दारीले चिनिएका सर !

– हरिसुन्दर छुकां/ गालाभरी झ्याप्प कालो दारी । त्यही दारीले गुल्मीको रुरु गाउँपालिकाका केशवप्रसाद ज्ञवालीलाई चिन्नेहरु धेरै छन् । त्यसरी चिन्नेहरुमा अरुभन्दा बढी त उनै ‘दारीवाल’ ज्ञवालीले पढाएका विद्यार्थी छन्, त्यसपछि उनका सहपाठी र त्यसपछि आफन्त, नातेदार, इष्टमित्र ।

‘मलाई यही दारीले यो क्षेत्रमा चिनाएको छ ।’ झुस्सझुस्स दारी आउने उमेर वयदेखि शिक्षण क्षेत्रमा प्रवेश गरेर ३२ वर्षको शिक्षण अनुभव गरिरहेका, दारी फूल्ने उमेर नजिक पुगेका ५३ वर्षे ज्ञवालीलाई दारी नखौरिँदा आफू ख्याउटे देखिने चिन्ता पनि छ । त्योभन्दा बढी चिन्ता अझ कसरी राम्रो पढाउन सक्छु भन्ने ध्यान छ । यसैले हप्तामा दुईपटक बनाउनु पर्ने दारी बनाउन उनलाई झ्याउ लाग्छ । बरु त्यो समय उनी अध्ययन गर्छन्, विद्यार्थीसँग नजिक हुने उपायको खोजीमा लाग्छन् ।

त्यही मिहिनेत र अध्ययनको कारण कक्षामा पस्ने बित्तिक्कै विद्यार्थी उनीप्रति हुरुक्कै हुन्छन् । उनको दारीदेखि विद्यार्थी कत्ति पनि डराउँदैनन् । किनकि उनलाई थाहा छ, शिक्षक भूत बन्नुहुन्न । ‘मैले हरेक वखत के चाहेको छु भने, कक्षामा शिक्षक छिर्दा विद्यार्थीले भूत आएको अनुभव नगरोस् ।’

त्यही चाहना, भावना र इच्छालाई उनी व्यवहारमा उतार्न हरदम लागिरहन्छन्, अनि कक्षामा छिर्नुअघि आफूले के विषय पढाउने हो, कसरी पढाउने हो ? कुन तवर, तरिकाले पढाउँदा विद्यार्थीले बढी बुझ्छन् ? भन्ने प्रश्नको खोजीमा दिमाग खियाउँछन्, सहपाठीहरुसँग भलाकुसारी गर्छन् ।

केशवप्रसाद ज्ञवाली शिक्षक शिक्षा सदन मावि, बनेपा

‘स्थायी भएपछि शिक्षक अझ अल्छी भए, शिक्षा क्षेत्र बिग्रियो भन्ने आरोप पनि नलागेको हैन, तर जसले जागिरमात्र सम्झे, आफ्नो जिम्मेवारी बोध गरेनन्, तिनीहरुकै कारण पनि बद्नाम भएको छ । सबैकुरा सरकारको मात्र मुख ताकेर हुन्न । शिक्षामा परिवर्तनका लागि अभिभावक र शिक्षक अघि बढ्नैपर्छ । तिनीहरु अघि बढेनन् भने बच्चाहरु कसरी एकपटक अघि बढ्न सक्छन् त ? बढ्न सक्तैन नि ।’

कक्षामा जाने, विद्यार्थीलाई सञ्चो विसञ्चोको विषयमा सोधपुछ गर्ने, विद्यार्थीसँग छलफल गर्ने, अन्तरक्रिया गर्ने उनको दैनिकीको नछुट्ने पाटो हो उनको । ‘आमाबुवालाई देखेर अहिलेको बच्चा जसरी झुम्मिन्छन् नि, शिक्षकलाई देखेर बच्चाहरु पनि झुम्मिनुपर्छ । त्यो वातवरण शिक्षकले बनाउनुपर्छ । त्यो खालको अपनत्व नभइकन शिक्षक शिक्षक हुन सक्तैन ।’ उनी भन्छन् ।

विद्यार्थीले कक्षा कार्य, गृहकार्य गरेजस्तै आफ्नो नोटकपिमा ‘लेशन प्लान’ नबनाउने ज्ञवाली सरले कक्षा ७ देखि १० सम्म नेपाली विषय पढाउँदा विद्यार्थी मन्त्रमुग्ध हुन्छन् । पढाउने विषय र पाठ हेरेरमात्र कक्षामा छिर्ने स्वभावका उनी कक्षामा जाँदा विद्यार्थीहरु निर्धक्क रुपमा आफ्नो कुरा राख्छन् । ‘अहिलेसम्म पनि हाम्रो मान्यता के छ भने जोसित शिक्षक डराउँछ, त्यो शिक्षक कक्षामा छिर्यो भने शान्त हुने, विद्यार्थी डराउने, डराएन भने कक्षामा हल्ला बढी हुने भन्ने छ । म कक्षामा पस्दा चाहिँ हल्ला पनि हुन्छ, शान्त पनि हुन्छ ।’

