ग्रामरमा उत्कृष्ट प्रहरी अधिकृत सम्मान एवम् स्काउट दिक्षा

काठमाडौं । ग्रामर पब्लिक स्कुल कोटेश्वरमा गठन गरिएको ग्रामर स्काउट ट्रुपको तेस्रो दिक्षान्त समारोहमा शनिबार महानगरीय प्रहरी प्रभाग कोटेश्वरका प्रमुख र सहायक प्रमुख गरि दुई उत्कृष्ट प्रहरी अधिकृतलाई सम्मान गरिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंबाट ३५ हजार नगद सहित गत जेठमा उत्कृष्ट प्रहरी निरीक्षकको पुरस्कारबाट पुरस्कृत महानगरीय प्रहरी प्रभाग कोटेश्वरका प्रमुख, प्रहरी निरीक्षक राजु लामा तथा सोही प्रभागका सहायक इन्चार्ज प्रहरी नायव निरीक्षक श्याममणी पोखरेललाई सम्मान गरिएको हो । नायव निरीक्षक पोखरेलले परिसरबाट गत असारमा २५ हजार नगदसहित उत्कृष्ट नायव निरीक्षकको पुरस्कार पाएका थिए ।
स्थानीय जनता, विद्यालयसंगको सहकार्यमा कोटेश्वर क्षेत्रमा शान्ति सुरक्षा तथा अमनचैन कायम गर्न विशेष भूमिका खेल्दै उत्कृष्ट प्रहरी निरीक्षक र उत्कृष्ट नायव निरीक्षकको पुरस्कार पाउन सफल भएकोमा प्रहरी निरीक्षक लामा र नायव निरीक्षक पोखरेललाई सम्मान गरिएको विद्यालयले जनाएकोछ ।
ग्रामर स्कुल/कलेज व्यवस्थापन समितिका अध्यक्ष जयकुमार राई, ग्रामर स्कुलका संस्थापक प्रिन्सिपल तथा ग्रामर स्काउट इकाई समितिका अध्यक्ष राजकुमार राई, भाइस प्रिन्सिपल सुदर्शन पाण्डे र निर्देशक भरतकुमार राईले प्रहरी निरीक्षक लामा र नायव निरीक्षक पोखरेललाई संयुक्तरुपमा अबिर, खादा लगाई ताम्रपत्र दिएर सम्मान गर्नुभएको हो ।
सो अवसरमा ग्रामर स्काउट ट्रुपमा आवद्ध रहि आधारभूत तालीम पुरा गरेका पाँच दर्जन नयाँ स्काउटलाई दिक्षा दिनुका साथै सदस्यता ब्यायज पाइसकेका स्काउटलाई दोस्रो तहको बिपि ब्यायज प्रदान गरियो । सो विद्यालयमा हाल एकसय ३० स्काउट छन भने कक्षा ६ देखि ८ सम्मलाई स्काउटिंग शिक्षा अनिवार्य गरिएको छ ।
ग्रामर स्कुल/कलेज व्यवस्थापन समितिका अध्यक्ष जयकुमार राई, ग्रामर स्कुलका संस्थापक प्रिन्सिपल तथा ग्रामर स्काउट इकाई समितिका अध्यक्ष राजकुमार राई, प्रहरी निरीक्षक राजु लामा र नायव निरीक्षक श्याममणि पोखरेल, स्काउट गुरु एवम् वरिष्ठ पत्रकार बलराम प्यासी, स्काउट गुरु शिवकुमार त्वायना तथा सितालक्ष्मी देशेमरुले नयाँ तथा पुराना स्काउटलाई स्कार्फ, सदस्यता ब्यायज र बिपि ब्यायज प्रदान गर्नुभयो ।
त्यस अवसरमा विदालय व्यवस्थापन समितिका अधयक्ष जयकुमार राईले स्काउटमा आवद्ध सबै विद्यार्थी, अनुशासित, आत्मनिर्भर स्वालम्वीमात्रै नभई चरित्रवान पनि देखिएको बताउनुभयो भने संस्थापक प्रिन्सिपल राजकुमार राईले स्काउटहरु सामाजिक कार्यमा पनि उत्तिकै सकृय रहेको बताउनुभयो । कार्यक्रममा सम्मानित प्रहरी निरीक्षक लामा, स्काउट गुरु एवम् वरिष्ठ पत्रकार बलराम प्यासी, स्काउट गुरु शिवकुमार त्वायना तथा विद्यालयको अतिरिक्त कृयाकलाप शिक्षक पासांग नामग्याल घिसिंगले पनि बोल्नुभएको थियो ।

:739 Views

Leave a Reply