दशैंमा उडेको चङ्गाले दियो पढ्ने प्रेरणा

म ५ कक्षामा पढ्दाको कुरो । घरको जेठो छोरो । बुबा आमा खेती किसानी गर्थे । दशैंको समय थियो । स्कूलमा बिदा शुरु भइसकेको थियो । दुई चार पैसा हात पार्न पाए पो जस्तो लागिरहेको थियो । बिदा शुरु हुने बित्तिकै मामाघर गएँ । त्यतिबेला बच्चाहरूले सबैभन्दा प्यारो ठान्ने, मामाघर हुँदो रहेछ । म पनि बिदा शुरु भएपछि मामाघर पुगेँ । मामाघर गएर बाजेसँग पैसा कसरी कमाउने भनी सोधेँ । बाजेले हाँस्दै किन भनी सोध्नुभयो । मैले दशैंका लागि जुत्ता र लुगा किन्न पैसा कमाउनु पर्यो भनेँ । मैले बाजेसँग पछि फिर्ता दिने गरी ५ रुपियाँ मागेँ । हजूरआमासँग एउटा नाङ्लो मागेँ ।

सानो मामासँग सुकुलढोकादेखि त्रिपुरासुन्दरी जाने उकालोमा अमिलो बनाउने ठाउँमा पुगेँ । रु. ५ लगानी गरी २५ वटा अमिलोको प्याकेट किनेर ल्याई नाङ्लोमा राखी घुमाई घुमाई बेच्न थालेँ । म अलि रमाइलो, ठट्यौँली पाराले कुरा गरिरहने भएकोले होला, मेरो अमिलो छिट्टै सकिन्थ्यो । फेरि कुदेर गई ल्याईहाल्थेँ । उक्त दिन मात्र मैले एक सुक्का जाने अमिलो करिब १५०–२०० प्याकेट बेचेँ । वडो रमाइलो लाग्यो ।

बेलुका आमालाई आजको मेरो व्यापारको कथा, आम्दानी र नाफाको बारे समाचार सुनाउन हतार गरेँ । आमा खुसी हुनुभयो । बाजे नि खुसी हुनु भयो । भोलिपल्ट अमिलो, गोलो पापड र अरु खाले पिरो, अमिलो र गोलो अमिलोसमेत राखेर व्यापार बढाउन थालेँ । बजार, चोक, गल्ली गल्लीमा र इट्टा भट्टामा धाउन थालेँ । ३ दिनपछि मसँग भएको पैसाले नाङ्लोमा राख्ने सामान बढाएँ । पछि आएर भाइलाई पनि साथ लिएर चारवटा नाङ्लो भरी टन्न सामान राखेर बीचमा चकटी राखी बसी बसी आफ्नै टोलमा बेच्न थालेँ । सबै साथीहरू गुच्चा खेल्थे, तास खेल्थे, रबर खेल्थे, कोकाकोलाको बिर्को खेल्थे तर म भने पसलमा व्यापार गर्थेँ, कमाउँथे ।

मसँग दशैं बिदा भरी २ सय ५० भन्दा बढी हात पर्यो । खुवा बरफ, पानी बरफ, अमिलो, पुष्टकारी आदिको व्यापार गरेको अझै पनि झलझल याद छ । विस्तारै अरु साथीहरूका आमा बुबाहरूले मेरो प्रसंशा गर्न थाले । साथीहरू चङ्गा उडाउने र माछा मार्न जाने गर्थे । तर, म पसल कुरेर बस्थेँ र व्यापार गर्थें ।

फुलपातीको दिन थियो । मलाई पनि साथीहरू खेलेको देखेर र चङ्गा उडाउन गएको देखेर चङ्गा उडाउन र चेट गएको चङ्गा समात्ने खुब रहर लाग्यो । आमा दशैंको लागि लिपपोत गर्ने, सफा गर्ने अनि कपडा धुने काममा व्यस्त हुनुहुन्थ्यो । त्यही मौका पारेर भाइलाई फकाएर पसलमा राखी साथीहरूसँग म चङ्गा समात्न कुदेँ । नजिकै एउटा खुला ठाउँ थियो । म पनि चेट गएको चङ्गाकै पछि दौडन थालेँ । सम्पूर्ण ध्यान, तन, मन चङ्गालाई दिँदै दौडदैँ थिएँ । चङ्गा समात्न उफ्रेर अगाडि बढेको मात्र के थिएँ, म त अचानक झ्वाम्लाङ्गै पर्खालबाट खसेँ र झाडीमा परेँ । त्यतिबेलासम्म चङ्गा मेरो नजिकै र हातमा धागो चाँहि परिसक्या थियो । दायाँ खुट्टाको घुँडामा धारिलो चीजले काटिसकेको रहेछ । रगत बगिरहेको थियो । दुखाईले गर्दा चङ्गा र धागोलाई त्यही फालेर रुँदै घरमा आमाकोमा पुगेँ । आमाले पिट्नुहोला भनी बहाना बनाउँदै नाङ्लो पसलमा बसिरहेको बेला दमकल आएर भाग्दा लडेको भनी झुटो बोलेँ । अस्पतालमा पुर्याइएँ । ड्रेसिङ्ग गरी टाका लगाइयो ।

तीन वर्षपछि त्यही टाका लगाएको ठाउँ सुनिन थाल्यो । हिँड्न सकिँन । खोच्याई खोच्याई हिँड्न थालेँ । अन्तमा अप्रेशन गरेँ । वैशाखी टेकेर ६ महिना हिँडे । किसानको छोरो म, यही अप्रेसनका कारणले खुट्टा कमजोर भएकोले किसानी गर्न सक्दिन, भारी बोक्न सक्दिन भन्ने लाग्यो । त्यसैले मैले पढ्नु पर्छ भन्ने निणर्य गरेँ र पढाइबाहेक अरु विकल्प छैन भनी निधो गरी राम्रोसँग पढ्ने प्रण गरेँ । यो घटनापछि हरेक दशैंमा चङ्गा देखेपछि त्यो घटना झलझल याद आउँछ ।

राजेन्द्र कोजू, प्रिन्सिपल, रोम्बस नेशनल स्कुल, भक्तपुर

:661 Views

Leave a Reply