क्यास : शिक्षकलाई ‘बोझ’, विद्यार्थीलाई ‘मोज’

हरिसुन्दर छुकां/ काठमाडौं ३० साउन । निरन्तर विद्यार्थी मूल्यांकन अर्थात् ‘क्यास’ लाई तपाइँ कसरी बुझ्नुहुन्छ ? राम्रो, नराम्रो, उपयुक्त वा अन्य कुनै ।

बुझाई तपाइँको मौलिक हुन सक्छ । तर सोही प्रणालीबाट विद्यार्थीको मूल्यांकन गरिरहेका शिक्षक र प्रधानाध्यापकहरुले यो प्रणालीलाई विद्यार्थीमैत्री सिकाइ र मूल्यांकनका माध्यमका रुपमा स्वीकार्नुको सट्टा थप बोझ मानेका छन् ।

शिक्षा विभागले सो विषयमा गरेको अनुसन्धात्मक अध्ययनले निकालेको निचोड पनि यही हो । ‘अधिकांश शिक्षक र प्रधानाध्यापकहरुले निर्माणात्मक मूल्ल्यांकनलाई केवल औपचारिकताका रुपमा मात्र लिए । उनीहरुले निरन्तर विद्यार्थी मूल्यांकनलाई थप बोझका रुपमा मात्र लिए ।’ अध्ययनका निश्कर्षमा उल्लेख छ ।

यतिमात्र नभएर सोही अध्ययनको निश्कर्षमै ‘अभिभावककहरुले निरन्तर विद्यार्थी मूल्यांकन भनेको ‘पटकपटक परीक्षा दिने’ र विद्यार्थीहरुले निरन्तर विद्यार्थी मूल्यांकन भनेको ‘परीक्षा नदिइकन परीक्षा उत्तीर्ण गर्ने’ भन्ने बुझेका थिए ।’ भन्ने पनि उल्लेख छ ।

आफैंले लागू गरेको कार्यक्रमको प्रभावकारिता जाँच गर्न गरेको अध्ययनले यस्तो निश्कर्ष निकाले पनि सरोकारवाला शिक्षा मन्त्रालयदेखि शिक्षा विभागसम्मलाई अझ ‘लाज’ लागेको छैन ।

परीक्षा मूल्यांकन प्रणालीमा ‘क्यास’ लागू हुने बित्तिक्कै विद्यार्थीको मिहिनेत गर्ने बानीमा कमी आउने विषयमा सुरुमै सतर्क गराउँदा ‘उल्लुु’ बनाइएका शिक्षाविद् विद्यानाथ कोइरालाले क्यासकै कारण अल्छीपना बढेको बताउँछन् । ‘मलाई सुरुमा यो कोइराला नचाहिने कुरा मात्र बोल्छ भनेर उडाए, कक्षा १२ पढेका विद्यार्थी अक्षर चिन्दैनन्, यो अवस्था केले आयो ? के यही क्यासको परिणाम हैन र ?’

प्राथमिक विद्यालयहरुमा कक्षा छाड्ने र कक्षा दोहो¥याउने दर न्यून गर्नका लागि लक्षित उदार कक्षोन्नति नीतिका पूरकका रुपमा निरन्तर मूल्यांकन प्रणाली ९० को दशकको अन्त्यतिर अझ विशेष गरी नवौं योजना(१९९७–२००२) मा सुरुवात गरिएको थियो ।

विद्यालय क्षेत्र सुधार कार्यक्रमबाट सिकेका पाठका आधारमा हाल कार्यान्वयनमा रहेको विद्यालय क्षेत्र विकास योजना(एसएसडीपी, २०१६–२०२३) का उल्लेख्य योजनाहरुमध्ये एउटा योजना निर्माणात्मक र निर्णयात्मक मूल्यांकन दुबैलाई सीप र सिकारु केन्द्रीत बनाउने कुरामा जोड दिँदै विद्यालय क्षेत्र सुधार कार्यक्रमको उपलब्धिमा थप गर्नु रहेको थियो ।

विद्यालयहरुमा विद्यार्थीहरुको निरन्तर मूल्यांकनलाई सुदृढ बनाउने प्रभावकारी उपायहरुको खोजी गर्नका गरिएको विभागको अनुन्धानात्मक अध्ययन जम्मा ८ वटा जिल्लाहरुका ३२ विद्यालयहरुलाई छनोट गरी गरिएको थियो । त्यस अध्ययनमा प्रारम्भिक कक्षा पढाइ कार्यक्रम लागू भएका दुई जिल्ला पनि समेटिएका थिए ।

 

:3369 Views

Leave a Reply