के विद्यालयमा अतिरिक्त क्रियाकलाप हुन्छन् ?

काठमाडौं । ‘हामी कक्षामा पढाउँदा सबै विद्यार्थीहरुलाई एक नै बनाउन भनेर पढाउँछौं, तर सबै एक त हुँदैनन्, त्यसमा हामी शिक्षक सफल नहुँदा रहेछौं, बरु प्रत्येक विद्यार्थी पृथक र क्षमतावान् हुँदा रहेछन्, ती पृथक र क्षमतावान् विद्यार्थीलाई अवसर दिने काम अतिरिक्त क्रियाकलापले दिँदो रहेछ, यसर्थ पनि विद्यालयमा अतिरिक्त क्रियाकलाप आवश्यक छ, कुन बेला विद्यार्थीको प्रतिभा प्रस्फुटन हुन्छ, पत्तो हुन्न, यसैले यसलाई निरन्तर रुपमा अघि बढाउनुपर्छ ।’ भक्तपुरको सूर्यविनायक नगरपालिकाको दधिकोटस्थित मोर्डन बोर्डिङ स्कुललका प्रिन्सिपल अनिल कसपाल भन्छन् ।

अहिलेको २१ औ शताब्दीमा अतिरिक्त क्रियाकलापको महत्व अझ बढ्दै गएको छ । यस्तो अवस्थामा विद्यालयले अतिरिक्त क्रियाकलापलाई उच्च, प्रथम स्थान बनाएर अतिरिक्त होइन, अनिवार्य गर्नुपर्छ । अझ सरकारले केही वर्ष अघिबाट लागू गरेको परीक्षा मूल्यांकनमा अक्षरांक प्रणालीपछि त पढाइभन्दा बढी क्रियाकलापलाई जोड दिइएको छ, यसैले अहिले विद्यालयको परिचय बनाउने काम विद्यार्थीले यति अंक ल्यायो भनेर नभएर विद्यार्थीको कसरी व्यक्तित्व विकास भयो भन्नेमा केन्द्रीत हुन थालेको विद्यालयका शिक्षक एवं प्रधानाध्यापकहरुको भनाइ छ ।
‘मैले लामो समयदेखि अतिरिक्त क्रियाकलापकै नाम फेर्नुपर्ने सुझाव दिँदै आएको छु, बोल्दै आएको छु, अतिरिक्त क्रियाकलापले नै विद्यार्थीको सर्वाङ्गीण विकास गर्ने भएकाले यस्ता क्रियाकलापलाई अतिरिक्त नभएर अनिवार्य भन्नुपर्छ ।’ भक्तपुर एनप्याब्सनका जिल्ला अध्यक्ष जीबी खड्काले भने ।

आफ्नो नियमित पाठ्यपुस्तकका पाठहरु बाहेकका क्रियाकलापहरुलाई अतिरिक्त क्रियाकलाप भन्न सकिनेमा कोहीको दुईमत छैन ।

विद्यार्थीको बहुआयामिक व्यक्तित्व विकास गर्ने उद्देश्यले शिक्षालयहरुद्वारा सञ्चालन गरिने नियमित शिक्षण सिकाइ क्रियाकलापभन्दा बाहिरका सम्पूर्ण गतिविधिहरु नै अतिरिक्त क्रियाकलाप हुन् । यस्ता क्रियाकलापले विद्यार्थीको शारिरीक, मानसिक, बौद्धिक, संवेगात्मक, सिर्जनात्मक, चारित्रिक, प्रवद्र्धनात्मक र सामाजिक विकासमा महत्वपूर्ण सहयोग गर्छ ।

शिक्षार्थीको सर्वाङ्गीण विकास गर्नका लागि पाठ्यक्रमले औपचारिक रुपमा निर्दिष्ट गरेका क्रियाकलापभन्दा बाहिरका सम्पूर्ण शैक्षिक क्रियाकलापलाई अतिरिक्त क्रियाकलाप भन्ने गरिएको छ । अझ विद्यार्थीको बहुआयामिक व्यक्तित्व विकास गर्ने उद्देश्यले शिक्षालयहरुद्वारा सञ्चालन गरिने नियमित शिक्षण सिकाइ क्रियाकलापभन्दा बाहिरका सम्पूर्ण गतिविधिहरु नै अतिरिक्त क्रियाकलाप हुन् । यस्ता क्रियाकलापले विद्यार्थीको शारिरीक, मानसिक, बौद्धिक, संवेगात्मक, सिर्जनात्मक, चारित्रिक, प्रवद्र्धनात्मक र सामाजिक विकासमा महत्वपूर्ण सहयोग गर्छ । विद्यार्थीको ज्ञान, सीप र व्यवहारमा अपेक्षित परिवर्तन ल्याउन, प्रतिस्पर्धात्मक सामथ्र्य बढाउन तथा बौद्धिक क्षमताको अधिकतम् प्रर्दशन गर्न शारिरीक र मानसिक विकासका लागि सहयोगी क्रियाकलापहरु पनि अतिरिक्त क्रियाकलापभित्रै पर्दछन् ।

