केब्स स्कुल मन्थलीको बृहत् शैक्षिक प्रदर्शनी सम्पन्न

मन्थली । मन्थलीआकासेमा अवस्थित केब्स स्कुलले स्थापनाको १५ वर्ष पूरा गरेको सुखद् अवसरमा आयोजना गरेको ’केब्स बृहत् शैक्षिक प्रदर्शनी’ जि.स.स. रामेछापका प्रमुख प्रेमबहादुर खड्काले उद्घाटन गरेका छन् ।

अवलोकनका लागि मन्थलीस्थित सबै स्कुलका शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो । रामेछाप जिल्लाका सरकारी तथा गैरसरकारी संस्था र पेशागत संगठन आवद्ध व्यक्तित्वहरू, राजनीतिक दल, पत्रकार, पेशा व्यवसायीका साथै केब्सका विद्यार्थीहरू र अभिभावहरूले प्रदर्शनी अवलोकन गरेका छन् ।

प्रदर्शनीमा विशिष्ट अतिथिको रूपमा आमन्त्रित ३ नं प्रदेशका सभासद शान्तिप्रसाद पौडेलले अवलोकन पश्चात केब्सले शिक्षा क्षेत्रमा अनुकरणीय काम गरेको बताए । विभिन्न स्कुलका विद्यार्थीहरूले केब्सले उच्च स्तरीय शैक्षिक वातावरण बनाएको सुनेको भएपनि आज त्यो प्रत्यक्ष देख्न पाएको र केब्स स्कुलको शैक्षिक गुणस्तरबाट अत्यन्तै प्रभावित भएको प्रतिकृया दिएका थिए ।

रामेछापका विद्वतवर्गहरू र अन्य आगन्तुकहरूले यस्तो उच्च स्तरीय शैक्षिक प्रदर्शनी जिल्लामै पहिलो पटक देख्न पाएको र यो प्रदर्शनी सबैले अवलोकन गर्नुपर्ने बताएका थिए ।
प्रदर्शनीमा विद्यार्थीहरूले बनाएको जलबिद्दुत, वायुविद्युत, केबुलकार, फुटबल स्टेडियम, माछापालन, मूर्तिकला, नेपाली बाजाहरू, मन्दिरहरू, डोजर, मिनी पुस्तकालय र विभिन्न भवनहरू तथा प्राकृतिक प्रोटोटाइपहरू मूख्य आकर्षणको केन्द्र बनेका थिए । यसका अलाबा विभिन्न विषयहरूसँग सम्बन्धित आकर्षक र ज्ञानबर्धक प्रोजेक्टहरू र ग्यालरीका साथै हस्तकलाका विविध साधनहरू प्रदर्शन गरिएका थिए ।

प्रदर्शनी अवलोकन पछि समापन समारोहलाई संबोधन गर्दै मन्थली नगरपालिका प्रमुख रमेश बस्नेतले रामेछाप जिल्ला भित्र पनि राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने शैक्षिक गुणस्तर भएको स्कुल छ भन्ने कुरा यो शैक्षिक प्रदर्शनी मार्फत केब्स स्कुलले प्रमाणित गरेको बताउँदै स्कुलका शिक्षक र विद्यार्थीहरूलाई बधाई ज्ञापन गरेका थिए ।

करिब २१०० जनाले प्रदर्शनी अवलोकन गरेको स्कुल प्रिन्सिपल केशव तिमल्सिनाले नुवागी डटकमलाई जानकारी दिए ।

:1030 Views

Leave a Reply