घाम ताप्दै, एसईईको तयारी परीक्षा दिँदै बेबिलोनका विद्यार्थी

काठमाडौं । २०७६ सालको माद्यमिक शिक्षा परीक्षा (एसईई) को दिन नजिकिँदै छ । हरेक वर्षको चैतको पहिलो या दोस्रो साता यो परीक्षा सञ्चालन हुँदै आएको छ । अहिले कक्षा १० मा पढिरहेका विद्यार्थीहरु त्यसको तयारीमा छन । १३ वर्षसम्म विद्यालयमा पढेपछिको अन्तिम कक्षाको परीक्षाको रुपमा एसईईलाई लिइन्छ ।

त्यसो त सरकारले १२ कक्षासम्मलाई विद्यालय शिक्षा मानेता पनि अहिलेसम्म १० कक्षापछि लिईने माद्यमिक शिक्षा परीक्षा (एसईई) लाई नै विद्यार्थी, विद्यालय, परिवार र समाजले बढी चासो दिने गरेको पाइन्छ । कलेज पढ्ने प्रवेशद्वार भएतापनि कक्षा १२ को परीक्षामा भने धेरैको चासो जाँदैन । दोस्रो त्रैमासिक परीक्षा सकिएपछि प्रायःजसो सबै विद्यालयले एसईई परीक्षा दिने सबै विद्यार्थीलाई पढाईमा मात्रै लक्षित गराईराखेको छ भने उनीहरुले पढेको कुरा नमुना परीक्षामार्फत जाँच लिँदै उनीहरुलाई एसईईको लागि तयार बनाउँदै आएको छ ।
यसै सिलसिलामा मिनभवन शान्तिनगरस्थित बेबिलोन नेशनल स्कुलले एसईई परीक्षामा सामेल हुने ६५ जना विद्यार्थीको लागि विद्यालयको प्रांगणमा जाडो महिनामा घाम तपाउँदै नमुना एसईई परीक्षा लिएको छ । विद्यालयले सबै परीक्षार्थीलाई अलग अलग कुर्सी÷टेबल राखेर घाम तपाउँदै नमुना एसईई परीक्षा लिएको हो ।

सरकारले एसईई परीक्षामा ग्रेडिङ्ग प्रणाली लागु गरेपछि विद्यार्थी फेल नहुने कारण पछिल्लो समयमा विद्यार्थीमा मिहेनत गर्ने वानी हट्दै गएकोले नीजि विद्यालयहरुले १० कक्षाका विद्यार्थीलाई अरु अतिरिक्त कृयाकलापमा सहभागी नगराई पढाईको साथै एसईईको तयारीमा नमुना परीक्षा गराईराखेका छन् । फेल नहुने काराणले गर्दा विगतमा सञ्चालित एसएलसी भन्दा एसईई दिने विद्यार्थीमा पढ्ने बानी क्रमशः हट्दै गएको छ , जसको कारण उनीहरुले कक्षा ११ र १२ मा राम्रो विषय छानेर पढ्न पाएका छैनन् ।

कक्षागत नियमित परीक्षाको साथै यस्ता नमुना परीक्षा सञ्चालन गर्दा विद्यार्थीहरु कुन विषयमा राम्रो र कुन विषयमा कमजोर छन पत्ता लाग्ने र कमजोर भएको विषयमा थप मिहनेत गराउन सकिने बेबिलोन स्कुलका प्रिन्सिपल राजु राई बताउँछन् । यसरी अलग अलग कुर्सी÷टेबलमा छुट्टाछुट्टै राखेर परीक्षा लिँदा विद्यार्थीमा एसईई परीक्षाबारे आत्मविश्वास बढ्ने उनी बताउँछन् । ‘एसईई भन्ने वित्तिक्कै पहाड जस्तो ठान्ने विद्यार्थीहरुमा अरु कक्षाको परीक्षा सरह नै एसईई परीक्षा हो आँत्तिनुपर्दैन रहेछ’ भन्ने सन्देश दिन नमुना एसईई परीक्षा सञ्चालन गर्नुपरेको प्रिन्सिपल राईको भनाई छ ।

अरु कक्षाको परीक्षा कक्षाकोठामा सञ्चालन गरिएतापनि घाममै राखेर विद्यार्थीहरुको नमुना एसईई परीक्षा लिँदा उनीहरु थप जोशिलो हुने विद्यालयको दावी छ । ‘जाडोमा घाम ताप्दै परीक्षा दिन पाउनु राम्रो अवसर हो’—प्रिन्सिपल राई हाँस्दै भन्छन् । त्यसो त यो परीक्षा लगत्तै विद्यालयले कमजोर विद्यार्थीलाई थप सहयोगी कक्षा सञ्चालन गर्नुका साथै अन्यलाई एकाविहानैदेखि साँझ अवेरसम्म नियमित कक्षा सञ्चालन गर्ने गरेको छ ।

एसईईको परीक्षा अगावै १० कक्षाका विद्यार्थीहरुलाई प्याब्सन, एनप्याब्सन लगायत शैक्षिक संस्थाहरुले नमुना परीक्षा केन्द्रमार्फत थप अरु दुईतीनवटा नमुना एसईई परीक्षा सञ्चालन गर्दै आएका छन् ।

:286 Views

Leave a Reply