यही यथार्थलाई मनन् गरी काठमाडौंको सिनामंगलस्थित गुह्यश्वरी माविका प्रअ मेघबहादुर बञ्जारा, सिद्धेश्वर माविका प्रअ प्रभाकर न्यौपाने, जनउद्धार मावि, सीतापाइलाका प्रअ रवि खनाल, काठमाडौं थलीस्थित राष्ट्रिय माविका प्रअ अनिलकुमार झाले आफूले नेतृत्व गरिरहेको विद्यालयहरुमा विभिन्न अतिरिक्त क्रियाकलाप भइरहेको बताउँछन् ।

अतिरिक्त क्रियाकलापले नियमित सिकाइलाई स्तरीयमात्र बनाउँदैन, यसले व्यक्तिमा मौलिक चिन्तन, नेतृत्व गर्ने सीप र सिर्जनशीलता पनि विकास गराउँछ । अतिरिक्त क्रियाकलापले विद्यार्थीलाई मात्र नभएर सिंगो विद्यालयलाई पुर्याउने गरेको भए पनि विद्यालयहरुले, शिक्षकहरुले , अभिभावकहरुले अझै पनि मात्र पढाइलाई नै उच्च प्राथमिकतामा राख्ने गरेका छन् । यो अत्यावश्यक भए पनि पढाइ र अतिरिक्त क्रियाकलापलाई समानान्तर रुपमा लग्नुपर्ने प्रिन्सिपल कसपालको सुझाव छ ।

सिद्धार्थ विद्यापीठका प्रिन्सिपल दीपिका थापा रिमाल भन्छिन्, ‘हामी कुन महिना, कति गते, कुन बार इसिएका कुन कार्यक्रम कसरी गर्ने भन्ने कुरा शैक्षिक वर्षको सुरुआतमा नै निर्धारण गर्छांै, सोहीअनुसार तत्दिनहरूमा कसले कुन कक्षामा अथवा कसलाई कति बेला इसिए गराउने भन्ने योजना बनाएर इसिए इन्चार्जमार्फत कार्यक्रम गर्छौँ । विशेषगरी यस्ता कार्यक्रमहरू शुक्रबार धेरै र मङ्गलबार अलि गरी हप्तामा दुईपटक सञ्चालन हुन्छन् ।’

जति इसिएमा विद्यार्थीहरू उत्सुकताका साथ सहभागी हुन्छन् त्यति उनीहरूमा सकरात्मक भावना, अनुशासन, मर्यादा, प्रतिष्पर्धी वचार, साथीत्व, मित्रताजस्ता मानवीय गुणहरू विकास हुन्छन् । पाठ्यपुस्तकबाहेक अन्य विषयको ज्ञानार्जनको रुचि विकास हुन्छ जसले दैनिक पठनपाठनलाई प्रत्यक्ष सकरात्मक प्रभाव पार्दछ त्यसैलेविद्यार्थी र इसिएबीच अन्योन्याश्रित सम्बन्ध रहने कुरालाई मनन गरी आफ्नो विद्यालयमा गीत, गायन, कला दैनिक कार्ययोजना ( रुटिन)मा नै तय गरिएको उनी बताउँछिन् । यसबाहेक मार्सल आर्टका कक्षा बिहानमा र शनिबार हुन्छन् उनले नेतृत्व गरिरहेको विद्यालयमा ।

