चैत १० देखि एसईई : राम्रो नतिजा ल्याउन स्कुलले चाहिँ के गर्ने ?

सबिना बानियाँ/
अरु बेला रिया झाको कोठा बेलुका ९ बजे नै अँध्यारो हुनेमा आजकाल रातको १२ बजे पनि उज्यालो देखिन्छ । उनको कोठा उज्यालो हुनुको कारण हो, एसईई (माध्यमिक शिक्षा परीक्षा)को तालिका । परीक्षा तालिका प्रकाशनसँगै उनले एसईई तयारी सुरु गरिसकेकी छिन् । ‘कोइसन ब्याङ्कका प्रश्नहरुको अभ्यास गर्दा राति १२ बजिसकेको पत्तो नै हुँदैन ।’ उनले भनिन् । यति मात्र हैन, १२ बजेपछि सुतेकी उनलाई बिहान ४ बजे नै उठ्नुपर्छ । नत्र, स्कुलमा समयमा जानै भ्याउँदिनन् उनी ।

बिहान घरमा १ घण्टा पढेर ७ बजे गणितको थप कक्षाका लागि स्कुल पुग्छिन् भने सो कक्षापछि सुरु हुन्छ उनलाई गाह्रो लाग्ने अतिरिक्त गणितको कक्षा । बिहानको अतिरिक्त क्रियाकलापपछि हुने नियमित समयका कक्षाहरूमा उनी आफूलाई नआएका कुरा शिक्षकलाई सोध्छिन् भने साथीलाई नआएका कुरा सिकाइ दिन्छिन् । स्कुलको नियमित कक्षापछि सुरु हुन्छ, १ घण्टा सामाजिक र त्यसपश्चात १ घण्टामा नेपाली र विज्ञान ।

साँझ ६ बजे उनी पुग्छिन्, चाबहिलको सरस्वतीनगरस्थित घर । खाजा खाएर उनी फेरि लाग्छिन् एसईईको तयारीमा जसमा उनी विद्यालयले अभ्यास गर्न दिएका गृहकार्य र भोलिको परीक्षाका विषय पढ्छिन् ।

शिक्षकले दिएका गृहकार्य मात्र नगरी इन्टरनेटबाट पनि एसईईको लागि आवश्यक सामाग्री हेर्ने गरेको बताउँदै भन्छिन्, ‘गुगलमा सामाजिक विषयका लागि राजनैतिक, देशको र विश्वकै वर्तमान अवस्थाको बारेमा जानकारी लिन्छु । यो दिन यो पाठ पढ्छु भन्ने योजना बनाई पढ्ने गर्छु ।’

बिहान छिट्टै उठेर स्कुल जानु पर्दा भने उनलाई बरु घरमै बसेर पढुँजस्तो लाग्छ । स्कुलमा साथीसँग पढाइका कुरा भन्दा गफका कुरा हुने हुँदा स्कुलमा साथीसँग बसेर भन्दा घरमा स्वअध्ययन गर्दा परीक्षामा राम्रो अंक ल्याउने उनको विश्वास छ । रिया काठमाडौंको चावहिलस्थित सैपाल ऐकेडेमीमा पढिरहेका छन् ।

स्कुलकी इन्चार्ज सौरभा पौडेलले विद्यार्थीको एसईईको तयारी १० कक्षामा मात्र नभई सानै कक्षाबाट सुरु गर्नुपर्ने बताउँछिन् । उनी भन्छिन्, ‘हामीले असारदेखि अतिरिक्त कक्षा सञ्चालन गरी दशैं तिहारअघि नै पाठ्यपुस्तकका विषय पढाउने काम सकाइसकेका थियौँ र बिदालगत्तै एसईईको तयारी सुरु गर्यौँ ।’

शिक्षकले हप्तामा एकपटक जाँच लिने गर्छन् । उनका अनुसार अहिलेको नियमित पुनरावलोकन कक्षाका लागि विद्यार्थीको क्षमता अनुसार ३ वटा समूहमा विभाजन गरिएको छ भने स्वअध्ययन समयमा पढ्न जान्ने र कमजोर विद्यार्थी मिलाएर समूहमा विभाजन गरिएको छ ।

