमा ध्यान दिनुपर्छ। आवश्यकभन्दा बढी सामग्री संकलनले पनि समस्या पैदा गर्छ।

स्मरण कसरी ?

हामी धेरैको बानी पढ्ने अनि पढेको कुरा चाँडै बिर्सने हुन्छ। एउटा तथ्यांक वा मितिलाई अर्कोसँग गलत हुने गरी प्रयोग गर्ने हुन्छ। त्यसबाट बच्न तयारी गर्दा महत्वपूर्ण घटना, मिति, तथ्य, विषयवस्तुलाई आफ्नो नोटकपीमा टिपोट गर्नुपर्छ बारम्बार दोहो¥याउनुपर्छ। दोहो¥याउँदा पनि लेख्ने, सूत्र बनाउने, टेबल बनाएर भित्तामा टाँसेर पढिरहने बानी बसाल्नुपर्छ। नलेखी एकोहोरो किताब मात्र पढिरहनु समयको बर्बादी मात्र हुन्छ।

एकभन्दा बढी पुस्तकको अध्ययन गर्दा पाइएका नयाँ कुराहरूलाई नोटमा तुरुन्त टिपोट गर्नुपर्छ। वस्तुगत प्रश्नको विकल्प छनोट गर्दा प्रश्नको विश्लेषण गरी गलत विकल्प पत्ता लगाएर त्यसपछि मात्र सही विकल्पमा पुग्नु पर्छ। तर हाम्रो मस्तिष्क सही कुन भन्नेतर्फ जान्छ। गलत कुन हो भन्नेतर्फ नलाग्दा उस्तै लाग्ने अर्को गलत विकल्पको छनोटमा फस्ने डर हुन्छ।

कसरी गर्ने विषयगत तयारी

विषयगत परीक्षाको तयारीका लागि शिक्षक सेवा आयोगले तोकेको पाठ्यक्रममा आधारित रहेर सम्बन्धित तह विषयको पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक निर्देशिका अन्य सन्दर्भसामग्री, तालिम सामग्री संकलन गर्नुपर्छ। निमावि मावि तहको पाठ्यक्रममा उच्च तहको विषयवस्तुलाई समेटिएको हुँदा त्यससँग सम्बन्धित पुस्तकहरू संकलन गर्नुपर्ने हुन्छ। सम्बन्धित विषयको पाठ्यक्रममा भएका उद्देश्य ती उद्देश्य पूरा गर्ने शिक्षण विधि, सामग्री, शिक्षण सहजीकरण प्रक्रिया, मूल्यांकनका विधि, साधन तरिका तथा मापदण्डहरूको अध्ययनमा जोड दिनुपर्छ।

शिक्षण सहजीकरण प्रक्रिया लेखनमा सूचना सञ्चार प्रविधिका सामग्रीहरूको प्रयोगलाई स्थान दिने क्रियाकलाप लेखनको तयारी गर्नुपर्छ। विषयवस्तु शिक्षणसँग सम्बन्धित गराएर प्रत्येक शीर्षकसँग सम्बन्धित प्रश्न आफैं निर्माण गरी समय व्यवस्थापन गरी पटकपटक परीक्षा लेख्ने आत्ममूल्यांकन गर्ने बानी गर्नु समयमा नै प्रश्नको उत्तर लेख्ने अभ्यास सफलताको आधार बन्दछ।

धेरैजसो परीक्षार्थीहरू आफू प्रश्न निर्माण गर्दैनन्। अरूले बनाएर दिएको प्रश्नको उत्तर लेख्न अल्छी गर्छन्। वास्तवमा लिखित परीक्षाको मूल धर्म प्रश्नानुसारको व्यवस्थित उत्तर लेखन हो। त्यसैले, प्रश्नोत्तर लेखनको भरपुर अभ्यास परीक्षा अगाडि पटकपटक समय व्यवस्थापन गरेर गर्नु नै तपाईंको नाम सिफारिसको आधार बन्न सक्छ।

निबन्धात्मक उत्तरको सट्टामा बुँदागत, खदिलो उदाहरणसहितको उत्तर लेखन सान्दर्भिक हुन्छ। यसो गर्दा समयमा नै सटिक उत्तर दिन सकिन्छ। वर्षमा एक पटक मात्र परीक्षामा लेख्ने बानीले सफलता दिलाउँदैन। हाम्रो प्रत्येक दिनको नियमित निरन्तर अभ्यास, लेखन, प्रश्न विश्लेषण, इन्टरनेटबाट ल्याइने सामग्रीले हामीलाई विषयवस्तु लेखनमा प्रखर बनाउँछ।

शिक्षक सेवा आयोगको तयारी गर्नेहरू समय नै पुगेन भन्छन्। जति समय , आफूमा भएको लिखित क्षमताको कमजोरी, विषयवस्तुको ज्ञानको कमजोरी, उत्तर लेखनमा वास्तविक उत्तर संगठन गर्ने कमजोरी, बुँदागत रूपमा उत्तर लेख्ने कमजोरी समयमा उत्तर लेख्न नसक्ने बिर्सने कमजोरी आदि के त्यसलाई पत्ता लगाई दैनिक लिखित अभ्यास अध्ययन गर्नु राम्रो हुन्छ। आफूमा भएको कमजोरी सुधार नै शिक्षक बन्ने सूत्र हन सक्छ।

योगनिधि भट्टराई

(शिक्षक सेवा आयोगले २०७० सालमा सञ्चालन गरेको परीक्षामा इलामबाट मावि, निमावि प्रावि तीनै तहमा नाम निकालेका भट्टराई  हाल विद्यालय निरीक्षक पदमा कार्यरत छन्।)

from : annapurnapost

:4381 Views

One thought on "कसरी गर्ने शिक्षक सेवा आयोगको तयारी?"

  1. Punam says:

    Good suggestions!thank you do much sir!

Leave a Reply