गोल्डेन गेटमा आईएसए जुजु धौ व्यापार मेला

भक्तपुर । बेलायत सरकारको ब्रिटिश काउन्सिल ईन्टरनेशनल स्कूल अवार्ड कार्यक्रम अन्तर्गत महाकालीस्थान, भक्तपुरस्थित गोल्डेन गेट इंग्लिस सेकेण्डरी स्कूलका कक्षा ४ र ५ का विद्यार्थीहरुले २० प्रतिशत स्थानीय पाठ्यक्रम प्रोजेक्ट “æCurd in Clay Bowl“ सम्पन्न गर्ने क्रममा “जुजु धौ व्यापार मेला“ आयोजना गरे । बुबाको मुख हेर्ने दिन (कुशे औंसी) को शुभ अवसरमा विहान ७ बजेदेखि ९ बजेसम्म आयोजित उक्त मेलामा करिब ७५ जना अभिभावकहरुले अवलोकन गरी विद्यार्थीहरुले नै परम्परागत रुपमा जमाएको दही “जुजु धौ“ खुब अभिरूचिका साथ खरीद गरेका थिए । प्रमुख आगन्तुक स्रोतव्यक्ति कृष्णप्रसाद कर्माचार्यले दहिको स्वाद लिदै परम्परागत सीप र क्षमताको विकास गराउने यस्तो कार्यक्रमले उत्कृष्ट शिक्षा दिने भन्दै विद्यालयको कदम प्रशंसनीय रहेको बताए ।

यस प्रोजेक्ट अन्तर्गत विद्यार्थीहरुले विभिन्न चरणमा परम्परागत सीप सिक्ने र सो को वास्तविक अभ्यास गर्ने मौका पाएका थिए । सुरुमा स्थानीय माटोकला विशेषज्ञ माईला प्रजापतिबाटमाटोको “भ्यग“ बनाउने सम्बन्धी सैद्धान्तिक र व्यावहारिक ज्ञान लिए पछि उनीहरु आफैंले प्रोजेक्टका लागि आवश्यक ७० वटा “भ्यग“ बनाए । त्यसपछि स्थानीय दही विशेषज्ञ राजेन्द्र शाखबाट दहिको ऐतिहासिक तथा साँस्कृतिक महत्व र यसको निर्माण विधि सम्बन्धी सीप एक छुट्टै कार्यशाला मापÞर्mत सिके ।

त्यसपछि सुरु भयो प्रयोगात्मक रुपमा ठुलो परिणाममा दही जमाउने कार्य । एकदिन अगाडि दिउँसो आफुले सिकेको सीप र बिधि प्रयोग गर्दै खुब रमाइलोका साथ विद्यार्थीहरुले दही जमाए र भोली पल्ट बिहान यस जुजु धौ व्यापार मेलाको आयोजना गरे । परम्परा, कला र संस्कृतिसँग भावनात्मक रुपमा जोड्ने यो परियोजनाको विद्यार्थी, शिक्षक, अभिभावक एवं आगन्तुकहरुले खुलेर प्रशंसा गरेका छन ।

यस परियोजना अन्तर्गत उनीहरुले परम्परागत पेशा तथा खानाका परिकारहरूको थप अध्ययन पनि गर्नेछन र भारत, पाकिस्तान, चेक गणतन्त्र आदि लगायतका देशहरुमा परम्परागत रुपमा दही बनाउने बिधिको तुलनात्मक अध्ययन समेत गरी सिकाईमा अन्तर्राष्ट्रिय आयाम ल्याउनेछन् । प्रोजेक्टले विद्यार्थीहरुमा संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष २, ३ र ८ सम्बन्धी चेतना दिने र सामाजिक अध्ययन, गणित र सिर्जनात्मक अभिव्यक्ति कला आदिको पाठ्यक्रमको प्रायोगिक शिक्षण गर्ने विद्यालय प्रशासनले जनाएको छ ।

:472 Views

Leave a Reply