‘शिक्षक जो अन्य स्कुलमा पनि पढाउनु हुन्छ उहाँहरूले अर्को स्कुलमा गरिने परीक्षाको तयारी विधि सैपालमा पनि उपयोग गर्ने र साथै अतिरिक्त पुस्तक, प्रश्नपत्र संकलन र त्यसको समाधान गर्ने, अडियो भिडियो कक्षामा विश्वमा भइरहेको कुराका जानकारी दिने गर्नुहुन्छ ।’ उनले जानकारी दिइन् ।

जो अभिभावकले आफ्नो सन्तान होस्टेल राख्न चाहन्छन् तिनलाई मात्र होस्टेल राखिने र होस्टेल नबस्नेका अभिभावकलाई बोलाएर तयारीका लागी जोड दिन स्कुलले सुझाव दिने गरेको छ ।

भक्तपुरको झौखेलस्थित आजाद माध्यमिक विद्यालयका लेखापाल सन्दिप थापाले विद्यालयले विगतका वर्षमा जस्तै नियमित तयारी गरिरहेको र बैशाख महिनादेखि नै विद्यार्थीका लागि कठिन मानिने विज्ञान, गणित, अँग्रेजी र अर्थशास्त्र विषयमा बिहान र बेलुकाको समय मिलाएर अतिरिक्त कक्षा सञ्चालन गरिरहेको जानकारी दिए । साथै विद्यालयले पुसको दोस्रो साताबाट विद्यार्थीलाई पढाइका लागि होस्टेलमा राख्ने र फरक दिन सोही विषयका शिक्षक होस्टेल बसी अझ बढी समय दिने गरेको छ ।

एसईई दिने विद्यार्थीलाई प्रथम त्रैमासिक, दोस्रो त्रैमासिक, सामूहिक विद्यालयका परीक्षा र शिक्षकले हप्तामा एकदिन मोडल परीक्षा लिने गरेका छन् । एसईईका बेलामा विद्यालय प्रशासनको ध्यान कमजोर विद्यार्थीलाई कसरी पास गराउने, उनीहरूले गा¥हो मानेका विषय कसरी सहज बनाउने भन्नेतर्फ केन्द्रित हुने गरेको उनले बताए ।

‘हाम्रो विद्यालयको अधिकांश विद्यार्थीको पृष्ठभुमि । उनीहरूमा २ –४ पैसा भएनी कमाइन्छ कि भन्ने सोच हुन्छ । केही समय भएपनि अरुकोमा काम गर्न जाने र इँट्टा पार्न जानेमा उनीहरूको ध्यान जान्छ । बिहान ३ बजे उठेर इँट्टा पार्ने र साँझ घर फर्केपछि पनि इँट्टा पार्ने काममा लाग्ने र घरमा पढ्ने वातावरण नै नभएकोले र पहिलाको होस्टेल राख्दाको राम्रो नतिजाका कारण होस्टेल राख्नु हाम्रो विद्यालयको लागि एसइईको राम्रो तयारी हो ।’

सोही विद्यालयमा अध्ययनरत अमित श्रेष्ठले एसईईको तालिका आएपछि आफ्नो दैनिक समय तालिका बनाएर नै पढ्न थालेका छन् । उनी भन्छन्, ‘बिहान पढ्दा दिमाग ताजा र पढेको कुरा याद रहने भएकाले बिहान ६ बजे उठेपछि मलाई गाह्रो लाग्ने गणित, अग्रेजी र विज्ञान विषय पढ्ने गर्छु् भने साँझ गृहकार्य गरेपछि नेपाली, सामाजिक जस्ता सजिला विषय पढ्छु ।’ स्कुलले हप्तैपिच्छे टेस्ट लिने र उनले जे आएन त्यसलाई घरमा दोहोर्याएर गर्ने गरेको उनले बताए ।

यस्तै विद्यार्थी निकेतनमा पनि एसईई तयारी चलिरहेको प्रधानाध्यापक सर्जनी जोशीले जानकारी दिइन् । घरमा पढ्ने वातावरण नहुने र सामुदायिक परिस्थिति पनि फरक हुने भएकाले, घरमा पढ्ने वातावरण नभएका विद्यार्थीलाई गुणस्तरीय विद्यार्थी बनाउनु नै चुनौती र संघर्षका कुरा हो । र पनि हामीले त्यसलाई स्वीकार गरेका छौँ ।’

