कोरोनाः मानव, मानव अधिकार र मानव विनास

कोभिड–१९ को विश्वव्यापी महामारीले एकातिर सिङ्गो मानव जाति र मानव सभ्यतालाई ठाडो चुनौति दिएको छ भने अर्कोतिर हाम्रो संस्कार, शिक्षा, विज्ञान र प्रविधीमाथि थुप्रै अनुत्तरित प्रश्नहरु तेस्र्याएको छ किनकी अहिले यतिखेर विश्वका अत्यन्त धेरै विकसित, सुबिधा सम्पन्न र शक्तिशाली राष्ट्रहरु समेत सबै घुँडा टेकेर लाचार हुन बाध्य भएको अवस्था छ ।

जुनबेला चीनको वुहानमा महामारी फैलिंदै थियो र हजारौंको ज्यान लिंदै थियो, त्यतिबेला अरु विश्वलाई त्यो विपद्को समाचार हेर्ने र सुन्ने सम्म फुर्सद थिएन, किनकी त्यो समस्या चीनको एउटा प्रान्त हुबेईमा मात्र थियो । तर महामारीे यसरी सल्कियो कि यसले तुरुन्तै विश्वव्यापी महामारीको रुप लिंदै विश्वका सबै देशलाई आक्रान्त बनाएको छ । वुहानमा पहिलो चोटी देखिएको भनिएको यो भाइरसलाई लिएर विभिन्न कन्सिपिरेसी थ्योरी, शंका, उपशंका, जैविक युद्धको अनुमान, आदि पनि हुँदै आएका छन् तर एउटा कुरा के सत्य छ भने यो मानिसहरुको स्वार्थलुलुप्त जीवन दर्शन र पद्दतीको उपज हो, प्रकृतिमाथिको अन्याय र अपमानबाट उसैले निम्त्याएको विपद् हो । “के भाईरसले हामीलाई मार्न चाहन्छ?” भन्ने प्रश्नको जवाफमा भारतका सदगुरुले दुनियामा मान्छेबाहेक अरु कुनैपनि जीव र जीवाणुले आफ्नै वासस्थान ध्वस्त नबनाउने भन्दै भाइरस हाम्रो शरिरमा बस्न मात्र चाहेको तर कसैको शरिर आफैंमा कमजोर छ भने मान्छेको मृत्यु हुने बताएका थिए । यसर्थ, अब मानवजातिको “सर्वश्रेष्ठ प्राणी”को स्वनामधारी उपाधीमाथि गम्भिर प्रश्न खडा भएको छ र कोरोना मानव सिर्जित विपद हो भन्ने पुष्टि भएको छ ।

सामान्यतः हामीले यूरोपेली देशहरु, अस्ट्रेलिया र क्यानडालाई मानव विकासको एउटा नमुना र अमेरिकालाई विश्व सुपरपावरको रुपमा बुझ्दै आएको हो तर यो महामारीले त्यो बुझाईलाई पनि गलत सावित गरेको छ । हिजो मान्छेहरु ती देशहरुमा जान लालायित हुन्थे, आफ्नो सर्वश्व बाजीमा राख्न तयार हुन्थे भने आज गईसकेकाहरु समेत फर्कन गुहार मागिरहेका छन् । लकडाउनको सेरोफेरोमा भिजा लागेका मान्छेहरुको मनोदशा त झन सोचनीय छ ।

तर, अत्यन्त विचारणीय कुरा, महामारी फैलिएको चीन र त्यसपछि एकदमै सल्किएको दक्षिण कोरियामा यसको नियन्त्रण जति छिटो भयो, युरोप, अमेरिका, अष्ट्रेलियामा चाँही ठीक उल्टो हुँदैछ, एकदमै सल्किंदैछ र क्षति दिन प्रतिदिन चुलिँदै छ । आखिर किन यस्तो हुँदैछ त? तपाईँलाई मन नपर्न सक्छ तर यसको सीधा जवाफ हो – लोकतन्त्र र मानव अधिकार । व्यक्तिगत स्वतन्त्रता, लोकतन्त्र र मानव अधिकारको सम्मान गर्ने नाममा भाईरस कन्टेन गर्न गर्नुपर्ने लकडाउन समयमा नगर्नु, लकडाउन गरिसकेपछि व्यक्तिगत मानव अधिकार भन्दै उल्लंघन र अटेरी गर्नु र सरकारले बल प्रयोग गर्न नसक्नु यसका प्रत्यक्ष प्रमुख कारण हुन् । ईटलीको फ्लोरेन्स नगरमा एकजना चीनिया नागरिकले “म भाईरस हैन, मान्छे हुँ, पूर्वाग्रह त्यागौं” भन्ने भावको प्लेकार्ड सहित सडकमा बसेको देखेर भावनामा डुब्दै त्यहाँका मेयर डारिया नार्डेल्लाले आफैंले चीनीया नागरिक अंकमाल गरे र सो को तस्विर सार्वजनिक गर्दै “हग अ चाईनिज” अर्थात “एकजना चिनीयालाई अंकमाल गरौं” भन्ने अभियान चलाए र त्यसको एक हप्ता भित्र ईटलीमा कोरोना सल्किन सुरु भयो ।

