घरमा मात्र हैन, कक्षामा पनि बुबाआमा

सबिना बानियाँ/ काठमाडौं । काठमाडौंमा बसिरहेका विश्व घिमिरेलाई उनका छोराछोरी पढ्ने स्कुलबाट निमन्त्रणा आयो । पत्रमा थियो, ‘व्यवहारिक ज्ञान दिन, पढाइमा मात्र सीमित भयो, भोलि पढेर के बन्ने, जीवनमा के कठिनाई आउँछ र आफू कसरी सफल भएँ भन्ने विषयमा बोलिदिनका लागि अनुरोध गरिन्छ ।’

आफ्ना सन्तानहरू क्रमशः कक्षा ८ मा पढिरेका पुष्पराम घिमिरे र कक्षा ५ की पुष्पा पढ्ने स्कुलमा गएर के बोल्ने होला ? भन्ने कुराले केही समय उनको मनमा डेरा जमायो । तैपनि उनले आँट गरे अनि कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई भेला गरेर उनले सुनाए, उनका जीवनका आरोह, अवरोहहरू ।

‘मेरो घर रामेछाप, मैले पढ्नकै लागि सानैबेलादेखि धेरै मेहेनत गरेँ। गाउँबाट एसएलसी दिएर म काठमाडौं आएँ । नेपाल हस्तकला संघमा काम गरेँ र संघर्ष गर्दै सिकेँ । त्यस समयमा कोठा भाडा तिर्न समेत मुस्किल थियो, तैपनि जसरी तसरी भए पनि मैले स्नातक (बीबीएस) गरेँ । पछि आफूसँग भएको पैसालाई सकरात्मक काममा लगानी गरेर उद्योग खोलेँ, म अहिले उद्योगी बन्न सफल भएको छु । म कलर टेक्निसियन(रङ प्राविधिक) पनि हुँ । मैले नेपाली हाते कागज बनाउने उद्योग खोलेँ । अहिले रामेछापमा र काठमाडौंमा गरी नेपाली कागज कारखाना छ । म शनिबार र कामले फुर्सद भएको समयमा आफ्नो व्यवहारिक अनुभव र ज्ञानका कुरा आफ्ना सन्तानलाई सुनाउँछु ।’

यसरी विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान, बच्चाहरूलाई एउटा अभिभावकले कति संघर्ष गरेर हुर्काएको, पढाएको, शिक्षामा लगानी गरेको हुन्छ र बच्चा व्यवसायिक कसरी बन्ने भन्ने विषयमा आफ्ना अनुभव सुनाइरहेकै बेला एक विद्यार्थीले प्रश्न गरे ‘त्यसो भए हामीले चाहिँ के गर्ने?’ उनले थपे, ‘बानी व्यवहार नबिगार्ने, गलत कुरामा नफस्ने, संस्कार नबिर्सने र बाबुआमाले गाली गर्नु भयो भनेर त्यसलाई नकारात्मक रूपमा नलिने, जे कुरालाई पनि सकारात्मक तरिकाले सोच्ने, बाबुआमालाई अनावश्यक चिन्ता नदिने ।’ एक सय २० मिनेटको कक्षामा विद्यार्थीलाई व्यवहारिक र व्यवसायिक बन्ने सन्दर्भमा उनले जोडे, ‘बच्चाहरूलाई पढेर के बन्ने भन्दा कोही डाक्टर, कोही पाइलट, कोही इन्जिनियर बन्ने भन्ने गर्छन् । तर व्यवहारिक रूपमा सबै बालबालिकाले भनेको कुरा पुग्दैन । पछि कोही उद्योग, कोही व्यवसाय, र कोही जागिरमा लाग्छन् । नेपालको अधिकांश भूभाग, बनावट र बस्ने स्थिति हेर्दा स्वदेशी कच्चा पदार्थबाट कसरी उत्पादन र के उत्पादन गर्न सकिन्छ र हाम्रा बच्चाहरूलाई विदेश पठाउने भन्दा पनि स्वदेशी कच्चा पदार्थको प्रयोगबाट उद्योग स्थापना गर्ने विषयमा बच्चामा लगाव दिन आवश्यक छ ।’

अभिभावक घिमिरेकी छोरीकी साथीले ‘तिम्रो बाबाले यति संघर्ष गर्नुभएको रहेछ, अनि संघर्ष गरेरै यति राम्रो उद्योग सञ्चालन गर्न सक्नु भएको रहेछ’ भनेर छोरी स्कुलबाट फर्केपछि बुबाको संघर्षको कथामा छोरीकी सहपाठीले प्रतिक्रिया दिँदा अझ गर्व महशुस गरेको उनको अर्को अनुभव छ । आफूले गरेको संघर्ष, अनभूति सेयर गर्न पाउँदा उनलाई जीवन अझ सार्थक भएको महशुस भएको छ । ‘प्रिन्सिपल र अरु शिक्षकले पनि मलाई तपाईँले बोलेको कुराले बच्चालाई राम्रो प्रभाव पर्यो र तपाईँको प्रशंसा गरे भन्ने प्रतिक्रिया दिनुहुँदा अझ आनन्द आयो ।’ उनले थपे ।