एसईईको तयारीका लािग अभिभावक बोलाएर विद्यार्थीसँगै राखेर परामर्श लिने गरेको, विद्यार्थीलाई बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म कक्षा सञ्चालन गरिएको उनले जानकारी दिइन् ।

सल्लाघारीस्थित राजर्षी गुरुकुलले पनि विभिन्न तरिकाहरू अपनाएर एसईईको तयारी गरिरहेको छ । प्रिन्सिपल लियोन श्रेष्ठ भन्छन्, ‘हामीले पढ्ने र कमजोर विद्यार्थीलाई छुट्टाछुट्टै कक्षामा विभाजन गरेर राखेका छौँ, जसले गर्दा उनीहरूको पढाइको तह अनुसार कक्षा चलाउँदा विद्यार्थीलाई पनि सहज हुन्छ ।’ विद्यालयले साप्ताहिक, मासिक, वर्षमा मुख्य तीन परीक्षा र एसईईको लागि प्रि सेन्टअप परीक्षा लिने र समय–समयमा अभिभावकसँग अन्तक्र्रिया गर्ने गरेको छ ।

विद्यालयले कक्षा १० का विद्यार्थीलाई एसईई क्याप्सुल समाधान गर्न लगाइरहेको छ । गुरुकुलले ३ महिनाका लगि अन्य अतिरिक्त क्रियाकलाप बन्द गरी एसईईको विशेष तयारी गरिरहेको छ ।

उनका अनुसार परीक्षामा सफा अक्षरको प्रस्तुतिको महत्वपूर्ण भुमिका रहने भएकाले विद्यालयले विशेष ह्याण्डराइटिङ्मा विद्यार्थीलाई केन्द्रित गर्ने गरेको छ । त्यस्तै पूर्ण रूपमा लेक्चर माध्यममात्र नभएर प्रयोगात्मक रूपमा, मल्टिमिडियाको प्रयोग गरी भिडियो देखाएर सिकाउने गरेको उनले बताए ।

काठमाडौंको चावहिलस्थित काठमाडौं युनिफाइड सिटी सेकेण्डरी स्कुलले पनि एसईईको तयारीका लािग विद्यार्थीलाई होस्टेल राखेर बिहान र बेलुका अतिरिक्ति कक्षा लिइरहेको छ । २ वटा त्रैमासिक परीक्षा, ३ वटा युनिट टेस्ट, स्कुल स्कुलबीच २ पटक बुस्टअप परीक्षा भइसकेको छ भने कोचिङ कक्षामा पनि समय समयमा परीक्षा हुने स्कुलले जानकारी दिएको छ ।

विद्यालयले विद्यार्थीको क्षमता अनुसार उनीहरूलाई अभ्यास गराउँछ । विद्यार्थीलाई पढ्ने र कमजोरलाई छुट्टाछुट्टै कक्षामा राख्दा कमजोर विद्यार्थीलाई हत्तोसाहित हुने भएकाले उनीहरूलाई छुट्याएर राख्नभन्दा सँगै राखेर थोरै जान्नेलाई धेरै जान्नेले सिकाउने गरिएको विद्यालयले जनाएको छ ।

यो वर्ष अरु वर्षको भन्दा छिटै एसईई परीक्षाको मिति तोकिसकिएको छ । परीक्षा नियन्त्रण कार्यालयले चैत्र १० गतेबाट सुरु गर्ने निर्णयसँगै एसइईको लागि विभिन्न स्कुलहरूले आफ्नो तवरबाट तयारी सुरु गरेका छन् । विद्यार्थीको मनोबल बढाउन विद्यालयहरूले अप्ठ्यारो विषयमा सहयोगी विशेष कोचिङ कक्षा चलाउँदै आएका छन् ।

विद्यालयहरुले परीक्षाको मुखमा मात्र नभएर, एसईईलाई मात्र राम्रो र उत्कृष्ट बनाउनेमा ध्यान नदिई समग्र परीक्षाका लागि र जीवनका लागि शैक्षिक सत्रको सुरुवातसँगै परीक्षा तयारी पनि सुरु गरिनुपर्छ ।

:888 Views

Leave a Reply