मानव सभ्यता नै संकटमा पुगेको यो आपतकालमा समेत मानव अधिकारको दुहाई दिएर आफ्नो देशमात्र हैन, सिङ्गो विश्वलाई नै रित्याउन लागि परेका अधिकारकर्मी र स्वच्छन्द प्रेश जगतको बेईमानीको मूल्यांकन त सायद इतिहासले गर्ला नै तर अहिले अरुको त के कुरा, अमेरिका जस्तो विश्व शक्तिको राष्ट्रपति डोनल्ड ट्रम्प आफैं निरिह हुन पुगेको अवस्था छ । त्यहाँको जनरल मोटर्स कुनैबेला डुबन्त अवस्थामा पुग्दा अरबौं अमेरिकी डलर दिएर सरकारले नै उद्दार गरेको थियो तर अहिले उसले राष्ट्रपति र सरकारले आपतकालिन रुपमा भेन्टिलेटर बनाउन दिएको आदेश नमानेको मात्र हैन, आफुसँग भएको भेन्टिलेटर समेत लुकाएको खुलेको छ । आखिर कहाँबाट आउँछ यस्तो दुष्शाहस? जवाफ सीधा छ, लोकतन्त्र । त्यहाँको प्रतिपक्षी डेमोक्र्याट्सको भूमिका पनि उदेकलाग्दो छ । आफ्नो कार्यशैलिका कारण ट्रम्प जति आलोचित छन्, त्यो भन्दा बढी डेमोक्र्याट्सको भूमिका आलोचित छ । सामान्य अवस्थामा लोकतन्त्र एउटा सुन्दर अभ्यास हो तर संकटकालमा यसको कुरुपता पनि देखियो । ईटली, फ्रान्स, स्पेन, अमेरिका, आदिको लकडाउन र चीन र उत्तर कोरियाको लकडाउनको भिन्नता र कोरोना नियन्त्रणको परिणामले यसको सप्रमाण पुष्टी गर्छ । आज अमेरिका जस्तो देश अब चीन र अरुदेशहरुबाट भेन्टिलेटर तथा अन्य सामग्री आयात गर्न बाध्य भएको छ । सक्कली लोकतन्त्रको अभ्यास गर्ने देशहरुमा त यस्तो अवस्था छ भने हाम्रो जस्तो स्वच्छन्दतावादी लोकतन्त्रको त कुरै भएन ।

लोकतन्त्रको यो संकटकालिन कुरुपता विरुद्ध आपतकालिन क्रुरता नै एउटा निर्विकल्प उपाय हो र यसको परिकल्पना लोकतन्त्रमा नभएको पनि हैन तर यसको लागि अधिनायकत्वको कमी भएको भने पक्कै हो । तसर्थ, त्यसका लागि कोरोनाले जे गर्नसक्छ, त्यो प्रहरी प्रशासन र सुरक्षा फौजले लकडाउन उल्लंघन गर्नेलाई सडकमा अबिलम्ब गरेर, बिरामी बनाएर देखाउनुपर्छ । ढाड खुस्किएमा, हातखुट्टा भाँचिएमा वा सुम्लो उठेमा त्यो अरुमा सर्दैन र त्यसको उपचार सुनिश्चित छ तर कोरोनाको उपचार कहिँ कतै सम्भव छैन र यसको फैलावट डढेलो भन्दा लाखौं गुणा तीब्र छ किनकी कुनैपनि डढेलोले संसार ढाक्न सक्दैन तर कोरोनाले ढाकीसकेको छ । यस्तो गरेन भने त्यो बेला मात्र सडक खाली हुन्छ जब मान्छे सिद्धिन थाल्नेछ, शहर–गाउँ रित्तिन थाल्नेछ । अनि हाम्रा तस्विर पनि ईटली, स्पेन र फ्रान्सको जस्तै विभत्स हुनेछ । हामीकहाँ पनि केही अधिकारकर्मी र क्लासिक लोकतन्त्रवादीहरुले आफ्नो अन्तर्राष्ट्रिय औकात देखाएर विरोध गर्ने नै छन् र गरिरहेकै पनि छन् । लकडाउनमा सडक र गल्लिहरुको परिदृष्यले धेरै ठूलो संकटको संकेत गर्दैछ । अन्तर्राष्ट्रिय उडानमा संक्रमितसँग यात्रा गर्नेको नामावली प्रकाशित गर्दा समेत विरोध भएकै हो तर आफ्नो कर्तव्य सम्झेर ती यात्रीहरु आफैं अगाडी आउँदैनन् भने जबर्जस्ती तानेर भए पनि स्वास्थ्य परीक्षण, क्वारेन्टाईन र आइसोलेशनमा राखेर राष्ट्रको सुरक्षा गर्नु सरकारको दायित्व हैन र? हो, यस्तोमा क्रुरता आवश्यक छ । संकटको यो विषम परिस्थितीमा एकाध मान्छेहरुको भावनात्मक कुराको पछि लागेर ऐतिहासिक रुपमा अक्षम्य गल्ति गर्ने छूट राष्ट्रलाई हुँदैन । संकटमोचन पछि मानव अधिकार उल्लंघनका मुद्दाका खेल पनि खेल्दै गरौंला तर त्यसको लागि पनि नागरिकलाई बचाउनु त जरुरी नै छ । याद राखौं, संकटको यो घडीमा राष्ट्रहरुले आफ्ना नागरिक बचाउन सकेनन् भने सिङ्गो विश्व, मानव जाति र सभ्यताको पतन हुन सक्छ । महामारी त कुनै न कुनै रुपमा टुङ्गिन्छ नै तर त्यो सँगै लोकतन्त्र पनि संसारबाट सदाको लागि विदा हुन सक्छ ।

सिङ्ग लामा
प्रिन्सिपल/को-फाउन्डर, गोल्डेन गेट इङ्गलिश स्कूल
एड्जंक्ट फ्याकल्टी, कान्तिपुर भ्याली कलेज तथा हिकास्ट

:770 Views

Leave a Reply