गाईजात्रा

हाम्रो देशका मुख्य मुख्य पर्वहरुमा गाईजात्राले महत्वपूर्ण ठाउँ ओगटेको छ । नेपालमा चलेका विभिन्न जात्रा मध्ये गाईजात्रा एउटा हो । गाईजात्रा पर्व प्रत्येक वर्ष भाद्र शुक्ल परेवाको दिन मनाइन्छ । यो वर्षको गाइजात्रा भदौ ११ गते सोमबार परेको छ ।
गाईजात्रा खास गरेर नेवार समुदायमा प्रचलित छ । यस समाजमा कुनैपनि घरमा वर्षभरिमा जति मानिस मरेका छन् त्यति मानिसको तस्वीर या गाई या अन्य कुनै भेषमा शहर घुमाइन्छ । परिवारको सदस्यले दिनभरि विभिन्न टोल घुमेर रमाइलो गर्दै घर फर्कन्छन् । गाईजात्रा पर्व भाद्र कृष्ण परेवाको दिनदेखि आठ दिनसम्म चल्छ ।
गाईजात्रा पर्व नेपालमा ठाँउअनुसार विभिन्न किसिमले मनाइन्छ । काठमाण्डौंमा गाईको भेष लिने मासिहरु टाउकामा चेप्टो पेरुङ्गे टोपी लगाउँछन् ।त्यसमा छ्वालीका दुईटै सिंह बाँधी बीचमा फूलहरु घुसारिएका हुन्छन् । उनीहरुको मुख पनि रातो, कालो, पहेंलो रङ्गका बुट्टाले भरिएको हुन्छ । सहर घुम्दा उनीहरु झिलिमिली लुगाको चोलोे र जामा पहिरेर सेतो पटुका बाँधी दुबैतिरबाट पटुका भुइमा लतार्दै हिडछन् । यस्ता मानिसहरुको अघि पछि साँचिकै एउटा गाई र जोगीको भेष लिएका मानिस हुन्छन् । बाजागाजा पनि घन्किएको हुन्छ । ठाउँ ठाउँमा मानिसले जात्रूहरुलाई पुरी, मालपुवा र फलफूल बाँडिरहेका हुन्छन् ।
पाटनमा मनाईने गाईजात्रामा टोपी मात्र काठमाण्डौंको जस्तो हुन्छ, अरु लुगा भने साबिककै हुन्छन् । पटुका को छेउ भुइँमा लतारेर हिँडनुको साटो त्यसमा पुराना टुटेफुटेका धातुका भाँडाकुँडा बाधिएका हुन्छन् । सहर घुम्दा पनि सबै एकै ठाउँमा जम्माभई हुल बाँधेर घुम्छन् । त्यसबेला भाँडाकुँडाको अनौठो आवाज सुनिन्छ । भक्तपुरमा चाँहि टोपीलाई डोकोको टुप्पामा बाँधिएको हुन्छ । यसरी नै देशका अन्य भागमा पनि केही फरक फरक रुपमा गाईजात्रा मनाउने गरिन्छ ।


गाईजात्रा मानिसहरुलाई गाईको भेषमा मात्र सिमित छैन् । यसदिन सहरमा दिउँसो हाँसखेलको प्रर्दशन गर्ने टोलीहरु पनि सहर घुम्न थाल्छन् । उनीहरु दिनभर अनौठो भेष लिएर अरुलाई हँसाउदै रमाइलो गर्छन् । उट्पट्याङ गरेर हिड्नु बोल्नु र मनोरञ्जन गराउनु उनीहरुको मुख्य उद्देश्य हुन्छ । यसरी गाईजात्रामा विचित्र रुप लिने हुनाले कुनै छन्द न बन्दको मानिस देखिएकोमा कस्तो गाईजात्रे रहेछ ! भन्ने गरिन्छ ।
नेपालमा चलेका महत्वपूर्ण पर्व मध्ये गाईजात्रा पनि एउटा हो । यसदिन गाईको सिङले यमलोकको ढोका खोल्छ र मानिसहरुको आत्मा त्यहाँ भित्र पस्न पाउँछ भन्ने लोकधारणा छ । आमोदप्रमोदका रुपमा गाईजात्राको ठूलो महत्व छ । यसबेला वाक्स्वतन्त्रता हुन्छ । जात्रामा हिँडेका मानिसहरु सामाजिक अव्यस्था माथि व्यङ्ग हान्दै निकै गहिरो कुरा व्यक्त गर्छ । अचेलभरि गाईजात्रा उत्सव मनाउने, हास्यव्यङ्ग्य सम्बन्धि पत्रपत्रिका र पुस्तिकाहरु निकाल्ने आदि गरेर पनि यस चाडलाई रमाइलो पार्ने गरिएकोछ ।


लेखक
अर्पित भट्राई
कक्षा ः ९,
बेबिलोन नेशनल स्कूल
शान्तिनगर, काठमाडौं

:945 Views

Leave a Reply