त्यस्तै काठमाडौंकै जनउद्धार माविका प्रअ खनालले पनि महिनामा न्यूनत्तम तीनवटा अतिरिक्त क्रियाकलाप हुने गरेको बताउँछन् । उनले पनि विद्यालयमा अतिरिक्त क्रियाकलाप विभाग गठन गरेका छन् । त्यो विभागले कार्यक्रमको सम्पूर्ण जिम्मेवारी लिने गरेको उनी बताउँछन् । उनले विद्यालयले स्थानीय क्लव, समाज, प्रहरी, अन्य सामाजिक संघसंस्थाहरुसँग पनि सहकार्य गरी विभिन्न सेचनतामूलक कामहरु गर्दै आएको बताउँदै त्यस्ता कार्यक्रमहरुले विद्यार्थीको पढाइमा टेवा पुगेको बताए । उनले साप्ताहिक रुपमा मात्र नभएर महिनामा कुनै न कुनै दिन सामाजिक विषय, वातावरणीय विषय, स्वास्थ्य सचेतनाका विषयमा पनि अभिमुखीकरण हुँदै आएको बताए ।

शारदा माविकी पूर्व प्रअ रेविना श्रेष्ठले पनि विद्यालयहरुले अतिरिक्त क्रियाकलापलाई निरन्तर रुपमा गर्नुपर्ने सुझाव रहेको बताइन् । उनले अतिरिक्त क्रियाकलापमा सहभागी भएका विद्यार्थीहरुलाई अझ मेहनत गर्न उत्प्रेरणा मिल्ने र त्यो उत्प्रेरणाले उसको पढाइमा पनि उर्जा मिल्ने भएकोले पनि अतिरिक्त क्रियाकलापलाई अघि बढाउनुपर्ने उल्लेख गरेकी छन् ।

प्याब्सन महासचिव राजेन्द्र बानियाँ आफ्नो विद्यालय फरक तरिकाले सञ्चालन भइरहेको जानकारी दिन्छन् । उनी भन्छन्, ‘यो विषयमा हामी अलि फरक छौं । यो विद्यालयले ट्राफिक प्रहरीको आग्रहमा, खासगरी काठमाडौंको जाम व्यवस्थित गर्न र आवतजावतमा सहज बनाउन बिहान ९ बजेभित्र विद्यालय बस स्कुल कम्पाण्डभित्र छिर्नुपर्ने र बेलुका पनि ५ बजेभित्र छिरिसक्नुपर्ने जुन नियम छ । त्यसैलाई आधार मानेर हामी बिहान पौने ९ बजे विद्यालय सुरु गरिसक्छौं । र हामी साढे २ बजे पठनपाठन सक्छौं । साढे २ बजे हाम्रो नियमित पठनपाठन सकिएपछि हामी अतिरिक्त क्रियाकलापलाई अघि बढाउँछौं ।’

उनले आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीले कुनै न कुनै खेलकुदमा सहभागी हुनुपर्ने प्रावधान बनाएको उल्लेख गरे । ‘नेपाल सरकारले ल्याएको वन चाइल्ड, वन स्पोर्टस्को नारालाई अक्षरस पालना गरिरहेका छौं । यहीकारण यहाँ पढ्ने विद्यार्थीले साढे दुई बजे पछाडि एउटा न एउटा खेल खेल्नुपर्छ ।’ त्यसका लागि उनले आफ्नो विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नका लागि आठवटा क्लव बनाएको बताए ।

एनप्याब्सन अध्यक्ष रितुराज सापकोटाले विद्यालयमा विभिन्न क्रियाकलापको लागि शैक्षिक क्यालेण्डर बनाएको बताउँछन् ।‘ विद्यालयहरुमा विद्यार्थीहरु पढ्नभन्दा बढी अतिरिक्त क्रियाकलापअन्तर्गत खेल्न मन पराउँछन् । कति विद्यार्थीहरु भने कुनै पनि अतिरिक्त क्रियाकलापमा सहभागी नहुने स्वभावका भेटिएका छन् । कति क्रियाकलापहरु हामी विद्यार्थीको रुचिका आधारमा, मागका आधारमा पनि तय गर्ने गरेका छौं ।’ उनले भने ।

 

:2085 Views

One thought on "के विद्यालयमा अतिरिक्त क्रियाकलाप हुन्छन् ?"

  1. Sagar says:

    एनप्याब्सनका जीबी खड्काको कुरा चाहिँ दमदार लाग्यो । अतिरिक्त क्रियाकलाप त प्रत्येक स्कुलैपिच्छे भइरहेकै हुन्छन् । तर जबसम्म अरिरिक्त नै भइरहन्छ, तबसम्म….. ।
    यसैले यो क्रियाकलापलाई अनिवार्य नै गराउनुपर्छ । त्यतातर्फ पनि ध्यान दिने कि ?
    सागर

Leave a Reply