माथिको अनुभूति कहिल्यै कक्षामा गएर नपढाएका एक अभिभावकको हो । काठमाडौंको एक स्कुलमा अभिभावक बच्चालाई स्कुल पुर्याउनमात्र होइन, स्कुलका विद्यार्थीलाई पढाउँछन् पनि, तर जहिल्यै होइन, कहिलेकाहिँ । घरका शिक्षक मानिने अभिभावक यो विद्यालयमा भने शिक्षक पनि बन्ने गरेका छन् । शिक्षकले सधैँ पढाउने स्कुलमा अभिभावकले वर्षमा एक पटक पढाउछँन् । सबै अभिभावकले भने पढाउने होइन । एक अभिभावक आई विद्यार्थीलाई पढाउँछन् । तर उनले किताबका पाठ पढाउँदैनन्, उनले पढाउछँन् त जीवनका पाठ । जीवनका भोगाई र जीवनमा आमाबुवाले आफ्ना सन्तानका लागि गरिने योगदानका कुरा ।

यो अभ्यास काठमाडौंको कपनस्थित मान्डु ऐकेडेमीले नियमित रूपमा गर्दै आइरहको छ । त्यसका लागि कार्यक्रमको नाम राखिएको छ, ‘पाहुनाबाट प्रेरणात्मक कार्यक्रम’ । ती पाहुना अरु कोही नभई विद्यालयमा पढ्ने बालबालिकाका अभिभावक हुन् । विद्यालयले विगत ३ वर्षदेखि आफ्ना विद्यार्थीलाई व्यवहारिक शिक्षा दिन अभिभावक शिक्षा कार्यक्रम गर्दै आइरहेको छ । उनीहरूलाई जीवनका कठिनाई, आमाबुवाले सन्तानका लागि गरेका त्यागका विषयमा बालबालिकालाई थाहा दिन, संघर्षका आरोह, अवरोह, समस्या पहिचान र त्यसको समाधानको उपाय निकाल्न मान्डु स्कुलले यो कार्यक्रम गर्दै आएको छ ।

‘विद्यालयले किताबी शिक्षा मात्र नदिई उनीहरूलाई व्यवहारिक ज्ञान र प्रेरणा दिन यो कार्यक्रमको अवधारणा बनाएका हौँ,’ स्कुलका प्रिन्सिपल नारायण पोखरेलले बताए, ‘शिक्षकहरूले त बेला बेला कक्षामा व्यवहारिक ज्ञान दिइनै रहेका हुन्छन् । तर त्योभन्दा पनि उनीहरूकै बाबा आमाबाट यस्तो कार्यक्रम भएमा सबैले त्यो प्रतिनिधि अभिभावकको अनुहारमा आफ्नो बुवा र आफ्नो आमाका रूप देखि अभिभावकले गरेको कामको र योगदानको सही रूपमा मूल्याङ्कन गर्न सक्छन् ।’

बच्चालाई सफल मात्र होइन असल बनाउन यस्ता कायक्रम आवश्यक रहेको बताउँदै उनी भन्छन्, ‘असल डाक्टर भयो भने उसले किड्नी चोर्दैन, असल इञ्जिनियर भयो भने कमसल सिमेन्ट हाल्दैन, पुल भाचिँदैन, असल शिक्षक बन्यो भने ऊ आफ्नो पेशामा नैतिकवान हुन्छ, त्यसैले पहिला असल अनि मात्र सफल बन ।’

पहिला जस्तो दण्ड दिएर, गाली गरेर पढाउने शैलीलाई बदलेर बच्चामा पढाउने तरिका परिवर्तन गरी बच्चालाई आत्मनियन्त्रणका आत्मउत्प्रेरणा जगाउन र आफ्ना बाबा आमाले आफ्नालागि बिहानदेखि बेलुकासम्म गरेको दुखका कुरा बच्चासम्म पुर्याउन स्कुलले यो कार्यक्रम गर्दै आइरहेको छ ।

बच्चाहरूलाई कृत्रिम सीमा बनायौ भने त्यो सीमा राखुन्जेल मात्र उ त्यो सीमाभित्र रहन्छ । तर त्यही कुरा उनीहरूको व्यवहारमा, संस्कारमा राख्दा उनीहरूले आत्मनियन्त्रण गर्न सक्ने, र त्यो दीर्घकालीन हुने उनको सोच छ ।

जेहेन्दार विद्यार्थीकै अभिभावक जसले जीवनमा संघर्ष गरी केही गरेको छ, जसले शिक्षाको महत्व बुझेको हुन्छ त्यस्ता खालका अभिभावकलाई विद्यालयले छान्ने गर्छ । र कक्षा लिँदा अभिभावकले आफ्नो जीविकोपार्जन, आफ्ना सन्तानको पढाइको लागि गरेका संघर्ष, पढाईको महत्वका विषयमा बोल्न लगाइने प्रिन्सिपल पोखरेल बताउँछन् ।

अभिभावकले त्यसरी अनुभूति सुनाइसकेपछि प्रिन्सिपल आफैले प्रतिक्रिया लिने गरेका छन् । प्रतिक्रिया लिँदा विद्यार्थीले आफ्नो नाम नराखी दिने गर्छन् । जसले गर्दा कुन कुरा कुन विद्यार्थीले भन्यो भन्ने कुरा गोप्य रहन्छ । त्यसरी आएका प्रतिक्रिया स्कुलले अभिभावकलाई पुर्याउने गरेको छ । त्यसरी फिडब्याक पाउँदा अभिभावक अझ उत्साहित हुने गरेको उनले बताए ।

:966 Views

Leave a Reply