गणेश मावि ः यो सरकारी स्कुल हो र ?

भक्तपुर । भक्तपुरको भार्वाचो उकालो झर्दै गरेकी माइली तामाङले विद्यालयको भवनअघिको दृष्य ((गुन्यू चोली, मारुनी नाच नाच्दा लगाइने पोशाकमा सजिएका विद्यार्थीहरु) देखेर प्रतिक्रिया नदिइरहन सकिनन्, ‘ओहो ! कति राम्रा विद्यार्थीहरु, यिनीहरु सरकारी स्कुलमै पढ्ने हुन् त ?
उनीसँगै आइरहेका उनका श्रीमान् शंकर तामाङले प्रतिप्रश्न गरे, ‘हो त, उ त्यो माथिको बोर्ड देखिनौ ?’ उनले पनि प्रतिप्रश्न गरिहालिन्, ‘सरकारी स्कुलका बच्चाहरु पनि यस्ता हुन्छन् र ?’
भक्तपुर नगरपालिका वडा नंं १ भार्वाचोको उक्त विद्यालयको ३५ औं वार्षिकोत्सवको तयारीस्वरुप विभिन्न भेषभुषामा सजिएर आएका अनि कार्यक्रमलाई सफल बनाउन तल्लिन विद्यार्थीहरु देखेर काभ्रेकी माइली दंग परिन् । उनी कामविशेषले भक्तपुर आएकी थिइन् ।
काभ्रेको बनेपामा बस्दै आएकी उनी गणेश माविसँग प्रत्यक्ष सरोकार राख्ने व्यक्ति होइनन् तैपनि विद्यालयले गर्न लागेको वार्षिकोत्सवको तामझाम देखेर दंग परिन् र उनको मनमा माथिको जिज्ञासा आएको बताइन् ।‘सरकारी स्कुल भनेको त फोहोर लुगा लगाउने, चप्पल लगाउने बच्चा पढ्ने सुनेको, देखेको, यहाँ चाहिँ पक्कै पनि बोडिङ्कै कार्यक्रम होला भनी सोधेको यहाँ त सरकारीमा पो पढ्ने रहेछ, त्यही भएर….।’ उनले भनिन् ।
त्यसलगत्तै विद्यालयको कार्यक्रम सुरु भयो, कार्यक्रमको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले गरे ।
सो क्रममा उनले विद्यालयका शिक्षक, प्रअ, समुदायको चिन्ता र चिन्तनको कारण विद्यालयले प्रगति गरेको बताउँदै देशको प्रगति नभएकोमा सरकारमा गएका दलहरुमा चिन्तन नभएको चर्चा गरे ।
उनले विद्यार्थीलाई पाठ्यपुस्तकमा भएका विषयका अलावा अतिरिक्त क्रियाकलापमा पनि सरिक गराउनुपर्ने, भाषण कला सिकाउनु पर्ने, वादविवाद गराउनुपर्नेमा जोड दिँदै किताबी किरो बनेका विद्यार्थी व्यक्तिगत स्वार्थ केन्द्रीत हुने गरेको र बाहिरी गतिविधिमा सहभागी विद्यार्थीमा भने सामुहिक स्वार्थको भावना हुने अनुभव सुनाए ।
उनले सरकारी स्कुल सप्रनुका पछाडि अभिभावकहरुको पनि हात हुने भएकाले अभिभावकलाई विद्यालयमा जान पनि अनुरोध गरे, ‘अभिभावकहरु विद्यालय जाने, आफ्ना सन्तानको पढाइ, विद्यालयको अवस्थाबारेमा जानकारी लिने गरेको खण्डमा शिक्षकहरु उत्साहित हुन्छन् ।’
कार्यक्रमकै क्रममा सांसद प्रेम सुवालले सरकारकै कारण देशमा दुई खालको शिक्षाको विकास भएको बताउँदै सरकारी स्कुलहरुले पनि निजी विद्यालयजस्तै गरी काम गर्न सक्ने बताए । उनले उत्पादन श्रमसँग जोडिएको शिक्षा दिन नसकेसम्म समृद्धि नआउने बताउँदै विद्यार्थीमादेशप्रेमको भावना विकास हुने चेतना दिने काम शिक्षकले दिनुपर्ने बताए ।
त्यस्तै अन्य वक्ताहरु पूर्व सांसद अनुराधा थापामगर, वडा नं. १ का वडा सदस्य विश्वराज शिल्पकारले पनि गणेश स्कुलमा आउँदा सरकारी स्कुलको छनक नआएको बताएका थिए ।
कार्यक्रममा संयुक्त परीक्षा समितिका अध्यक्ष अम्बिका न्याईच्याईं, आधारभूत विद्यालय समितिका अध्यक्ष सूर्यबहादुर फोँजूले पनि विद्यालयलाई राम्रो बनाउने काममा सहकार्य हुनुपर्नेमा जोड दिए ।
यतिमात्र नभएर सोही विद्यालयको कक्षा १० मा पढिरहेका विद्यार्थी सुजन लामाले आफूलाई सरकारी स्कुलमा पढेर गर्व लागेको बताए । उनले राम्रो सुविधाको भवन पाएको, लगनशील, मिहिनेती शिक्षक पाएको बताए । ‘यहाँका शिक्षकहरु शिक्षकमात्र हैनन्, हाम्रा अभिभावक पनि हुन्, हाम्रो स्कूल बोर्डिङभन्दा कम छैन ।’
विद्यालयका सहायक प्रअ गणेशराम थुसाका अनुसार हाल सो विद्यालयमा ३७० जना विद्यार्थी अध्ययन गरिरहेका छन् । अपर्याप्त दरबन्दीका बाबजुद पनि एसएलसी तथा एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल गणेश माध्यमिक विद्यालय बोर्डिङभन्दा राम्रो बनाउने लक्ष्य रहेको सहायक प्रअ थुसाको भनाइ छ ।
कार्यक्रमकै अवसरका विद्यालयको शैक्षिक, भौतिक उन्नयनमा सहयोग गर्ने सबैलाई सम्मान गरिएको थियो । कार्यक्रममा शिक्षकहरु निर्जला ख्याजु, प्रअ गंगाराम याकामी, लक्ष्मीसुन्दर सुवाल, वुद्धलक्ष्मी बाइजू, गणेशराम थुसा, हरिराम मुस्याख्व र लक्ष्मीशोभा न्याईच्याई सम्मानित भएका थिए ।

:1168 Views

Leave a Reply