चित्रमा ग्यास बनाएका विद्यार्थीले साँच्चिकै बनाए ग्यास’

science_nuwagi

भक्तपुर, २६ माघ । भक्तपुरको ज्योति माविको कक्षा ९ मा पढिरहेका एक विद्यार्थीले आफ्नो विज्ञान विषयको ग्यासहरु शिर्षकको पाठमा ग्यास यसरी बन्दो रहेछ भन्ने पढे । पढेदेखि नै उनलाई सो बारेमा प्रयोग नै गर्न पाए हुन्थ्यो भन्ने लागिरहेको थियो ।

उनलाई मात्र होइन, भक्तपुरको वागीश्वरी माविको त्यही कक्षामा पढिरहेका विद्यार्थीलाई पनि ज्योतिका विद्यार्थीलाई जस्तै लागिरहेको थियो ।

विज्ञान विषयमा पढेका कुरालाई प्रयोगै गर्न पाउँदाको मज्जा कस्तो हुँदो रहेछ ? भन्ने बुझ्न उत्सुक विद्यार्थीको उत्सुकता शुक्रबार मेटिएको छ ।
भक्तपुरको सार्वजनिक माध्यमिक विद्यालयहरुको समूह सार्वजनिक माध्यमिक विद्यालय संयुक्त परीक्षा समितिले गरेको बृहत विज्ञान विषयको शैक्षिक प्रदर्शनीमा भार्वाचोको गणेश माविका विद्यार्थीहरुले साँच्चिकैको ग्यास बनाएर देखाए । त्यतिमात्र होइन, उनीहरुले प्रयोगात्मक विधिले बनाएको कुरा ग्यास नै हो भनेर देखाए पनि । ‘ यो हामीले अक्सिजन ग्यास बनाएका हौं, यो अक्सिजन ग्यास हो भन्ने कुरा बलेको सलाईको काँटीलाई ट्युबको मुखमा लगेर थाहा हुन्छ , प्रदर्शनी गर्दै विद्यार्थी सुजन तामाङले भने, ‘अक्सिजन ग्यास हो भने यो काँटी चहकिलो गरी बल्छ ।’ नभन्दै काँटी त चहकिलो भयो ।
विद्यार्थी तामाङले मात्र होइन, परीक्षा समितिअन्तर्गत भक्तपुर नगरपालिका भेलुखेलस्थित आदर्श आजाद माविले संयोजन गरेको सो विज्ञान प्रदर्शनीमा १६ वटा विद्यालयका शिक्षक, विद्यार्थीले आफूले पढेका विज्ञानका विभिन्न विषयहरुलाई प्रयोग गरी देखाएका थिए । आफूले पढेको कुरा आफूले मात्र अरु विद्यालयका शिक्षक र विद्यार्थीलाई देखाउन पाउँदा उनीहरु फुरुङ्ग बनेका थिए ।
उनीहरुले विज्ञान विषयमा पढेका विभिन्न वैज्ञानिकहरुले प्रतिपादन गरेका सिद्धान्तलाई पनि विभिन्न स्रोत र सामग्री माध्यमबाट देखाउन पाउँदा आफूहरुमात्र नभएर हेर्ने विद्यार्थी पनि दंग भएका थिए । ‘किताबमा पढेका कुराहरुलाई खाली एउटै प्रकारले मात्र नभएर फरक फरक तरिकाले पनि जान्न सकिने, बुझ्न सकिने रहेछ भन्ने कुरा थाहा भयो, विज्ञान प्रदर्शनी हेर्न पाउँदा मज्जा लाग्यो । समाजसुधार माविका एक विद्यार्थीले भने ।

कार्यक्रमको संयोजन गरेको विद्यालयका प्रअ श्रीकृष्ण किसीले परक्षिा समितिको नियमति अतिरिक्त क्रियाकलापअन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको बताए । प्रदर्शनीमा सूर्यविनायक नपा सिपाडोलको गणेश माविले पुरातनदेखि अत्याधूनिक समयसम्म आउँदा नापतौलका साधनमा आएको विषयमा प्रदर्शनी, जोरपाटी माविले प्रसिद्ध वैज्ञानिक न्यूटनले प्रतिपादन गरेको सिद्धान्त र इजर्सियाको प्रदर्शनी गरेका थिए । सो विद्यालयका विद्यार्थीले प्रदर्शनी गरेको केबुलकारको नमूनमा धेरै विद्यार्थी झुमेका थिए ।

त्यस्तै देवी माविले घिर्नी, ज्योति माविले चाप, गणेश मावि छालिङले ध्वनि, आदर्श आजाद माविले मिश्रण, बासु माविले घोल्यमात्रा, गणेश मावि भार्वाचोले ग्यासहरु, पञ्चकन्या माविले अम्ल, क्षार र लवण, दोलागिरी माविले जीवकोष र प्राणीकोष, तारा माविले पृथ्वीको बनोट, भूवनेश्वरी माविले हरित गृह प्रभाव, चाँगुनारायण माविले प्राकृतिक विपत्ति, समाजसुधार माविलदे ब्रम्हाण्डमा पृथ्वी र वागीश्वरी माविले चूम्बकीय शक्ति र ब्याट्रीको उपयोगिता विषयमा प्रदर्शनी गरेका थिए ।

परीक्षा समितिले विद्यार्थीहरुलाई किताबी ज्ञानका अलावा प्रयोगात्मक शिक्षा पनि जोड्न र प्रयोग गरेर विद्यार्थीलाई देखाउन प्रदर्शनी गरिएको जनाएको छ । परीक्षा समितिका अध्यक्ष कृष्णप्रसाद धन्छाले विज्ञान विषय नै प्रयोगमा आधारित विषय भएकोले सो विषयमा प्रयोगात्मक कक्षा अनिवार्य भएकोमा जोड दिए । उनले ह्वाइटबोर्डंमा चित्र बनाएर ग्यास बनाएका विद्यार्थीले साँच्चिकै विभिन्न रसायनहरु मिलाएर ग्यास बनाउनु राम्रो विषय भएको बताएका थिए ।

कार्यक्रममा प्रदर्शनी गरेका विद्यालयहरुलाई कार्यक्रम आयोजकको तर्फबाट प्रशंसा वितरण गरिएको थियो ।

:568 Views

Leave a Reply