किन एउटै क्रियाकलाप लामो समयसम्म गर्न रुचाउँदैनन् बालबालिका?

बालबालिकाहरू स्वभावैले दौडिने, उफ्रिने, चलमल गर्ने हुन्छन् । त्यसैले उनीहरूलाई एकै ठाउँमा नचलिकन बसेर पढ्ने, सुन्ने वा क्रियाकलापमा मात्रै समावेश गरिएमा उनीहरूले फरकफरक अनुभव पाउन सक्तैनन् । त्यसैले उनीहरूको सिकाइ तथा विकासका क्रियाकलापहरूमा अभिरुचि हुँदैन । भएमा पनि एकदमै कम मात्र हुन्छ । त्यसैले साना बालबालिकालाई सिकाउँदा वा अन्य विकासात्मक क्रियाकलापमा समावेश गर्दा क्रियाकलाप वा खेल विधिबाट सिकाउनु उपयुक्त हुन्छ ।

५ वर्षभन्दा मुनिका साना बालबालिकाहरू कुनै एक क्रियाकलापमा मात्र धेरै बेर संलग्न हुन रुचि राख्दैनन् । एउटै क्रियाकलापमा मात्र संलग्न गराई राख्नु पनि उपयुक्त हुँदैन । फरक क्रियाकलापहरूमा संलग्न हुँदा बालबालिकाको मस्तिष्कले पनि फरकफरक अनुभूतिहरू लिइरहेको हुन्छ । यसबाट बालबालिकाले विभिन्न सीपहरू सिकिरहेका हुन्छन् । जस्तो संवेगको नियन्त्रण, उचित समयमा उचित प्रतिक्रिया दिन, भाषा, संकेतहरू बुझेर सो अनुसार गर्न, सामाजिक सीप तथा साक्षरताका सीपहरू बालबालिकाले खेलबाट सिक्दछन् ।

त्यसैले उनीहरूलाई संलग्न गराइने क्रियाकलापहरू फरकफरक तर छोटो अवधिको हुनुपर्दछ । कुनै पनि खेल वा क्रियाकलाप (कथा, गीत, कविता) आदि पनि लामो समयको नभई छोटो अवधिको बढीमा १५ मिनेटको मात्र हुनुपर्दछ । यो कुरा पनि जान्न आवश्यक छ कि साना बालबालिकाहरू एउटै खेल, कथा वा गीत धेरै पटक दोहोर्याएर गर्न मन पराउँदछन् ।

साना बालबालिकाले आफ्नो वरिपरिको वातावरण एवं आफू नजिकका व्यक्तिसँगको अन्तरक्रियाबाट र अन्य व्यक्तिको क्रियाकलापको अवलोकन गरेर सिक्दछन् । बालबालिकाहरूको सिकाइ उनीहरूको इन्द्रियहरूसँग पनि सम्बन्धित हुन्छन् । त्यसैले उनीहरूले इन्द्रियहरूको प्रयोगबाट पनि सिक्ने गर्दछन् । जस्तै, हेर्ने, सुन्ने, छुने, स्वाद लिने र सुघ्ने क्रियाकलापबाट उनीहरूले नयाँ कुरा सिक्दछन् । त्यसैले साना बालबालिकाहरूको सिकाइ एवं विकासका लगि उनीहरूको पाँचवटै इन्द्रियहरूलाई सक्रिय बनाउने क्रियाकलापहरू गराउनुपर्दछ ।

त्यसैगरी बालबालिकाले अवलोकन र अनुकरणबाट सिक्ने हुनाले बालबालिकाको हेरचाह, रेखदेख गर्ने व्यक्ति, परिवारका सदस्य, समुदायिका व्यक्तिहरू र बालविकास केन्द्रका सहयागी कार्यकर्ता एवं शिक्षकहरूले आफूलाई राम्रो आचरण एवं व्यवहार भएको व्यक्तिका रूपमा प्रस्तुत हुनुपर्दछ ।

बालबालिकाहरूलाई कुनै पनि कुरा सिकाउँदा उनीहरूले देखेको वा थाहा भएको कुराबाट गर्नुपर्दछ । यसले गर्दा बालबालिकाहरूमा सिकाइप्रति अभिरुचि बढ्नुका साथै सिकेका कुरा उनीहरू प्रयोगमा ल्याउन सक्षम हुन्छन् ।

बालबालिकालाई सिकाइ क्रियाकलाप सञ्चालन गर्दा बालविकास केन्द्र, प्रिस्कुल, मन्टेश्वरी एवं घर परिवारमा घोकन्ते ज्ञान हासिल गर्ने नभई उनीहरूले सिक्ने प्रत्येक विषयवस्तुहरू बुझ्ने अर्थपूर्ण किसिमका हुनुपर्दछ । सानो उमेरमा सिकेका र भोगेका कुराहरू पछिसम्म रहिरहने हुनाले यो उमेरमा सिकेका कुराहरू उनीहरूको भविष्यका लागि जगका रूपमा रहेको हुन्छ ।
सानो उमेरका बालबालिकाको सिर्जनात्मक सीपहरूको विकास गर्नाले उनीहरूलाई भावी जीवनमा पनि सिर्जनशील हुन मद्दत गर्दछ । बालबालिकालाई मौखिक रूपमा सिकाउनुभन्दा कुनै वस्तु नै देखाएर त्यसको पहिचान दिलाउँदा बढी प्रभावकारी हुन्छ र उसको मानसपटलमा पछिसम्म त्यसको चित्र रहने हुन्छ ।

उनीहरूले वयस्कले गरेको व्यवहारबाट नक्कल गरेर, अवलोकन गरेर सिक्छन् तसर्थ बालबालिकालाई यस्ता क्रियाकलापहरूमा संलग्न गराउँदा वा नक्कल गर्न दिइएमा बालबालिकाहरूले आफैमा नियन्त्रण गर्न सक्ने सीप सिक्नुको साथै जिम्मेवारीको सीप विकास गर्न सक्छन् । आमा बुवा, आफन्त र सहजकर्तासँगको मायालु वातावरण, दरिलो सम्बन्ध नै बालबालिकाको मस्तिष्क विकासका लागि महत्वपूर्ण तत्व हो ।

:780 Views

Leave a Reply