कक्षामा विद्यार्थीले हल्ला गरे पनि, विद्यार्थी शान्त भए पनि विद्यार्थीलाई बुझ्ने गरी पढाउन पाउँदा, सिकाउन पाउँदा उनलाई बढी आनन्द आउँछ । त्यो आनन्द अरु पेशामा नभएर शिक्षण पेशामै भएको उनको आत्मस्वीकृति छ ।

‘म बढी स्थायी भएपछि यतैतिर अल्झिएँ । यतै भएपछि मैले यतैतिर काम गर्छु भन्ने हिसाबले काम गरिरहेको छु । म अहिले मावि प्रथम श्रेणीमा छु । त्यो हिसाबले पूर्ण सन्तुष्ट नभएपछि मलाई अफशोस छैन । मैले शिक्षण पेशा अँगाले भन्नेमा मलाई अपशोस छैन । किनिक मैले जे पाएँ, यसबाटै पाएँ ।’ गर्वका साथ ज्ञवाली भन्छन् ।

कक्षामा गएपछि जस्तो सुकै व्यक्तिगत तनाब, विभिन्न झिनामसिना विषय पाखा लाग्ने र विभिन्न चुनौति आए पनि ‘कोशिस गर्न छाड्नुहुन्न’ भन्ने वाक्यले उनलाई भित्रभित्र प्रेरणा दिइरहन्छ र उनी कोसिस गरिरहन्छन् । त्यो उर्जालाई अझ मबजुत बनाउने काम आपःूले लिएको जिम्मेवारीले भन्ने उनको ठहर छ । उनी भन्छन्, ‘हामी जब जिम्मा लिएर बसेका छौं, हाम्रो काम हो, हामीले नगरे कसले गर्छ त ? भन्ने विचार ममा छ । त्यो विचार मरेको छैन ।’

रोजगारीको सिलसिला । जागिरकै आवश्यकता कारण शिक्षण क्षेत्रमा प्रवेश गरेका उनले शिक्षण पेशालाई जागिर ठान्ने शिक्षकको जमात्ले जस्तै औपचारिकता मात्र निभाइरहेका छैनन । बागवानीमा काम गर्ने कि शिक्षक बन्ने भन्ने दुईटा विकल्प आएको बेलामा ‘शिक्षकै’ स्वीकारेर लागेका उनले एकपटक विद्यालय निरीक्षक पदमा पनि आवेदन नदिएका होइनन् तर, शिक्षक हुनुको मज्जा त्यसमा नुहने देखेर विनि नबनेका ज्ञवाली, अहिले बनेपाको शिक्षा सदन माविमा मावि शिक्षक छन् ।

‘स्थायी भएपछि शिक्षक अझ अल्छी भए, शिक्षा क्षेत्र बिग्रियो भन्ने आरोप पनि नलागेको हैन, तर जसले जागिरमात्र सम्झे, आफ्नो जिम्मेवारी बोध गरेनन्, तिनीहरुकै कारण पनि बद्नाम भएको छ । सबैकुरा सरकारको मात्र मुख ताकेर हुन्न । शिक्षामा परिवर्तनका लागि अभिभावक र शिक्षक अघि बढ्नैपर्छ । तिनीहरु अघि बढेनन् भने बच्चाहरु कसरी एकपटक अघि बढ्न सक्छन् त ? बढ्न सक्तैन नि ।’ उनको निष्कर्षले यही भन्छ ।

वि.सं. २०४३ सालमा काभ्रेको डेडीथुम्का माविमा निमावि शिक्षक भएर शिक्षण सेवामा प्रवेश गरेका ज्ञवालीले ६ महिना काम गरे । त्यसपछि मावि शिक्षक भए । २०४४ माघबाट मावि अस्थायी भएका उनी २०४८ मा स्थायी भए । डेडी थुम्कामा ९ वर्ष (२०४३ देखि २०५२ सम्म) पढाएका उनको शिक्षा सदनमा आउनुमा पनि संयोग छ । ‘त्यहाँ पनि राम्रो थियो । शिक्षा सदनामा मेरो भाइ रामप्रसाद ज्ञवाली, साहित्यकार(मेरो आफ्नै सहोदर भाइ) ले म अब काठमाडौं लाग्नुपर्छ, म यहाँ बसेँ भने मैले खोजेजस्तो प्रगति हुन्न, मेरो सोच पूरा हुन्न भन्ने सोचले उनी बिदामा बसे । त्यही बिदामा म यहाँ काजमा आएँ । त्यसपछि अब म छोड्छु, तपाइँ यतै स्थापित हुनुपर्यो भन्ने भयो । यहाँ पनि मैले काम गर्दैै जाँदा सबै कुुरा मिल्यो ।’ संयोग सुनाए उनले ।

