जेठो विद्यालयको ६५ वर्षपछि स्वर्णजयन्ती

काठमाडौं । विक्रम सम्वत २०११ सालमा स्थापना भएको विद्यालयले विद्यालय स्थापनाको ६५ वर्षमा स्वर्ण महोत्सव गर्ने भएको छ ।

जिल्लाकै जेठो विद्यालय भनेर चिनिएको चितवनको साझापुर माध्यमिक विद्यालयले आफ्नोे स्थापनाको अवसरमा स्वर्ण महोत्सव नै गर्ने तयारी गरिरहेको विद्यालयका प्रधानाध्यापक तेजेन्द्र भुसालले बताए ।

उनले विद्यालय स्थापना भएको वर्षका हिसाबले विक्रम सम्वत २०६१ मै स्वर्ण जयन्ती मनाउनु पर्ने भए पनि प्राविधिक कारण रोकिएको बताउँदै आगामी मंसिर ५ गतेदेखि १३ गतेसम्म विभिन्न कार्यक्रमका साथ महोत्सव गर्न लागिएको जानकारी दिए ।

भरतपुर नगरपालिका वडा नं. २८ को थारु बस्तीमा रहेको सो विद्यालयले स्वर्ण महोत्सवकै अवसरमा विद्यालयमा स्वर्ण गेट र स्वर्ण मञ्च बनाइसकेको छ । साथै विद्यालयका संस्थापक चिधारी महतोको अर्धकदको सालिक पनि बनाइसकेको छ ।

मंसिर ५ गते औपचारिक रुपमा उद्घाटन हुने उक्त सालिकको कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनावरण गर्ने कार्यक्रम रहेको विद्यालयले जनाएको छ । सरकारले यही शैक्षिक वर्षमा सञ्चालन गरेको विद्यार्थी भर्ना अभियानमा नेकपा अध्यक्ष प्रचण्डले सो क्षेत्रका दुई विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका थिए ।

महोत्सवका अवसरमा सञ्चालक समितिका सदस्य, संस्थापक विद्यार्थी, ९ जना पूर्व प्रअ, पूर्व विव्यस अध्यक्ष, शिक्षक अभिभावक संघका पदाधिकारी र एसएसलीमा उत्कृष्ट भएका विद्यार्थीलाई सम्मान पनि गरिने प्रअ भुसालले बताए ।

उनले महोत्सवले समुदाय र विद्यालयबीचको सम्बन्ध अझ गाढा बनाउने बताउँदै विद्यालयको स्थापनाको उपलक्ष्यमा स्वास्थ्य शिविर, रक्तदान, स्रोतकेन्द्रस्तरीय विद्यार्थि भलिबल, लोकनृत्य, हाजिरीजवाफ, क्लबस्तरीय भलिबल लगायतका कार्यक्रम हुने जानकारी दिँदै कार्यक्रम ९ दिनसम्म हुने बताए ।

हाल विद्यालयमा ५ सय १६ जना विद्यार्थी र २५ शिक्षक रहेको सो विद्यालयको उक्त कार्यक्रमका लागि विभिन्न समिति र उपसमिति गठन गरिएका छन् । समितिमध्ये सांस्कृतिक उपसमितिका संयोजक एवं प्रचारप्रसार समितिका सचिव ज्योतिनारायण ढकालले महोत्सवकै अवसरमा सप्ताहव्यापी सांस्कृतिक कार्यक्रम पनि हुने बताए । उनले सो सांस्कृतिक कार्यक्रममा राष्ट्रियस्तरका गायक र कलाकारहरुको उपस्थिति हुने नुवागीलाई जानकारी दिए ।

स्वर्ण महोत्सवमा सबै कार्यक्रमका लागि रु. २० लाख खर्च हुने अनुमान विद्यालयको छ । महोत्सवकै अवसरमा विद्यालयको शैक्षिक र भौतिक विकासका लागि रु. १ करोड संकलन गर्ने लक्ष्य राखिएको छ ।

:526 Views

Leave a Reply