नेपाली विषय पढाइरहेका उनी पढाउनु र सिकाउनुलाई फरक देखेका छैनन् । ‘शब्दमा फरक होला, हाम्रो मनमा फरक छैन ।’ हाकाहाकी भन्ने उनी शिक्षा, शिक्षकप्रति बढेको गुनालो, लागेको लाञ्छनामा शिक्षक नै जिम्मेवार भएकोले त्यसमा सुधार जरुरी देख्छन् । ‘समाजले अहिले हामीलाई सबैभन्दा कमसल मान्छेको रुपमा हेर्छ । त्यसरी हेरेको कारण हामी आफैं हौं जस्तो लाग्छ । हामी असल छौं, हामी राम्रो छौं भन्ने कुरा हामी आफैंले देखाउने हो । त्यसमा हामीले जति गर्न सक्थ्र्यौं, जति गर्नुपर्ने हो, त्यो गर्न सकिएन कि ? भन्ने लाग्छ ।’ उनी थप्छन् ।

समाजमा शिक्षकको दायित्व अरुको भन्दा बेसी नै रहेको उनको अर्को स्वकारोक्तिका बाबजुद् पनि अहिलेका विद्यार्थीमा शिक्षकप्रतिको दृष्टिकोणमा आएको परिवर्तनले कहिलेकाहिँ मुटुमा च्वास्सच्वास्स घोच्ने गरेको छ ।

शिक्षक र विद्यार्थी दुबैको पनि आफ्नै लक्षण हुने बताउँदै अहिलेका विद्यार्थीबारेमा बुझाइ उनी यसरी अभिव्यक्त गर्छन् । ‘अहिले विद्यार्थीहरु कक्षामा आउँदैमा विद्यार्थी भइदियो । स्कुल आयो, विद्यार्थी भयो, युनिफर्म लायो, विद्यार्थी भयो । विद्यार्थी भएर आउँदा ऊ त एक पात्रका रुपमा आउँछ । माटोको डल्लो भएर त आउँदैन । त्यो पात्र विद्यार्थीले बिर्सँदै गएका छन् । म यहाँ पढ्न आएको हुँ भन्ने चेतना विद्यार्थीमा हुनुपर्यो । अथवा हामी, शिक्षक र अभिभावकले दिनुपर्यो ।’

आफूले राम्रो गरेको विषय स्वतः पुरस्कार हुने उनको धारणा छ । पुरस्कारको लागि नभएर उनी समाजको लागि, भोलिको सुन्दर भविष्यको लागि विद्यार्थीलाई तयार गरिरहेको उनको ठम्याइ छ । श्रेणीका हिसाबले उच्च श्रेणीको यात्रा तय गरिसकेका शिक्षक ज्ञवालीको विषयको सिकाइ उपलब्धि गतिलै छ । भाषामाथि विभिन्न किसिमले आक्रमण भइरहँदा पनि ‘नेपाली विषय भाषामात्र होइन, सीप पनि हो’ भन्ने पाठ अठोटका साथ नआत्तिइ, नहड्बडाइ पढाउनु, त्यसप्रति विद्यार्थीको चाख बढाउन सक्ने क्षमताका उनी पैसाका लागि पढ्ने स्वभाव, प्रवृत्तिका विद्यार्थी देख्दा दुःख लाग्छ । ‘यस निम्ति पाठ्यक्रममै पनि सुधार आवश्यक छ ।’

:1567 Views

2 thoughts on "दारीले चिनिएका सर !"

  1. रमेश प्रसाद भट्ट says:

    यो लेख पढ्दा सार्‍है खुसी लाग्यो।
    आफू पनि शिक्षक भएकाले;जिम्मेवारी पूरा गरे हरेक कुरामा सफलता मिल्ने प्रेरणा प्राप्त भयो।

  2. Manoj shrestha says:

    I salute him to Darhiwala Gyanwali Nepali Guru.
    Wow! What a great experience and knowledge sharing to people!
    I love him.
    I respect him.
    We should learn from him .

Leave a Reply